३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नयाँ पर्यटकीय मार्गको तयारी

दीपेन्द्र बडुवाल

चितवन — माडीका ४ गाविसका प्राकृतिक र सांस्कृतिक सम्पदा पर्यटकलाई देखाएर स्थानीय बासिन्दाको जीवनस्तर उकास्ने उद्देश्यले चितवन निकुञ्जले सौराहादेखि माडीसम्म नयाँ पर्यटकीय मार्ग सञ्चालनको तयारी गरेको छ ।

 नयाँ पर्यटकीय मार्गको तयारी
पैदल यात्रामा रुचि भएका र निकुञ्जको भित्री क्षेत्र अवलोकन गर्ने पर्यटक लक्ष्ाित गरेर २४ किलोमिटर लामो मार्ग तयार गरिएको हो ।
अहिले सौराहा आउने पर्यटकलाई २ दिन हिँडाएर माडी पुर्‍याइन्छ । नयाँ मार्ग व्यवस्थित बनेमा सौराहाबाट बिहान हिँडेका पाहुना अपराह्न माडी पुग्नेछन् । यसक्रममा समथर घाँसे मैदानका साथै रमणीय चुरेको यात्रा गर्नुपर्छ । निकुञ्जले शुक्रबार यहाँका पर्यटन व्यवसायी, संरक्षणकर्मी, मध्यवर्ती उपभोक्ता समिति पदाधिकारी र सञ्चारकर्मीलाई उक्त मार्ग अवलोकन गरायो । उनिहरूलाई गन्तव्यमा पुग्न १२ घन्टा लागेको थियो ।
सहज यात्राका लागि डेढ दर्जन कर्मचारी परिचालन गरेर बाटो सुधार गरिएको थियो । प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले पदमार्गलाई थप व्यवस्थित गरेर पर्यटकका लागि खुला गरिने जनाए ।
'माडीमा बाली खाने वन्यजन्तु देखाएर स्थानीयले आम्दानी गरुन् भन्ने उदेश्य हो,' उनले भने, 'पर्यटनबाट आम्दानी भएमा सर्वसाधारणले संरक्षणमा सघाउने छन् ।' उनले सौराहा, पटिहानी, जगतपुर र मेघौलीबाट उक्त मार्ग हुँदै माडी पुग्ने पर्यटक बास बसाउन बस्तीमा मचान निर्माण गर्न लागिएको जनाए ।
मचानमा सुत्ने कोठा, बाथरुम र भान्साको व्यवस्था हुनेछ । 'मचानबाट वन्यजन्तु हेर्न मिल्छ,' उनले भने, 'स्थानीयको सहभागितामा होम स्टेको निर्माण सोचेका छौं ।' अहिले सौराहाबाट पदयात्रामा जाने पर्यटकले एक रात पटिहानीको घटगाईमा बिताउनुपर्छ । दोस्रो दिन माडीको ऐतिहासिक पाण्डवनगर बसाइन्छ ।
अहिले 'ट्रयाक' खोल्ने काम भएको छ । चुरेको डाँडासम्म बाटो सुधार गरिएको छ । त्यहाँबाट झरेर बस्ती पुग्नलाई बाटो छैन । 'निकुञ्ज भित्री क्षेत्रमा पर्यटक रुमल्लिने अवस्था हुनु हुँदैन,' क्षेत्रीय होटल संघका पूर्वअध्यक्ष नारायण भट्टराईले भने, 'पिउने पानी र सुरक्षित आरामस्थल बनाइनुपर्छ ।' त्यस क्षेत्रमा बाघ, गैंडा र हात्तीको डर हुने भएकाले पर्यटकको सुरक्षाका लागि निकुञ्ज प्रशासनले व्यवस्था गर्नुपर्ने बताए । मार्गका आधा दुरी समथर भू भागमा हिँड्नुपर्छ । आधा चुरे डाँडामाथि हिँड्नुपर्छ । केही ठाउँमा खोलामा हिँड्नुपर्दा पीडा हुने गरेको छ । पर्यटन व्यवसायीकै जोडमा निकुञ्जले यसलाई अघि बढाएको निकुञ्जले जनायो ।
अहिले जिल्लामा पर्यटकको बसाइ लम्ब्याउनु नयाँ कार्यक्रमको लक्ष्य छ । 'यो एक दिनको टे्रकिङ नै हो,' क्षेत्रीय होटल संघ सचिव दामोदर रेग्मीले भने, 'पर्यटकको सुरक्षा प्रबन्ध भएमा चल्न सक्छ ।' उनका अनुसार अहिलेसम्म निकुञ्ज छिचोल्न मार्ग थिएन । विश्व सम्पदा सूचीकृत निकुञ्जको मध्य भाग हुँदै यात्रा गर्न पाउने भएपछि पर्यटक उत्साहित हुने उनले बताए ।
अहिले मार्ग 'हाइकिङ' का लागि लामो र 'ट्रेकिङ' का लागि छोटो छ । 'यसलाई ४/५ घन्टाको बनाउनु पर्छ', उनले भने, 'समथरमा गाडीमा पर्यटक ओसार्ने र चुरेमा हिँड्ने व्यवस्था गरिनुपर्छ ।' यसलाई लिएर माडीका बासिन्दा उत्साहित छन् । पहिलोपटक शुक्रबार मार्ग भएर आउनेको स्वागतका लागि २ हजार बासिन्दा जम्मा भएका थिए । स्थानीय संरक्षणकर्मी प्रभुप्रसाद महतोका अनुसार सौराहाबाट हिँडेका पर्यटक माडीको अयोध्यापुरी ४ को शिवद्धारमा आइपुग्छन् । 'पर्यटक आउने भनेपछि स्थानीयको रुचि बढेको छ,' उनले भने, 'स्वस्फूर्त जुट्ने गरेका छन् ।'
 

प्रकाशित : मंसिर १४, २०७१ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?