कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

इंग्ल्यान्ड २७ वर्षपछि फाइनलमा

एएफपी

बर्मिङ्घम — विश्वकप क्रिकेटले नयाँ विजेता पाउने भएको छ । आयोजक इंग्ल्यान्डले बिहीबार दोस्रो सेमिफाइनलमा पाँचपल्टको विजेता अस्ट्रेलियालाई सजिलै ८ विकेटले सजिलै पराजित गरेपछि यस्तो समीकरण बनेको हो । 

इंग्ल्यान्ड २७ वर्षपछि फाइनलमा

आइतबार लर्डसमा हुने फाइनलमा इंग्ल्यान्ड र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ । यी दुवै टोलीले अहिलेसम्म विश्वकप जित्न सकेका छैनन् । न्युजिल्यान्डले अघिल्लो दिन पहिलो सेमिफाइनलमा भारतलाई स्तब्ध पारेको थियो । न्युजिल्यान्ड लगातार दोस्रोपल्ट फाइनल खेल्दै छ । समूह चरणको खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डमाथि १ सय १९ रनको जित हात पारेको थियो ।


इंग्ल्यान्ड २७ वर्षपछि फाइनल पुगेको हो । सन् १९९२ मा पछिल्लो पटक इंग्ल्यान्डले फाइनल खेलेको थियो, जहाँ टोली पाकिस्तानसँग उपाधि भिडन्तमा पराजित भयो । त्यसयता इंग्ल्यान्ड सेमिफाइनल पनि पुग्न सकेको थिएन । १९७९ को फाइनलमा इंग्ल्यान्डलाई वेस्ट इन्डिज र १९८७ मा अस्ट्रेलियाले पराजित गरेको थियो । चार वर्षअघि विश्वकपमा इंग्ल्यान्ड पहिलो चरणबाटै बाहिरिएको थियो ।


त्यसयता इंग्ल्यान्डलाई यो स्थितिमा पुर्‍याउन अस्ट्रेलियाका प्रशिक्षक ट्रेभोर बेलिसको उल्लेखनीय योगदान छ । चार वर्षको अन्तरमा एकदिवसीय अन्तर्राष्ट्रियमा विश्व नम्बर एक बनिसकेको टोली विश्वकप उपाधि नजिक पनि पुगेको छ । अस्ट्रेलिया पहिलोपल्ट सेमिफाइनलमा पराजित भएको हो । यसअघिका सात सेमिफाइनल जित्दा अस्ट्रेलिया पाँचपल्ट विश्वविजेता बनेको थियो ।


टस जितेपछि ब्याटिङमा आएको अस्ट्रेलियालाई इंग्ल्यान्डले एक ओभरअगाडि २ सय २३ रनमा अलआउट गर्‍यो ।


जेसन रोयले आक्रामक ८५ रन बनाएपछि इंग्ल्यान्डले ३२.१ ओभरमै लक्ष्य पूरा गरेका थियो । ६५ बल खेलेका उनले ९ चौका र ५ छक्का प्रहार गरे । रोयले जोनी बेरिस्टोसँग पहिलो विकेटमा १८ ओभरभित्र १ सय २४ रन जोडेपछि इंग्ल्यान्डको जित निश्चितजस्तै भएको थियो । बेरिस्टोले ४३ बलमा ५ चौका प्रहार गरी ३४ रन बनाए । जो रुट ४६ बलमा ४९ र कप्तान इयान मोर्गन ३९ बलमा ४५ रन बनाई अविजित रहे । दुवैले ८–८ चौका प्रहार गरे ।


म्यान अफ द म्याच भने क्रिस वोक्स थिए । जोफ्रा आर्चरले अस्ट्रेलियाका कप्तान आरोन फिन्चलाई शून्यमा आउट गरेको अवस्थामा वोक्सले डेविड वार्नरलाई ९ र पिटर ह्यान्ड्सकोम्बलाई ४ रनमै पेभेलियन फर्काए । उनले मिचेल स्टार्कलाई २९ रनमा आउट गरी तेस्रो विकेट लिए । स्टिभ स्मिथले ८५, एलेक्स केरीले ४६ र ग्लेन म्याक्सवेलले २२ रन बनाए पनि अस्ट्रेलियालाई त्यो मजबुत स्कोरमा पुर्‍याउन पर्याप्त भएन् ।


स्पिनर अदिल रशिदले एकै ओभरमा केरी र मार्कस स्टोइनिस (०) लाई आउट गरी अस्ट्रेलियाको खेलमा फर्किने आशामा ठूलो धक्का दिए । वोक्सले ८ ओभरमा २० रनमात्र दिए । रशिदले १० ओभरमा ५४ रन खर्चेर ३, आर्चरले १० ओभरमा ३२ रन खर्चेर २ र मार्क उडले १ विकेट लिए ।


प्रकाशित : असार २७, २०७६ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?