१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

श्रीलंकन प्रशिक्षकमाथि दबाब

एएफपी

कोलम्बो — विश्वकपबाट बाहिरिएका कारण राजीनामा दिन व्यापक दबाब रहे पनि चण्डिका हथुरुसिंघाले सोमबार आफूले श्रीलंकाको प्रशिक्षक पद नत्याग्ने बताएका छन् । तर स्रोतका अनुसार श्रीलंकाको प्रशिक्षण टोलीमा ठूलै परिवर्तन गर्ने तयारी गरिएको छ । श्रीलंकालाई विश्वकपमा दाबेदारमा राखिएको थिएन । टोली १० राष्ट्रसम्मिलित प्रतियोगितामा छैटौं स्थानमा रह्यो । श्रीलंकाले तीन खेलमा जित हात पार्न सक्यो र त्यसमा एक विजय एकदिवसीयको शीर्ष टोली एवं आयोजक इंग्ल्यान्डसँग थियो । 

स्थानीय सञ्चारमाध्यममा सोमबार जनाइएअनुसार श्रीलंकाका खेलकुदमन्त्री हरिन फर्नान्डो प्रशिक्षक हथुरुसिंघाको प्रदर्शनप्रति सन्तुष्ट छैनन् र उनीसँग राजीनामा मागिरहेका छन् ।


श्रीलंकाली टोली विश्वकपमा प्रतिस्पर्धा गरि कोलम्बो फर्किएपछि हथुरुसिंघाले सञ्चारमाध्यमसँग आफूले टोलीबाट अझै ठूलो अपेक्षा गरेको जनाउँदै अनुबन्ध रहेसम्म श्रीलंकाको प्रशिक्षकमा बसिरहने जनाए । ‘मसँग सम्झौताको अझै १६ महिना बाँकी छ । आस छ त्यो अवधिभर म रहिरहनेछु,’ उनले भने ।


श्रीलंका सेमिफाइनलमा नपुगेको जिम्मेवारी लिने विषयमा हथुरुसिंघाले पूरै टिम व्यवस्थापनले नै यसको दोष लिनुपर्ने जनाए । ‘जे भयो त्यसको हामी सबैले जिम्मेवारी लिनुपर्छ । हामीले यो भन्दा राम्रो प्रदर्शन अपेक्षा गरेका थियौं । यसबाट सिक्दै हामी अगाडि बढ्नुपर्छ । मसँग जे क्षमता थियो त्यो देखाएजस्तो लाग्छ,’ उनले भने ।


तीन महिनाभित्र प्रशिक्षण विभागमा पूरै परिवर्तन हुने एक उच्च क्रिकेट अधिकारीले बताए । ‘हामी तीन महिनाभित्र सबै परिवर्तन गर्नेछौं,’ नाम नबताउने शर्तमा ती अधिकारीले भने । उनले फिल्डिङ प्रशिक्षक स्टिभ रिक्सन, ब्याटिङ प्रशिक्षक जोन लुइस र बलिङ प्रशिक्षक रुमेश रत्नायकेको अनुबन्ध नवीकरण नहुने जनाए । श्रीलंकाले विश्वकपमा चार खेलमात्र जित्न सक्यो । दुई खेल वर्षाले रद्द भएको थियो ।


‘प्रमुख प्रशिक्षकले राजीनामा दिन मानेनन् भने हामी उनलाई हट्न बाध्य बनाउने छैनौं । हामी उनीभन्दा माथि अर्को ल्याउने छौं,’ फर्नान्डोले स्थानीय एक दैनिकमा भनेका छन् । हथुरुसिंघालाई २०१७ को डिसेम्बरमा नियुक्त गर्दा श्रीलंका क्रिकेट संकटमा रहेको थियो । उनी यसअघि तीन वर्ष बंगलादेशको प्रशिक्षक रहे, सोक्रममा बंगलादेशले इंग्ल्यान्ड र अस्ट्रेलियामाथि टेस्ट जित हात पारेको थियो । तर हथुरुसिंघा प्रशिक्षक भएयता श्रीलंकालाई भारतले घरेलु र विदेशी भूमिको शृंखलामा सजिलै पराजित गरेको थियो भने एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा निकै कमजोर प्रदर्शन गरेको थियो ।

प्रकाशित : असार २४, २०७६ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?