कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

इंग्ल्यान्ड दबाबमा नआउने

एएफपी

बर्मिङ्घम — कप्तान इयान मोर्गनले इंग्ल्यान्ड विश्वकपको फाइनल पुगेयता आफ्नो टोली त्यसको दबाबमा नआउने दाबी गरेका छन्  । इंग्ल्यान्डले प्रतियोगिताको दोस्रो सेमिफाइनलमा अस्ट्रेलियालाई एजबास्टनमा ८ विकेटले हराएर फाइनल पुगेको हो  ।

इंग्ल्यान्ड दबाबमा नआउने

अब आइतबार लर्ड्समा हुने फाइनलमा मोर्गनको टिमले न्युजिल्यान्डको सामना गर्नेछ । दुवै टिम पहिलोपल्ट विश्वकप जित्ने अभियानमा हुनेछन् ।


‘हामी फाइनलको दबाबमा आउने छैनौं । आज जसरी खेलेका थियौं, भोलि पनि त्यसरी नै खेल्नेछौं,’ मोर्गनले भने, ‘हामीले विश्वकप फाइनल खेल्ने अवसर आफैं सिर्जना गरेका हौं । हामीले अहिले जसरी खेलिरहेका छौं, त्यसरी नै खेल्न सकेनौं भने त्यो हाम्रा लागि लज्जाको विषय हुनेछ ।’ समूह चरणमा इंग्ल्यान्डले न्युजिल्यान्डलाई १ सय १९ रनले पराजित गरेको थियो ।

न्युजिल्यान्डले पहिलो सेमिफाइनलमा एक समय भारतलाई ३ विकेटमा ५ रनभित्र खुम्च्याउँदा पनि १८ रनको जित पाउन अन्त्यसम्म नै संघर्ष गर्नुपरेको थियो । त्यसैले लगातार दोस्रोपल्ट फाइनल खेल्न लागेको न्युजिल्यान्डलाई कुनै पनि अर्थमा सजिलो मान्ने पक्षमा छैनन् मोर्गन । उनले भने, ‘न्युजिल्यान्डको बलिङ निकै धारिलो छ र प्राप्त अवसरमा खुबै फाइदा उठाउँछ । आइतबार हुने फाइनलमा न्युजिल्यान्डलाई हराउन सजिलो हुने छैन, हामी त्यो फाइनलको प्रतीक्षामा छौं ।’


इंग्ल्यान्ड फाइनल पुगेपछि त्यहाँ पहिलोपल्ट त्यसको प्रत्यक्ष प्रसारण निःशुल्क हुनेछ । सन् २००५ को एसेज शृंखलायता प्रमुख खेल प्रतियोगिता बिनाशुल्क प्रसारण हुन लागेको यो पहिलोपल्ट हो । ‘यो निकै राम्रो हो,’ मोर्गनले भने, ‘यो क्रिकेटका लागि नै राम्रो हो र यो खेललाई हामी सबै खुबै मन पराउँछौं ।’ चार वर्ष अगाडिको विश्वकपमा खराब प्रदर्शन गर्दै इंग्ल्यान्ड सुरुमै बाहिरिएपछि सम्हालिएको इंग्ल्यान्ड एकदिवसीय वरीयताको शीर्षस्थानसम्म पुगेको छ ।


सन् १९९२ को विश्वकपपछि इंग्ल्यान्डले नकआउट चरणमा जित निकालेको यो नै पहिलोपल्ट हो । इंग्ल्यान्ड विश्वकपका तीन संस्करणको फाइनलमा पराजित भइसकेको छ । ‘हामी व्यावसायिक खेलाडी हौं, हामीले यहाँसम्म तय गरेको यात्रामा सहयोग गर्ने कसैलाई पनि बिर्सने छैनौं ।

हामीले यहाँसम्म पुग्न निकै मिहिनेत गरेका छौं । हामीले क्रिकेटमा कसरी आनन्दले खेल्ने र जित्ने हो, त्यो सिकेका छौं । टिमको प्रदर्शन कहिलेकाही राम्रो हुन्न, त्यसमा पनि हामी आफ्नो प्रदर्शनलाई लिएर दुःख नमान्ने भएका छौं । सन् २०१५ मा कसैले यसपल्टको विश्वकपमा हामी फाइनल पुग्छौं भनेको भए, म आफैं हाँस्थे होला,’ उनले भने ।

प्रकाशित : असार २८, २०७६ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?