कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कप्तानको ८ खेलमा १ विकेट

एएफपी

ढाका — बंगलादेशका कप्तान मासरफ मोर्ताजाले समर्थकको शिर झुकाउनुपरेकोमा आफूलाई पछुतो रहेको जनाउँदै विश्वकपको सेमिफाइनलमा नपुगेकामा जिम्मेवारी लिने जनाएका छन् । 

‘हामी निश्चय पनि निराश छौं, केही नतिजा हाम्रोतर्फ आएको भए सेमिफाइनल पुग्न सक्थ्यौं,’ टिम ढाका फर्किएपछि मोर्ताजाले पत्रकारसँग भने, ‘समग्रमा हामीले जसरी खेल्यौं त्यो निकै सकारात्मक थियो । तर हामीले आफ्नो लक्ष्य प्राप्ति गर्न सकेनौं । हामीले अन्तिम खेल जितेको भए पाँचौं हुन्थ्यौं । हाम्रा समर्थक र खेलाडी शीर्ष चारमा हेर्न चाहिरहेका थिए ।’

लिगको अन्तिम खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई पराजित गरेपछि बंगलादेश आठौं स्थानमा झरेको थियो । बंगलादेशले दक्षिण अफ्रिका, वेस्ट इन्डिज र अफगानिस्तानलाई पराजित गरेको थियो भने केही शीर्ष टोलीसँग झिनो अन्तरले पराजित भए पनि दोस्रो अन्तिम खेलअघिसम्म शीर्ष चारको दौडमा रहेको थियो । छिमेकीहरू भारत र पाकिस्तानसँग पराजित भएपछि टोली प्रतियोगिताबाट बाहिरिएको थियो ।

केही खेलाडीको एकरुप प्रदर्शन नहुनु, केहीमा भाग्यको साथ नहुनु टोली बाहिरिनुका कारण रहेको मोर्ताजाले जनाए । ‘भारतसँगको सेमिफाइनल खेलअघिसम्म हामीसँग सेमिफाइनल ढोका खुला थियो । सकिब अल हसन र मुस्फिकर रहिमबाहेक अरुले संयमित प्रदर्शन देखाउन सकेनन्,’ मोहम्मद सैफुद्दिनले असाधारण क्रिकेट खेलेको जनाउँदै मोर्ताजाले भने, ‘एक साता वर्षाले पूरै बिथोलियो, जसले हाम्रो र अरु टोलीलाई प्रभावित बनायो ।’

सकिबले विश्वकपमा ६ सय ६ रन बनाउनुका साथै ११ विकेट लिए । तीव्र गतिका बलर मुस्ताफिजुर रहमान बंगलादेशका अर्का उच्च प्रदर्शनकर्ता थिए । उनले २० विकेट लिए । मोर्ताजा आफैं पनि फर्मसँग संघर्षरत थिए । उनले ८ खेलमा १ विकेटमात्र लिनसके । ३५ वर्षे मध्यम गतिका बलर मोर्ताजाले आफ्नो भविष्यबारे स्पष्ट केही बताएनन् । ‘एउटा कप्तानबारे आशा गरिएको नतिजा निकाल्न नसकेमा मैले नेतृत्व गर्न नसकेको हो, त्यसपछि त्यहाँ आलोचना भइहाल्छ । मैले पूरै टोलीको जिम्मा लिनुपर्छ, यो सामान्य नै हो,’ उनले भने ।

प्रकाशित : असार २५, २०७६ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?