कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

बिदा लिँदै ताहिर

(एएफपी)

म्यानचेस्टर — दक्षिण अफ्रिकाका इमरान ताहिर एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट भावपूर्ण बिदाइ लिने क्रममा छन् । उनी के पनि विश्वस्त छन् भने दक्षिण अफ्रिकी क्रिकेटको भविष्य राम्रो छ । शनिबार दक्षिण अफ्रिकाले डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाको सामना गर्दा त्यो उनको अन्तिम तथा १ सय ७ औं एकदिवसीय हुनेछ । यससँगै यी लेग स्पिनर ५० ओभरको अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिँदै छन् । पाकिस्तानमा जन्मेर दक्षिण अफ्रिकीसँग विवाह गरेका ताहिरले सन् २०११ मा डेब्यु गरेका थिए ।

बिदा लिँदै ताहिर

त्यति बेला उनी ३२ वर्ष छुने क्रममा थिए । अहिले ४० वर्ष भइसकेका ताहिरले सप्ताहन्तको खेल अगाडि १ सय ७२ एकदिवसीय विकेट लिइसकेका छन् । यसपल्टको विश्वकप दक्षिण अफ्रिकाका लागि निराशाजनक रह्यो । उनले अहिलेसम्म खेलेका ८ मध्ये २ खेलमा मात्र विजयी रह्यो । टिम यसअघि नै प्रतियोगिताको सेमिफाइनल समीकरणबाट पनि बाहिरिइसकेको छ । ‘प्रतियोगितामा हामीले सुखद अन्त्यका लागि प्रयास गर्नुपर्छ,’ ताहिर मान्छन् ।


‘तर यही बेला म निकै दु:ख पनि महसुस गरिरहेको छु किनभने म अबदेखि एकदिवसीय क्रिकेट खेल्दिनँ । अन्तर्राष्ट्रिय क्रिकेट खेल्नु मेरो सपना थियो र यो पूरा गर्न सहयोग गर्ने सबैलाई मेरो धन्यवाद छ । म विदेशबाट आएको भए पनि दक्षिण अफ्रिकाले मलाई स्विकार्‍यो । यो मेरो खेलजीवनको ठूलो मोड हो । म सधैं क्रिकेट खेल्न चाहन्थें र अझै पनि सक्दो क्रिकेट खेल्ने इच्छा छ । तर अहिले ठीक समय आएको छ, एकदिवसीय क्रिकेटबाट संन्यास लिने ।’

ताहिरले खेलजीवनको यो मोडका लागि आफूलाई तयार पारेको पनि दाबी गरे । यो खेल आफ्नो टिमका लागि राम्रो हुने पनि विश्वास पोखेका छन् । उनले थपेका छन्, ‘दक्षिण अफ्रिकी क्रिकेट भविष्यलाई लिएर पनि म चिन्तित छैन । धेरै नयाँ र राम्रा खेलाडी अगाडि आइरहेका छन् । दक्षिण अफ्रिकामा प्रतिभाको कुनै कमी छैन । उनीहरूलाई अनुभवको खाँचो छ ।’


प्रकाशित : असार २१, २०७६ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?