१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

पाकिस्तानको आशा जीवितै

एएफपी

लिड्स — पाकिस्तान स्तब्धपूर्ण हारबाट जोगिएको छ । अफगानिस्तानमाथि शनिबार लिड्समा ३ विकेटको तनावपूर्ण जित हात पार्दै पाकिस्तानले विश्वकप क्रिकेटको सेमिफाइनल पुग्ने आशा जीवितै राखेको छ । 

पाकिस्तानको आशा जीवितै

२ सय २८ रनको लक्ष्य पाएको पाकिस्तान १५६–६ को स्थितिमा पुग्दा अफगानिस्तान जिततर्फ मोडिएको थियो । तर इमाद वसिमले अविजित ४९ रन बनाई सन् १९९२ को विश्वकप विजेतालाई २ बलअघि विजय दिलाए ।


अलराउन्डर इमादले अफगानिस्तानका कप्तान गुलबिदन नैबको बलमा कभरतर्फ चौका प्रहार गरेपछि दर्शक मैदानभित्रै पसेका थिए । इमादले सद्दाब खान (११) सँग सातौं विकेटमा ५० रनको साझेदारी गरेपछि पाकिस्तानको आस बढेको थियो ।


‘जब म मैदानमा गएको थिएँ, उनीहरूले निकै राम्रो बलिङ गरिरहेका थिए । म त्यहाँ अडिएर मात्र बसें । हामी पूरै ५० ओभर खेल्न चाहन्थ्यौं र नतिजा हेर्न खोजेका थियौं,’ इमादले भने, ‘गुलबदिन (नैब) लाई मात्र लक्षित गरेर प्रहार गर्न सकिने बलर थिए । उनीहरूसँग विश्वस्तरीय स्पिनर थिए, त्यसैले हामी नैबमाथि हाबी हुन खोज्यौं । मैदानमा उपस्थित भएका समर्थकलाई पनि धन्यवाद दिन चाहन्छौं, जसले घरमै खेलेको अनुभव दिलाएको थियो । उहाँहरूले नै हाम्रो आत्मबल बढाए ।’


निकै खराब सुरुआत गरेको पाकिस्तानको ८ खेलबाट ९ अंक भएको छ । शनिबारको जितले टोलीलाई अंकतालिकाको चौथो स्थानमा पुर्‍याइदिएको छ । सहभागी १० टोलीले राउन्ड रोबिनमा एकअर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोली सेमिफाइनलमा पुग्ने छन् ।


पाकिस्तानले आफ्नो अन्तिम खेल बंगलादेशसँग खेल्न बाँकी छ । यसले सबैभन्दा अप्ठ्यारो आयोजक इंग्ल्यान्डलाई बनाएको छ । इंग्ल्यान्डले शीर्ष स्थानको भारत र तेस्रो स्थानमा रहेको न्युजिल्यान्डसँग खेल्न बाँकी छ । दुवै खेलमा जित हात नपारे इंग्ल्यान्ड बाहिरिन सक्छ ।


इमादले अगाडि भने, ‘हामीले आफ्नो अन्तिम खेल जित्नुपर्छ र के हुन्छ त्यसमा भर पर्नुपर्छ । अब चाहिँ हामीलाई जुनै स्थितिबाट पनि जित्न सकिन्छ जस्तो विश्वास आएको छ ।’ कप्तान सरफराज अहमद अनावश्यक दोस्रो रन लिनेक्रममा १८ रनमा रनआउट भएपछि पाकिस्तान गहिरो संकटमा परेको थियो । त्यो समयमा पाकिस्तानलाई अन्तिम ११ ओभरमा ७२ रन आवश्यक थियो । नैबले फालेको ४६ औं ओभरमा टोलीले १८ रन जोडेपछि अन्तिम ४ ओभरमा २८ रन आवश्यक भएको थियो ।


पाकिस्तानको स्कोर २ सय ६ रन हुँदा सद्दाब पनि रनआउट भए । तर वाहब रियाजले इमादसँग मिलेर पाकिस्तानलाई रोमाञ्चक विजय दिलाए । अफगानिस्तानको लगातार आठौं हार हो । ‘हामीले राम्रो संघर्ष गर्‍यौं, खेलाडीले पनि शतप्रतिशत दिएका हुन् तर अन्त्यमा हामीले खेल जित्ने मौका गुमाउन पुग्यौं,’ अफगानी कप्तान नैबले भने, ‘पाकिस्तानलाई पनि यसको श्रेय दिनुपर्छ किनभने उनीहरूले धैर्य देखाएका थिए ।’


स्कोर कार्ड

पाकिस्तान

३ विकेटले विजयी


अफगानिस्तान

५० ओभर २२७/९

असगर अफगान–४२

नजिबुल्लाह जार्दान–४२

रहमत साह–३५


सहिन साह अफ्रिदी ४/४७

वाहब रियाज २/२९



पाकिस्तान

४९.४ ओभर–२३०/७

इमाद वसिम–४९८

बाबर आजम–४५

इमाम उल–हक–३६


मोहम्मद नाभी २/२३

मुजिब उर रहमान २/३४

प्रकाशित : असार १५, २०७६ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?