न्युजिल्यान्ड सेमिफाइनलतर्फ 

एएफपी

म्यानचेस्टर — केन विलियम्सले विश्वकपमा कायम राखेको उत्कृष्ट लयले कार्लोस ब्राथवाइटकको सनसनीपूर्ण शतकलाई छोपेपछि न्युजिल्यान्डले शनिबार वेस्ट इन्डिजमाथि ५ रनको रोमाञ्चक जित निकाल्यो ।

न्युजिल्यान्ड सेमिफाइनलतर्फ 

जितका लाग २ सय ९३ रन पछ्याइरहेको वेस्ट इन्डिज एक समय ७ विकेट गुमाएर १ सय ६४ रनको स्थितिमा थियो र हार निश्चित देखिएको थियो । यसअघि ७ रनमा २ विकेट गुमाइसकेको न्युजिल्यान्डका लागि कप्तान विलियमसनले आफ्नो खेल जीवनकै सर्वाधिक १ सय ४८ रन बनाए ।


त्यस प्रदर्शनपछि न्युजिल्यान्ड ८ विकेट गुमाएर २ सय ९१ रनको स्थितिमा पुगेको थियो । ब्राथवेटको शतकले वेस्ट इन्डिज अद्वितीय जितको नजिक पनि पुगेको थियो, तर जितबाट अझै टाढा रह्यो । वेस्ट इन्डिजलाई अन्तिम ७ बलमा ६ रन चाहिएको थियो । त्यस स्थितिमा ब्राथवेटले जिम्मी नसमको बललाई लामो प्रहार गरेका थिए र त्यो विजयी रनमा परिणत हुने देखिएको थियो । तर ट्रेन्ट बोल्टले त्यसमा लङ–अन बाउन्ड्रीतिर निकै आकर्षक क्याच लिए ।


त्यसमा ब्राथवेटले आफ्नो निराशा लुकाउन सकेनन् र घुँडाले मैदानमा टिकेर दुःख मनाए । उनले ८२ बलमा १ सय १ रन जोडे । त्यसमा ५ छक्का र ९ चौका सामेल थियो । उनले अन्तिम विकेटका लागि ४१ रनको साझेदारी गरे र त्यसमा लगभग सबै उनकै रन थियो । जितपछि न्युजिल्यान्ड फेरि अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । यो जितपछि न्युजिल्यान्डको सेमिफाइनल यात्रा तय जस्तै भएको छ ।


अर्कोतर्फ वेस्ट इन्डिज भने हारपछि प्रतियोगिताबाट बाहिरिने स्थितिमा पुगेको छ । ‘वेस्ट इन्डिज निकै डर मान्नुपर्ने प्रतिद्वन्द्वी टिम हो । उसको ब्याटिङ क्रम तलसम्म पनि मजबुत छ । यसका लागि उनीहरूको प्रशंसा गर्नै पर्छ, तर आजको जितका लागि हामीले पनि श्रेय पाउनुपर्छ,’ विलियमसनले भने, ‘आजका खेल क्रिकेटका लागि निकै उच्च दर्जाको रह्यो । यस्तो खेलमा विजयी टिमको पक्षमा रहनु मज्जाको हुने गर्छ । खेलाडीले सिक्ने भनेकै यस्तै खेलबाट हो ।’ वेस्ट इन्डिज कप्तान जेसन होल्डरले भने हारमा आफ्नो टिमको प्रदर्शनलाई लिएर गर्व लागेको बताए ।


उनले भने, ‘जितको यति नजिक पुगेर पनि पराजित हुनुमा खुबै पीडा हुन्छ । तर पूरा खेललाई नियालेर हेर्ने हो भने सायद हामी प्रतिस्पर्धाका केही खास क्षेत्रमा कमजोर रह्यौं । यसै कारणले हामी पराजित रह्यौं ।’ वेस्ट इन्डिजका भेट्रान ब्याट्सम्यान क्रिस गेलले तीनपल्ट जीवनदान पाए र त्यसको फाइदा उठाउँदै ८४ बलमा ८७ रन बनाए । उनको विकेटसँगै वेस्ट इन्डिजको पतन सुरु भएको थियो र टिमले २८ बलमा २२ रन मात्र बनाएर ५ विकेट गुमाएको थियो ।


यसअघि सेल्डन कोट्रेलले न्युजिल्यान्डका दुवै प्रारम्भिक ब्याट्सम्यान मार्टिन गुपटिल र कोलिन मुन्रोलाई शून्यमै आउट पारेपछि टिम ७ रन बनाउँदासम्म २ विकेट गुमाएको स्थितिमा थियो । विलियमसनले यस विश्वकपमा लगातार दोस्रो शतक बनाए । उनले दक्षिण अफ्रिकाविरुद्धको अघिल्लो खेलमा पनि १ सय ६ रन बनाएर अविजित रहेका थिए । त्यस प्रदर्शनको मद्दतले न्युजिल्यान्डले सम्मानजनक स्कोर खडा गर्न सफल रहेको थियो ।

प्रकाशित : असार ९, २०७६ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?