३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

दक्षिण अफ्रिकालाई सबै खेल जित्ने चुनौती

एएफपी

कार्डिफ — फाफ डु प्लेसिसले विश्वकपको सेमिफाइनलमा स्थान बनाउने हो भने प्रतियोगिताका सबै बाँकी खेल जित्नुपर्ने बताएका छन् । दक्षिण अफ्रिकाले शनिबार आफ्नो पहिलो जितका लागि अफगानिस्तानलाई नौ विकेटले हराएको थियो ।

दक्षिण अफ्रिकालाई सबै खेल जित्ने चुनौती

प्रोटियसले प्रतियोगितामा खराब सुरुआत गर्दै सुरुआती तीन खेल गुमाएको थियो । वेस्ट इन्डिजविरुद्धको चौथो खेल पनि वर्षाले रद्द भएको थियो । पाँचौं खेलमा भने दक्षिण अफ्रिका जितका लागि पूर्ण हकदार देखियो ।


‘म्यान अफ द म्याच’ इमरान ताहिरले चार विकेट लिएपछि दक्षिण अफ्रिकाले सुरुमा अफगानिस्तानलाई १ सय २५ रनमा रोकेको थियो । त्यसयता एक विकेट मात्र गुमाएर टिम सजिलै जितसम्म पुग्यो । खेल भने वर्षाले प्रभावित भएपछि ४८ वर्षमा छोट्याएको थियो, तर दक्षिण अफ्रिका जितसम्म पुग्दा २८.४ ओभर मात्र उपयोग भयो । यो जितपछि दक्षिण अफ्रिकी खेलाडीको आत्मविश्वास बढने पनि कप्तान प्लेसिसले दाबी गरे ।


‘यो जितपछि हाम्रो स्थिति केही सुध्रिएको छ । अब सबैलाई के पनि थाहा छ भने प्रतियोगितामा कायम रहने हो भने हामीले आफ्ना बाँकी सबै खेल जित्नुपर्छ । हाम्रो अबको चुनौती के हो प्रस्ट छ । उनले भने, ‘अबदेखि हामीले जति खेल बाँकी छन्, सबै जित्नुपर्छ । आजको जितपछि हामी सही दिशातर्फ अग्रसर भयौं ।’ इंग्ल्यान्ड, बंगलादेश र भारतविरुद्धका सुरुआती तीनै खेलमा दक्षिण अफ्रिका पराजित भएको थियो । अफगानिस्तानलाई हराएयता १० टिम सम्मिलित प्रतियोगिताको अंकतालिकामा दक्षिण अफ्रिका सातौं स्थानमा उक्लेको छ ।


लिगका बाँकी खेलमा दक्षिण अफ्रिकाले अझै अस्ट्रेलिया र न्युजिल्यान्डको सामना गर्न बाँकी रहेको हुँदा उसको यात्रा भने सजिलो हुने छैन । अफगानिस्तान स्वयं भने खेलका सबै चार खेल गुमाएर अन्तिम स्थानमा छ र उसले दक्षिण अफ्रिकाविरुद्ध कुनै प्रकारको चुनौती पेस गर्न सकेन । दक्षिण अफ्रिकालाई जितसम्म पुर्‍याउन हसिम अमलाले ४१ रन बनाएर नटआउट रहे । यस्तै क्विन्टेन डी ककले ६८ रन बनाए । उनीहरूले पहिलो विकेटमा १ सय ४ रनको साझेदारी गरे ।

प्रकाशित : असार २, २०७६ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?