कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

इंग्ल्यान्डले अस्ट्रेलियाको चुनौती झेल्नुपर्ने

एएफपी

लन्डन — इंग्ल्यान्ड माथिल्लो दर्जाका टिमलाई हराउन असफल खेलाडीको समूह हो त ? विश्वकपमा अस्ट्रेलियाविरुद्धको महत्त्वपूर्ण खेलअघि कप्तान इयान मोर्गनलाई सोधिएको अप्ठ्यारो प्रश्न हो यो । लर्ड्समा मंगलबार हुने खेल प्रतियोगिताकै एक निर्णायक खेल हुन सक्नेछ ।

इंग्ल्यान्डले अस्ट्रेलियाको चुनौती झेल्नुपर्ने

इंग्ल्यान्ड यसअघि श्रीलंकासँग पराजित रहेको हुनाले पनि यो खेलले थप चर्चा पाएको हो । हेडिङ्लेमा श्रीलंकाले तेर्स्याएको २ सय ३३ रनको लक्ष्यसामु इंग्ल्यान्ड २ सय १२ रनमै अलआउट भएको थियो ।

सुरुतिरका खेलमा पाकिस्तानको हातबाट पराजित इंग्ल्यान्ड शीर्ष चारमै छ । टोली सेमिफाइनलका लागि बलियो प्रत्याशी हो । पहिलोपल्ट विश्वकप जित्ने अभियानमा रहेको इंग्ल्यान्ड थप हार बेहोर्न सक्ने स्थिति छैन । उसको अस्ट्रेलिया पछिको प्रतिद्वन्द्वी छन् भारत र न्युजिल्यान्ड । यी सबै टिमविरुद्ध सन् १९९२ यता विश्वकपमा इंग्ल्यान्डले जित निकाल्न सकेको छैन । २०१५ को विश्वकपबाट सुरुमै बाहिरिएयता फेरिएको इंग्ल्यान्ड अहिले एकदिवसीय क्रिकेटमा नम्बर एक टिम हो ।

पछिल्लो चार वर्षमा इंग्ल्यान्डले दुईपल्ट विश्व कीर्तिमान स्कोर खडा गरिसकेको छ । एक वर्षअघि मात्र इंग्ल्यान्डले अस्ट्रेलियाविरुद्ध ट्रेन्ट ब्रिजमा ६ विकेट गुमाएर कीर्तिमान ४ सय ८१ रन बनाएको थियो । तर बलरलाई मदत गर्ने पिचमा भने इंग्ल्यान्डले रन बटुल्न संघर्ष गर्ने गर्छ । श्रीलंकाविरुद्धको खेल मोइन अलीको एक सय एकदिवसीय थियो । त्यसमा एक छक्का प्रहार गरेपछि अलीले लगत्तै अर्को त्यस्तै प्रयास गरे र आउट भए ।

उनको विकेटसँग इंग्ल्यान्ड ६ विकेट गुमाएर १ सय ७० रनको खराब स्थितिमा पुगेको थियो । अलकिो त्यस प्रदर्शनबाट इंग्ल्यान्डका पूर्व कप्तान माइकल भोन खुसी छैनन् । उनले लेखेका छन्, ‘अली त्यस दिन खेल जित्न मैदानमा उत्रेका थिए तर एक छक्का प्रहार गरेपछि उनले सस्तोमा विकेट गुमाए ।’ तथ्यांकअनुसार २०१७ मा च्याम्पियन्स ट्रफीको सेमिफाइनलयता इंग्ल्यान्ड बलरलाई मदत गर्ने पिचमा ११ मध्ये ५ खेलमा पराजित रहेको छ ।

ब्याट्सम्यानलाई मदत गर्ने पिचमा भने इंग्ल्यान्ड ९ खेलमा विजयी छ । पछिल्लो दुई खेलमा जेसन रोयको अनुपस्थिति पनि इंग्ल्यान्डका लागि महँगो साबित भएको छ । चोटग्रस्त यी प्रारम्भिक ब्याट्सम्यान रोयले अस्ट्रेलियाविरुद्ध पनि खेल्न सक्ने छैनन् । भोनले अगाडि लेखेका छन्, ‘इंग्ल्यान्डका ब्याट्म्यान यसपल्ट अलि कम नै आक्रामक भए कि ?’ त्यसको ठीक विपरीत अस्ट्रेलिया भने प्रतियोगिता अगाडि बढेयता थप आक्रमक देखिन थालेको छ ।

टोलीका कप्तान आरोन फिन्च र डेविड वार्नरको प्रारम्भिक ब्याटिङ जोडीले आक्रामक ढंगले रन बनाइरहेका छन् । बलरमध्ये पनि माइकल स्टार्कले १५ विकेट लिएर सर्वाधिक सफल बलरको सूचीमा संयुक्त अगाडि छन् । १९८७ को विश्वकप विजेता अस्ट्रेलियाली टिमका कप्तान एलान बोर्डर के मान्छन् भने मंगलबारको खेलको निर्णय बलरको हातमा हुनेछ । ‘मेरो विश्लेषणमा बलर नै निर्णायक हुनेछन् इंग्ल्यान्ड र अस्ट्रेलियाबीचको खेलमा,’ उनले भनेका छन् ।

प्लेयर्स टु वाच

जोस बटलर (इंग्ल्यान्ड)

अस्ट्रेलियाली प्रशिक्षक जस्टिन ल्याङ्गरले कुनै समय समरसेटबाट खेले । उनकै अगाडि हुर्केका खेलाडी हुन् बटलर । अहिले बटलर इंग्लिस टिमका उपकप्तान छन् । उनलाई आधुनिक एकदिवसीय क्रिकेटमा सबैभन्दा नयाँ नयाँ प्रयोग गर्न रूचाउने खेलाडीका रूपमा लिइन्छ । ल्याङ्गर के मान्छन् भने बटलरको खेल व्यक्तित्व त्यसरी विकास भइरहेको छ, जुन भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनीको छ । बटलर पनि धोनीजस्तै विकेटकिपर/ब्याट्म्यान हुन् । तय छ इंग्ल्यान्डलाई उनको गतिलो योगदान चाहिने छ अस्ट्रेलियाविरुद्ध ।


डेविड वार्नर (अस्ट्रेलिया)

यसपल्टको विश्वकपमा सबैभन्दा लयमा रहेका कुनै ब्याट्सम्यान छन् भने ती हुन्, अस्ट्रेलियाली प्रारम्भिक ब्याट्सम्यान डेविड वार्नर । एकवर्षे प्रतिबन्धपछि मैदान फर्केका वार्नरले अहिले तहल्का मच्चाइरहेका छन् । इंग्ल्यान्डको सामना गर्दा यी खेलाडी सबैको नजरमा हुनेछन् । हुनसक्छ इंग्लिस दर्शकले उनको खिल्ली उडाउन कुनै कसर छाड्ने छैनन् । वार्नरले यसलाई कसरी लिनेछन् त्यो हेर्नलायक हुनेछ । प्रशिक्षक जस्टिन ल्याङगरकै शब्दमा वार्नरको काम ब्याटिङ गर्नु हो, समर्थकले के गरे त्यसमा चासो राख्ने होइन ।

प्रकाशित : असार १०, २०७६ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?