२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

भारतसँग हार्दा मनोवैज्ञानिक विचलन

रोयटर्स

लन्डन — पाकिस्तानका कप्तान सरफराज अहमदले विश्वकपको पछिल्लो खेलमा चिरप्रतिद्वन्द्वी भारतसँग बेहोरेको लज्जास्पद हारले टिमको मनोबल कमजोर भएको स्विकारेका छन् । 

भारतसँग हार्दा मनोवैज्ञानिक विचलन

गत साता ८९ रनको जितसाथ भारतले विश्वकपमा पाकिस्तानविरुद्धको अपराजित यात्रा कायम राखेको थियो । तर सरफराजले आफ्ना खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेको दाबी गरे । कप्तानी हैसियतमा आफूले दबाब झेलेको उनको भनाइ छ ।

हारको साथ देशको अपेक्षामा खरो उत्रन नसकेको आरोप लगाउँदै पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले तीन वर्षमा टिमको प्रदर्शनबारे ‘निर्मम समीक्षा’ गर्ने घोषणा गरेको छ । ‘यदि तपाईले भारतविरुद्धको विश्वकप खेल हार्नु हुन्छ भने मनोवैज्ञानिक रूपमा कप्तानमाथि दबाब थोपरिन्छ,’ दक्षिण अफ्रिकाविरुद्ध लर्ड्समा हुने खेलको अघिल्लो दिन सरफराजले पत्रकारसँग भने, ‘तर हामी ठीक छौं, हामीले आफैंलाई सम्हालिरहेका छौं । आइतबार उत्कृष्ट पुनरागमन जितको आस गरेका छौं । दक्षिण अफ्रिकासँगको खेल निकै कठिन हुनेछ तर पछिल्लो खेलपछि २ दिन हामीले सबै खेलाडीलाई आराम दियौं । कडा मिहिनेत गरिरहेका छौं र मनोबल उच्च बनाएर खेल्दै छौं ।’

पाकिस्तान ५ खेलमा १ जितसाथ १० टोलीसम्मिलित विश्वकपको राउन्ड रोबिन लिग चरणमा पुछारबाट दोस्रो स्थानमा छ ।

प्रतिद्वन्द्वी दक्षिण अफ्रिका पनि जारी विश्वकपमा राम्रो खेल्न सकिरहेको छैन । फाफ डु प्लेसिस नेतृत्वको दक्षिण अफ्रिकासँग पनि ३ अंक नै छ । टोली अंकतालिकामा पाकिस्तानभन्दा एक स्थान माथि छ । उसले इंग्ल्यान्ड,

बंगलादेश, भारत र न्युजिल्यान्डसँग हार बेहोरेको थियो भने अफगानिस्तानमाथि जित पाएको थियो । वेस्ट इन्डिजसँगको खेल वर्षाका कारण रद्द भएको थियो ।

शुक्रबार श्रीलंकाले इंग्ल्यान्डमाथि रचेको २० रनको जितबाट पाकिस्तानले प्रेरणा लिनेछ । किनभने त्यस खेलले विश्वकपको सेमिफाइनल सम्भावना अन्य टिमका लागि पनि खोलिदिएको थियो । ‘प्रतियोगिता अझै पनि सबैका लागि खुला छ, हामीलाई पनि अवसर छ । हामी एकपछि अर्को खेलमा केन्द्रित हुनेछौं र दक्षिण अफ्रिकाविरुद्ध जितको आस गर्छौं,’ सरफराजले भने ।

प्रकाशित : असार ८, २०७६ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?