कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

भारतलाई स्तब्ध पार्ने किवी योजना

एएफपी

म्यानचेस्टर — न्युजिल्यान्डले मंगलबार विश्वकपको पहिलो सेमिफाइनलमा भारतको सामना गर्दा लक्ष्य हुनेछ स्तब्धपूर्ण नतिजा निकाल्ने । न्युजिल्यान्डका लागि यस्तो नतिजा निकाल्न प्रेरणा बन्न सक्नेछन् सचिन तेन्दुलकर । तेन्दुलकरले हालै ट्विट गर्दै महेन्द्रसिंह धोनीलाई जन्मदिनको शुभकामना दिनेक्रममा भनेका छन्, ‘अबको दुई खेलका लागि शुभकामना ।’

संन्यास लिइसकेका क्रिकेटमै महान् खेलाडीको त्यो टिटको अर्थ भारत फाइनल पुगिसकेको अर्थमा हुन्छ ।

जुलाई १४ मा लर्ड्समा हुने त्यस खेलको प्रतिद्वन्द्वी टिम रहेका छन्, अस्ट्रेलिया वा इंग्ल्यान्ड । न्युजिल्यान्डको उद्देश्य हुनेछ, तेन्दुलकरलाई गलत साबित गर्ने । सन् २०१५ को उपविजेता न्युजिल्यान्ड र भारतबीचको लिग चरणको खेल वर्षाले हुन दिएको थिएन । भारतले लिग चरणमा एकै खेल मात्र गुमाएको थियो र त्यो इंग्ल्यान्डविरुद्ध थियो । लिग चरण समाप्तिमा भारत सहभागी १० टिममध्ये शीर्षस्थानमा रहन पनि सफल रह्यो ।


यस्तोमा न्युजिल्यान्डको तुलनामा भारत फाइनल प्रवेशका लागि बलियो प्रत्याशी देखिन्छ । उसका प्रारम्भिक ब्याट्सम्यान रोहित शर्मा एउटै संस्करणको विश्वकपमा पाँच शतक बनाउने पहिलो ब्याट्सम्यान भएका छन् । उनले श्रीलंकाविरुद्ध हेडिङ्लेमा प्राप्त लिग चरणको पछिल्लो जितमा पनि १ सय ३ रन बनाएका थिए । भारतका तीव्र गतिका बलर जसप्रित बुमराह पनि लयमै छन् । भारतको बलिङ आक्रमण सटिक र सन्तुलित देखिएको छ ।


फेरि भारतीय कप्तान विराट कोहली आफैं पनि ठूलो अवसरमा अझै राम्रो खेल्न माहिर छन् । अहिले उनको टिममा राम्रो खेलाडीको बाहुल्य रहेको हुनाले सुरुआती टिम बनाउन पनि गाह्रो भइरहेको छ । यस्तोमा बुमराह भन्छन्, ‘सबैको प्रदर्शन उत्तिकै राम्रो भइरहेको हुनाले टिम छनोटको टाउको दुखाइ पनि राम्रै हो । अहिले सबै खेलाडी सेमिफाइनल जस्तो महत्त्वपूर्ण चरणमा खेल्न चाहन्छन् ।’


न्युजिल्यान्डको बलिङ आक्रमण पनि कमजोर भने छैन । त्यसमा अनुभवी ट्रेन्ट बोल्ट र फेरि फिट भएका तीव्र गतिका बलर लोकी फर्गुसन छन् । उनीहरूले भारतीय टिमको शीर्ष तीन ब्याट्सम्यानलाई आउट पार्नसके भने त्यसपछिको ब्याटिङक्रमलाई रोक्न गाह्रो नहुन सक्छ । रनरेटका कारण चौथो स्थानमा रहेर सेमिफाइनल पुगेको न्युजिल्यान्डले पछिल्लो तीन खेल भने गुमाएको छ । यसक्रममा टोलीले पाकिस्तानदेखि डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया र इंग्ल्यान्डसँग पराजय बेहोरेको थियो । अहिले तेन्दुलकरको ट्विटले न्युजिल्यान्ड मैदानमा केही गरेर देखाउन उत्साही भएको छ ।


‘खेल प्रशंसकले हामीलाई जित्ने नसक्ने टिमका रूपमा हेरिरहेका छन् । कहिलेकाहीं यो राम्रो पनि हुने गर्छ,’ न्युजिल्यान्डका प्रशिक्षक ग्यारी स्टिडले भनेका छन् । यसपल्ट विश्वकपमा पहिले ब्याटिङ गर्ने चलन देखिएको छ र विशेषतः ओल्ड ट्राफोर्डमा यो अझ बढी उपयुक्त देखिएको छ । यस मैदानमा भएका अघिल्ला ५ खेलमध्ये सबैमा पहिले ब्याटिङ गर्ने टिम नै विजयी छ । स्टिड मान्छन्, भारत लक्ष्य पछ्याउन पनि अब्बल टिम हो ।


उनको भनाइ छ, ‘विश्वकपजस्तो ठूलो प्रतियोगिताको यो चरणमा आइपुगेर दबाबमा रहनुको पनि अर्कै मज्जा छ । यो दबाब जित्ने हो भने त्यो अनुमान मात्र हुने गर्छ ।’ स्टिडको यो भनाइ साँचो हुने हो भने न्युजिल्यान्डको ब्याटिङ पनि मजबुत हुनुपर्नेछ । न्युजिल्यान्डका कप्तान केन विलियम्सन स्वयं राम्रो लयमा छन् । उनले दक्षिण अफ्रिका र वेस्ट इन्डिजविरुद्ध निर्णायक साबित शतक बनाएका छन् ।


त्यसयता किवी ब्याटिङ अहिलेसम्म फितलो नै छ । न्युजिल्यान्डले पावर प्लेमा सर्वाधिक खराब प्रदर्शन गर्दै औसतमा १३ विकेट गुमाएको छ । विलियम्सनले ४ सय ८१ रन बनाएका छन् र यो पूरा टिमले बटुलेको रनमा २९ प्रतिशत हुन आउँछ । स्टिड पनि मान्छन्, आफ्नो कप्तान टिमका आधार हुन् । भारतीय टिमको एउटा बलियो पक्ष उसको अत्यधिक संख्यामा रहेको दर्शक पनि छ । तर स्टिडको मत छ, ‘मैदानमा उत्रेपछि दर्शकको आवाज खाली आवाजमात्र त हुने गर्छ ।’

प्रकाशित : असार २४, २०७६ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?