कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

रोयप्रति इंग्ल्यान्डको आशा

एएफपी

लन्डन — ह्यामस्ट्रिङको चोट खेपेका इंग्ल्यान्डका ओपनिङ ब्याट्सम्यान जेसन रोय आइतबार हुने भारतविरुद्धको महत्वपूर्ण खेलका लागि स्वस्थ हुने अपेक्षा इंग्लिस टोलीको छ । 

रोयप्रति इंग्ल्यान्डको आशा

उच्च लयमा रहेका घरेलु ब्याट्सम्यान रोय वेस्ट इन्डिजविरुद्धको खेलमा ह्यामस्ट्रिङको चोटग्रसित बनेका थिए । उनले त्यही खेलमा फिल्डिङ गर्न सकेनन् । त्यसयता इंग्ल्यान्डले लगातार श्रीलंका र अस्ट्रेलियासँग पराजय बेहोर्दा उनी टुलुटुलु हेर्न बाध्य भए ।


यी दुई हारले आईसीसी वरीयतामा शीर्षस्थानको इंग्ल्यान्डका लागि सेमिफाइनल प्रवेशको बाटोमा गम्भीर शंका खडा गरिदिएको छ । उसले समूह चरणका बाँकी दुईमध्ये कम्तीमा एक खेल जित्नैपर्ने समीकरण बनिसकेको छ । इंग्ल्यान्डले भारतपछि विश्वकपमा अपराजित अर्को टोली न्युजिल्यान्डसँग खेल्न बाँकी छ ।


‘जेसन रोयले ह्यामस्ट्रिङ इन्ज्युरीबाट फर्कने प्रयासमा उल्लेख्य प्रगति गरिरहेका छन् । हरेक दिन स्वस्थ भइरहेका छन् । मंगलबार उनले नेट्स र आउट फिल्डमा पनि हल्का अभ्यास गरे,’ इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘एजबास्टनमा हामीले शुक्रबार र शनिबार अभ्यास गर्नेछौं, त्यसपछि भारतसँग उनले खेल्न सक्ने नसक्नेबारे निर्क्योल हुनेछ ।’


रोयले इंग्ल्यान्डका लागि पछिल्लो ६ एकदिवसीय अन्तर्राष्ट्रियमा ५ पल्ट ५० रनभन्दा बढी प्रहार गरेका छन् । जारी विश्वकपमा बंगलादेशबिरुद्ध उनले प्रहार गरेको १ सय ५३ रन यो विश्वकपकै दोस्रो सर्वाधिक व्यक्तिगत स्कोर हो । उनको स्थानमा आएका जेम्स भिन्सले आफ्नो तीन इनिङ्समा क्रमशः २६, १४ रन र शून्यको प्रदर्शन गरेका छन् ।


इंग्ल्यान्डलाई सुपर स्टार बलर जोफ्रा आर्चर र अदिल रशिदको फिटनेस पनि अर्को चिन्ता बनेको छ । तीव्र गतिका बलर आर्चर बायाँ मांसपेसी कसिने समस्याबाट गुज्रिरहेका छन् भने स्पिनर रशिदलाई काँधको समस्या छ । उनीहरूले खेल गुमाउन सक्नेबारे भने बोर्डले केही बताएको छैन ।

प्रकाशित : असार १२, २०७६ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?