२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

बंगलादेशको स्मरणीय जित

एएफपी

टाउनटन — शकिब अल हसनको सानदार शतकपछि बंगलादेशले विश्वकप क्रिकेटमा सोमबार वेस्ट इन्डिजमाथी ७ विकेटका स्मरणीय जित हात पारेको छ । बंगलादेशले विश्वकपमा दोस्रो ठुलो विजय लक्ष्य स्कोर पछ्याउदै सेमिफाइनल यात्राको सम्भावनालाई कायमै राखेको छ । 

बंगलादेशको स्मरणीय जित

शकिबले ९९ बलमा अविजित १ सय २४ र लिन्टोन दासले ६९ बलमा अविजित ९४ रन बनाएपछि बंगलादेशले ३ सय २२ रनको लक्ष्य ८.३ ओभर अगाडि नै पुरा गरेको हो । बंगलादेशले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो सर्वाधिक विजय लक्ष्यको कीर्तिमानलाई बराबरी गरेको हो ।


सन् २०११ मा आयरल्यान्डले इंग्ल्यान्डमाथी ३ सय २९ रन बनाउदै जितेको खेल विश्वकपमा विजय लक्ष्यमा बनाएको सबैभन्दा बढी रन हो । त्यसयता बंगलादेशले विजय लक्ष्यमा ठूलो स्कोर बनाएको हो । मासरफी मोर्ताजाको टोली यस विजयपछि सेमिफाइनल पुग्ने सम्भावनालाई कायमै राखेको छ ।


बंगलादेश ५ अंकसहित पाँचौ स्थानमा उक्लिएको छ । सहभागि १० टोली आपसमा राउन्ड रोबिनमा खेलेपछि शीर्ष चार टोली सेमिफाइनलमा पुग्ने छन् । अस्ट्रेलिया (८), न्युजिल्यान्ड (७), भारत (७) र आयोजक इंग्ल्यान्ड (६) अंकसहित पहिलो चार स्थानमा छन् ।


वेस्ट इन्डिजका लागि दिन नै राम्रो रहेन । फिल्डिङमा फितलो रहेको वेस्ट इन्डिजका बलरले बलिङ पनि निकै खुकुलो गरेका थिए । ५ खेलमा तेस्रो पराजय बेहोरेपछि वेस्ट इन्डिजको सेमिफाइनल सम्भावना निकै कमजोर बनेको छ । वेस्ट इन्डिज ३ अंकसहित सातौं स्थानमा छ ।


बंगलादेशले दक्षिण अफ्रिकासँगको खेल जित्दा पनि ३ सय ३० रन बनाएको थियो । ओपनर तामिम इकबालले ५३ बलमा ४८ रन बनाए । तामिम र सोउम्य सरकारले ९ ओभर भित्र ५० रन जोडेका थिए । सरकारले २३ बलमा २९ रन बनाए । मुसफिकर रहिम १ रनमै आउट भए । शकिब र दासले चौथो विकेटमा १ सय ८९ रनको अविजित साझेदारी गरेपछि बंगलादेशले एकतर्फी जस्तै खेल आफ्नो पक्षमा पार्‍यो ।


शकिबको यो लगातार दोस्रो शतक हो । उनले इंग्ल्यान्डसँग १ सय २१ रन बनाएका थिए । उनी बंगलादेशबाट एकदिवसीयमा ६ हजार रन बनाउने दोस्रो खेलाडी पनि बने । जारी विश्वकपको चार खेलमा दुई शतक र दुई अर्धशतक बनाउदै उनी सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शीर्ष स्थानमा आएका छन् । उनले १६ चौका र दासले ८ चौका र ४ छक्का प्रहार गरे । यसअघि वेस्ट इन्डिजबाट साई होपले ९६, इभिन लुइसले ७० र साइमन हेटमरले २६ बलमा ५० रन बनाएका थिए । बंगलादेशबाट शकिबले दुई विकेट पनि लिएका थिए ।

प्रकाशित : असार ३, २०७६ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?