रोयले २ खेल गुमाउने

एएफपी

म्यान्चेस्टर — इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्डले आफ्ना ओपनिङ ब्याट्सम्यान जेसन रोय बायाँ ह्याम्स्ट्रिङको चोटका कारण विश्वकपका आगामी २ खेल खेल्न नसक्ने जानकारी दिएको छ । शुक्रबार वेस्ट इन्डिजविरुद्धको खेलमा फिल्डिङका क्रममा घाइते भएका रोयले मंगलबार ओल्ट ट्राफोटमा हुने अफगानिस्तानविरुद्धको खेल र शुक्रबार हिडिङलेमा हुने श्रीलंकाविरुद्धको खेल गुमाउनेछन् ।

रोयले २ खेल गुमाउने

वेस्ट इन्डिजविरुद्धकै खेलका क्रममा ढाडको दुखाइका कारण ब्याटिङ गर्न असमर्थ भएका थिए । प्रतियोगिताकै कमजोर अफगानिस्तानविरुद्धको खेलमा उनले खेल्ने सम्भावना छ । तर निर्णय खेलअघि गरिने टिमले जनाएको छ । ‘रोयको चोटबारे शनिबार एमआरआई गरिएको थियो र त्यसअनुसार उनले विश्वकपमा आगामी २ खेल गुमाउनेछन्,’ टिमका प्रवक्ताले भने ।


सोमबार ओल्ड ट्राफोटमा इन्डोर नेट सेसनपछि प्रिम्याच कन्फेरेन्समा उपस्थित भएका मोर्गनले अफगानिस्तानविरुद्धको खेल खेल्ने आशय व्यक्त गरे । ‘ढाडको दुखाइ क्रमशः कम हुँदै गइरहेको छ,’ मध्यक्रमका ब्याट्सम्यानले भने, ‘मैले नेटमा शटहरू खेलिरहेको छु र भोलि (मंगलबार) अफगानिस्तानसँग खेल्ने योजनामा छु । यदि आज (सोमबार) खेल थियो भने म निश्चित रूपमा खेल्न सक्थेँ, भोलिका लागि मेरो दुखाइमा भर पर्छ ।’


यसै वर्षको सुरुआतमा वेस्ट इन्डिजविरुद्धको शृंखलाका क्रममा पनि रोयले ह्याम्स्ट्रिङको चोट ब्यहोरेका थिए । जारी विश्वकपको पहिलो खेलमा दक्षिण अफ्रिकाविरुद्ध अर्धशतक प्रहार गरेका रोयले बंगलादेशविरुद्धको जितमा १ सय ५३ रनको सानदर इनिङ्स खेलेका थिए । पाकिस्तानसँगको अप्रत्यारिलो हारका क्रममा भने उनले ८ रनमात्र जोड्न सके ।


रोयको अनुपस्थितिमा टेस्ट कप्तान जोय रुटलाई जोनी बेरिस्टोसँगै वेस्ट इन्डिजबिरुद्ध ओपनिङको जिम्मा दिइएको थियो । उनले अविजित शतकका साथ आफ्नो जिम्मेवारी पूरा गरेका थिए । तर मोर्गनका अनुसार रोयको स्थानमा १५ सदस्यीय टिमका वैकल्पिक खेलाडी जेम्स भिन्सले इंग्ल्यान्डको ओपनिङ गर्नेछन् ।


पहिलोपल्ट विश्वकप उपाधि जित्ने लक्ष्यमा रहेको इंग्ल्यान्डका लागि उच्च लयमा रहेको रोयको अनुपस्थिति नोक्सानीको कारक बन्न सक्छ । मोर्गनले भनेका छन्, ‘मलाई विश्वास छ कि जेसनले फेरि यस प्रतियोगिता खेल्नेछन्, उनी २ खेल बाहिर छन्, त्यसैले अब हेर्नुछ कि उनको पुनरागमन कस्तो हुनेछ । निश्चित रूपमा उनी हाम्रो अहिलेसम्मको सफलतामा मुख्य हकदार हुन् । उनी करिअरकै उच्च लयमा छन् र हाम्रा लागि महत्त्वपूर्ण कुरा पनि यही हो ।’

प्रकाशित : असार ३, २०७६ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?