कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बदलिएका प्लुङ्केट र इंग्ल्यान्ड

एएफपी

बर्मिङघम — लिएम प्लुङ्केटले विश्वकपको बहुप्रतीक्षित सेमिफाइनल खेलअगाडि अस्ट्रेलियालाई चेतावनी दिँदै इंग्ल्यान्ड विगतभन्दा फरक टोली रहेको जनाएका छन् । एसेस प्रतिद्वन्द्वीहरू बिहीबार फाइनल भेटका लागि बर्मिङघममा भिड्दै छन् । साविक विजेता अस्ट्रेलिया छैटौं पटक उपाधि हत्याउने प्रयासमा छ भने इंग्ल्यान्ड पहिलो पटक उपाधि उचाल्ने आसमा छ । 

बदलिएका प्लुङ्केट र इंग्ल्यान्ड

अनुभवी हिसाबमा अस्ट्रेलिया प्रतियोगिताको बलियो देखिन्छ । विश्वकपमा इंग्ल्यान्डसँग भएका पछिल्ला चार भेटमा सबैमा अस्ट्रेलिया विजयी भएको थियो । यसै प्रतियोगिताको समूह चरणमा पनि अस्ट्रेलियाले इंग्ल्यान्डलाई पराजित गरेको थियो । तर प्लुङकेट समय परिवर्तन भइसकेको मान्छन् ।


‘उनीहरूले यसअघिको भेटमा सबैमा सफलता हात पारेका छन् तर यस्तो प्रतिभाशाली खेलाडीको टोलीसँग होइन,’ प्लुङकेटले भने, ‘पछिल्ला भेटहरूभन्दा हामी धेरै फरक टोली हौं । हामीले पछिल्लो चार वर्षदेखि निकै राम्रो खेलिरहेका छौं, विश्व नम्बर एक टोली बन्यौं । त्यसमा आनन्द महसुस गर्छौं । हाम्रो दिनमा कुनै पनि टोलीलाई पराजित गर्न सकिन्छ जस्तो लाग्छ ।’


प्लुङकेट इंग्ल्यान्ड टोलीका सबैभन्दा पाका खेलाडी हुन् । सन् २००५ मा अन्तर्राष्ट्रिय क्रिकेटमा आएका उनले आफ्नो पछिल्लो विश्वकप अनुभव १२ वर्षअघि वेस्ट इन्डिजमा बटुलेका थिए । उनले इंग्ल्यान्डको एकदिवसीय टोलीमा आएको उतारचढाव देखेका छन् । उनी अहिले जस्तो लयमा यसअघि कहिले थिएनन् ।


‘हामीसँग यसअघि पनि उत्कृष्ट खेलाडी थिए तर विश्वकप जितिन्छ भन्ने कहिल्यै कल्पना आएन,’ उनले भने, ‘अहिले हाम्रो उत्साहित टोली छ । मैले यसअघि खेलेका टोलीबाट जित आस राखिन्न थियो । अहिले हामीसँग जुन टोली छ, त्यसबाट सर्वसाधारणले खेलमा विजय र शृंखला जितको आशा गर्छन् । चार वर्षपछि यो स्थितिमा आउनु निकै राम्रो हो । अब यसलाई उत्कर्षमा पुर्‍याउनुपर्छ ।’


३४ वर्षे प्लुङकेटले २०२३ मा भारतमा हुने विश्वकपमा खेल्ने सम्भावना देखिँदैन । त्यसैले अबको केही दिन उनको खेलजीवनको उच्च क्षण हुनसक्छ । ‘मलाई पनि त्यस्तै लाग्छ,’ उनले सहमति जनाउँदै भने, ‘व्यक्तिगत रूपमा भन्नुपर्दा मैले अर्को विश्वकप खेल्ने सम्भावना नै छैन, त्यसैले अहिलेको क्षण ठूलो छ ।’

प्रकाशित : असार २५, २०७६ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?