कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

दुःखी नहुन कोहलीको अनुरोध

एएफपी

म्यानचेस्टर — भारतीय कप्तान विराट कोहलीले विश्वकप सेमिफाइनलबाट बाहिरिएपछि आफ्ना समर्थकलाई भावनात्मक हुँदै दुःखी नहुन अनुरोध गरेका छन् । भारतमा क्रिकेट सबैभन्दा लोकप्रिय खेल हो । कोहलीको टिम न्युजिल्यान्डसँग १८ रनले पराजित भएको थियो ।

दुःखी नहुन कोहलीको अनुरोध

वर्षाले गर्दा यो खेल दुई दिन चलेको थियो । जितका लागि २ सय ४० रन पछ्याइरहेको भारतले सुरुआती १० ओभरमा २४ रन बनाउँदासम्म ४ विकेट गुमाएको थियो ।


अन्त्यमा भारत २ सय २१ रन बनाएर अलआउट भयो । यो हारले अत्यधिक संख्यामा खेल हेर्न आएका भारतीय समर्थक निरास देखिएका थिए । यता घरमा रहेको करोडौं संख्याका समर्थक पनि विश्वकपमा आफ्नो टिमको चुनौती समाप्त भएको तीतो सत्य स्विकार्न बाध्य रहे । भारतीय समर्थक आफ्नो टिम पराजित रहँदा कडा र आक्रोशित प्रतिक्रिया दिने खालका छन् । त्यसैले कोहलीले खेलमा जित र हार दुवै समान पक्ष रहेको बताए ।


उनले आफ्ना खेलाडीप्रति कडा टिप्पणी नगर्न पनि अनुरोध गरे । ‘हारमा कडा प्रतिक्रिया आउनु स्वभाविक हो र यसलाई म अन्यथा लिन्न । हारमा पक्कै पनि पीडा हुन्छ तर यसलाई नै ठूलो क्षतिको रूपमा हेरिनुहुन्न,’ कोहलीले भने, ‘क्रिकेटमा सबै प्रतिक्रिया सन्तुलित हुनुपर्छ । केही खेलाडी अस्वभाविक प्रतिक्रियालाई लिएर सहज नहुन सक्छन् । बाहिरबाट टिमको आलोचना गर्नु सजिलो नै हुन्छ । हारमा हामी

सामूहिक जिम्मेवारी लिन तयार छौं ।’


प्रतियोगिताअघि उपाधिका लागि सबैभन्दा बलियो दाबेदार रहेको भारतले त्यस विश्वास कायम राख्दै १० टिमसम्मिलित लिग चरणमा शीर्षस्थान कब्जा गरेको थियो । त्यसकै आधारमा भारतले अन्तिम चारमा न्युजिल्यान्डको सामना गर्ने अवसर पाएको हो । न्युजिल्यान्डले बलरलाई सहयोग गरिरहेको पिचमा २ सय ३९ रनको स्कोर सफलतापूर्वक रक्षा गरेको थियो । त्यसक्रममा न्युजिल्यान्डको बलिङ पनि उत्कृष्ट रह्यो ।


लिग चरणका ९ खेलमध्ये ७ मा विजयी भारतले न्युजिल्यान्डविरुद्धको खेलमा टिम कहाँनिर चुकेको हो त्यसको विश्लेषण हुने कोहलीले बताए । उनले भने, ‘म अहिले तत्काल कारका कारण खोज्न चाहन्न तर केही समयको अन्तरमा हारको विश्लेषण चाहिन्छ । सेमिफाइनलमा पनि हामीले अझ राम्रो गर्नसक्ने स्थान थियो । सेमिफाइनलमा हामीले राम्रो खेल्न नसकेको तथ्य स्विकार्न मलाई कुनै लज्जाबोध छैन ।’

प्रकाशित : असार २७, २०७६ १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?