कीर्तिमानै कीर्तिमान

एएफपी

म्यानचेस्टर — इंग्ल्यान्डका कप्तान इयान मोर्गनले एकदिवसीय अन्तर्राष्ट्रियको एकै इनिङ्समा सर्वाधिक छक्का प्रहार गरेर विश्व कीर्तिमान कायम गरेका छन् । मोर्गनले करिअरकै उत्कृष्ट ब्याटिङ गरेपछि एकदिवसीय विश्वकपमा इंग्ल्यान्डले अफगानिस्तानमाथि ३ सय ९७ रनको विशाल योगफल खडा गरेको हो । 

कीर्तिमानै कीर्तिमान

जवाफमा अफगानिस्तानले २ सय ४७ रनमात्र जोड्न सकेपछि इंग्ल्यान्ड १ सय ५० रनको जितसाथ अंकतालिकाको शीर्षस्थानमा पुगेको छ । ५ खेलबाट ४ जितसहित ८ अंक जोडेको इंग्ल्यान्डले नेट रनरेटमा अस्ट्रेलियालाई पछि पारेको हो । लगातार पाँचौं हारपछि अफगानको भने प्रतियोगिताबाट बाहिरिने सम्भावना प्रवल बनेको छ ।

मोर्गनले १ सय ४८ रन बनाउने क्रममा १७ छक्का प्रहार गरे । इंग्ल्यान्डको इनिङ्समा २५ छक्का प्रहार भयो । त्यो पनि एकै इनिङ्समा सर्वाधिक छक्काको विश्व कीर्तिमान हो । २८ रनको स्कोरमा मोर्गन क्याचआउट हुनबाट जोगिएका थिए । त्यसपछि उनले जो रुटसँग मिलेर तेस्रो विकेटमा १ सय ८९ रनको साझेदारी गरे । रुटले ८८ रनको इनिङ्स खेले । यो साझेदारीमा रुटको योगदान मात्र ४३ रनको थियो ।

अफगानका स्टार लेग स्पिनर रशिद खानले ९ ओभरमा बिनाविकेट १ सय १० रन खर्चेर नचाहेको कीर्तिमान बनाए । एकदिवसीय विश्वकपमा यो सबैभन्दा महँगो स्पेल हो भने एकदिवसीय अन्तर्राष्ट्रियमा दोस्रो महँगो हो ।

मोर्गनले एकदिवसीय इनिङ्समा भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका एबी डी भिलियर्स र वेस्ट इन्डिजका क्रिस गेलले प्रहार गरेको १६ छक्काको कीर्तिमान तोडेका हुन् । अफगानका कप्तान गुलबदिन नैबविरुद्ध कीर्तिमानी छक्का प्रहार गरेपछिको अर्को बलमा मोर्गन आउट भए । ७१ बलको इनिङ्समा उनले ४ चौका पनि प्रहार गरे ।

मोर्गनले टस जितेपछि जोनी बेरिस्टोले ९० रनको इनिङ्ससाथ इंग्ल्यान्डलाई बलियो सुरुआत दिलाए । उनका सुरुआती जोडी जेम्स भिन्स भने अफगानिस्तानका दौलत जादरनको बलमा २६ रन बनाएर शर्ट फाइन लेगमा आउट भए ।

वरीयताभन्दा बाहिर रहेको अफगानिस्तान विश्वकपमा अहिलेसम्म जितविहीन छ । यस खेलमा बलिङसँगै अफगानिस्तानको फिल्डिङ पनि कमजोर देखियो । करिअरको आठौं शतक नजिक पुगेका बेरिस्टोलाई कप्तान नैबले रिटर्न क्याच लिँदै आउट गरे ।

९९ बल खेलेका बेरिस्टो शतक प्रहार गर्न नसकेकोमा निराश देखिन्थे । तर उनले आवश्यक समयमा इंग्ल्यान्डलाई सम्हालेका हुन् । त्यसपछि आएका मोर्गनले नैबकै बलमा लङअनको क्षेत्रमा उत्कृष्ट छक्कासहित इनिङ्स सुरु गरे । यी बायाँहाते ब्याट्सम्यान त्यति बेलै आउट हुनुपर्ने थियो, जति बेला रशिदको बलमा जादरनले डिप मिडविकेटमा क्याचको अवसर पाएका थिए ।

३६ औं ओभरमा २८ रनको स्कोरमा खेलिरहेका मोर्गनको क्याच लिन नसकेका जादरनले चौका पनि बचाउन सकेनन् । यो गल्ती यति महँगो साबित भयो कि मोर्गनले तत्कालै एक विशाल छक्का प्रहार गरे । ३६ औं ओभरमा उनले रशिद खानलाई १८ रन प्रहार गरे ।

मोर्गनले ३६ बलमा अर्धशतक प्रहार गर्ने क्रममा मोहम्मद नाबीको बलमा छक्का प्रहार गरी ८ हजार दर्शक क्षमताको अस्थायी प्यारापिटमा पुर्‍याए । रुट विश्वकपमा लगातार दोस्रो शतक प्रहार गर्नबाट १२ रनले चुके । उनलाई पनि नैबले आउट गरे । नैबले ६८ रन खर्चेर ३ विकेट लिए ।

रुट र मोर्गन आउट भएपछि पनि छक्का प्रहार हुने क्रम रोकिएन । मोइन अलीले टिमको कीर्तिमान बनाए । उनले जादरनको बलमा लङअनमा सानदार छक्का प्रहार गरेका थिए । अलीले ९ बलमा ४ छक्का र १ चौकासहित अविजित ३१ रनको योगदान दिए ।

जवाफमा अफगानिस्तानले पूरै ५० ओभर खेलेर ८ विकेट क्षतिमा २ सय ४८ रनमात्र जोड्न सक्यो । नूर अली जादरन खाता नखोली आउट भए पनि अर्का ओपनर तथा कप्तान गुलबदिन नैबले रहमत साहसँग मिलेर ४८ रनको साझेदारी गरे । नैबले ३७ र साहले ४६ रन बनाएर आउट भएपछि २४.५ ओभरमा अफगानिस्तान १०४–३ को अवस्थामा थियो । तर हसमतुल्लाह साहिदी र अस्घर अफगानले ९४ रनको साझेदारी गरी इनिङ्स उकासेपछि अफगानिस्तानले फराकिलो हार टारेको थियो ।

१०० बल खेलेका साहिदीले ५ चौका र २ छक्कासहित ७६ तथा ४८ बल खेलेर ३३ रन जोडेका अफगानले ३ चौका र २ छक्का प्रहार गरे । इंग्ल्यान्डका जोफ्रा आर्चर र अदिल रशिदले ३–३ विकेट लिए । मार्क उडले २ विकेट झारे ।


प्रकाशित : असार ४, २०७६ ०९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?