हारमा अस्ट्रेलियालाई गर्व

एएफपी

बर्मिङ्घम — अस्ट्रेलिया विश्वकप सेमिफाइनलमा इंग्ल्यान्डको हातबाट नराम्रोसँग पराजित हुँदै बाहिरिए पनि पछिल्लो १२ महिनामा टिमको प्रगतिलाई लिएर गर्व महसुस भएको कप्तान आरोन फिन्चले बताएका छन्  । एजबास्टनमा अस्ट्रेलिया एकपक्षीय रूपमा ८ विकेटले पराजित भएको थियो  ।

हारमा अस्ट्रेलियालाई गर्व

पहिले ब्याटिङ रोजेको डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया २ सय २३ रनमै समेटिएको हो । इंग्ल्यान्डले ३२.१ ओभरभित्र जित निकालेको थियो ।

लिग चरणमा ७ खेल जितेको अस्ट्रेलिया अन्तिम अंकतालिकाको दोस्रो स्थानमा रहेको थियो । समूह चरणमा अस्ट्रेलियाले इंग्ल्यान्डलाई हराए पनि त्यस्तै प्रदर्शन सेमिफाइनलमा भने दोहोर्‍याउन सकेन । हारेको त्यो खेलमा कप्तान फिन्च स्वयं शून्यमै आउट भए । उनले यसपल्टको विश्वकपमा टिमको सबैभन्दा खराब र निराशाजनक प्रदर्शन यही खेलमा रहेको पनि स्विकारे ।

उनले अस्ट्रेलिया गत वर्षको तुलनामा बलियो स्थितिमा रहेको बताए । त्यति बेला अस्ट्रेलिया इंग्ल्यान्डको हातबाट एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा ५–० ले पराजित भएको थियो । ‘जुन स्थिति थियो, त्यसबाट मुक्त हुँदै अहिले हामी जहाँ आइपुग्यौं, त्यसमा मलाई गर्व छ । पछिल्लो १२ महिनामा खेलाडीले प्रगति गरेका छन् । यसै स्थितिमा टेकेर हामी सेमिफाइनलसम्म पुग्यौं र उपाधि नजिकसम्म पनि पुग्यौं । त्यसैले जसरी हामी विश्वकपबाट बाहिरियौं, त्यसमा दुःख भने छ,’ उनले थपे ।

पाँचपल्टको विश्वकप विजेताले यस संस्करणमा राम्रो सुरुआत लिए पनि त्यसको अन्त्य भने राम्रो गर्न सकेन । एक वर्ष प्रतिबन्धमा परेका डेविड वार्नर र स्टिभ स्मिथको पुनरागमनले टिम फेरि बलियो देखिएको थियो । त्यसैक्रममा वार्नरले तीन शतक बनाए । सेमिफाइनलमा स्मिथ सर्वाधिक ८५ रन बनाउने खेलाडी रहे ।

त्यही प्रदर्शन मदतमा अस्ट्रेलिया २ सय रनको स्कोर पार गर्न सफल रह्यो । त्यस अगाडि टिमले १४ रनमा ३ विकेट गुमाइसकेको थियो ।

फिन्चले सेमिफाइनलमा आफ्नो टिम सुरुआती एक घण्टामै पराजित भइसकेको पनि विश्लेषण गरे । इंग्ल्यान्डका बलरले धारिलो बलिङ गरे र त्यसमा क्रिस वोक्स सर्वाधिक घातक रहे । उनले तीन महत्त्वपूर्ण विकेट लिए । फिन्चले भने, ‘निश्चित रूपमा सुरुआती १० ओभरमै खेल हाम्रो पकडबाट गुम्यो ।

इंग्ल्यान्डले बलबाट हामीलाई सुरुमा दबाब सिर्जना गर्न सक्यो । यसले हामीलाई संयमित भएर खेल्न बाध्य पार्‍यो ।’ जवाफमा जेसन रोय र जोनी बेरिस्टोले इंग्ल्यान्डका लागि पहिलो विकेटमा १ सय २४ रनको साझेदारी गरेका थिए ।

प्रकाशित : असार २८, २०७६ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?