सुरु भयो पाँचपोखरी–मेरा ट्रेक

कान्तिपुर संवाददाता

काठमाडौँ — सोलुखुम्बुका तन्नेरीहरूले एक्सप्लोर गरेको दश दिने नयाँ पदमार्ग ‘पाँचपोखरी–मेरा ट्रेक’ शुभारम्भ गरिएको छ । महाकुलुङ पर्यटन सूचना केन्द्र, सोलुखुम्बुले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सांसद उत्तम बस्नेत, पर्यटन बोर्डका सिइओ दिपकराज जोशी, टानका केन्द्रीय सदस्य सुकबहादुर लामा, पर्यटनविद् लक्की कार्की र केन्द्रका संयोजक विक्की कुलुङले शुभारम्भ गरेका हुन् । 

उनीहरूले पदमार्गको नक्सा र बुकलेट विमोचन गरे सँगै पदमार्ग शुभारम्भ गरिएको हो । पाँचपोखरी क्षेत्र नेपाल भ्रमण वर्ष २०२० का लागि सरकारले छनोट गरेका सय गन्तव्यमा परेको छ ।

पदयात्रा महाकुलुङ गाउँपालिकाको बुङबाट सुरु भएर चलेम, हुर्हुरे, पाँचपोखरी, खोलाखर्क, तैमे, छेस्काम, गुदेल, साल्पापोखरी, सिलुछो, साउनेखर्क, गुदेल हुँदै बुङ आइपुग्दा एउटा चक्र पुरा हुने केन्द्रका अध्यक्ष कुलुङ बताउँछन् ।

पदमार्गमा अन्यत्र सामान्य होटल सुविधा भए तापनि तैमे र साउने खर्कमा क्याम्पिङ गर्नु पर्ने बाध्यता रहेको उनले जानकारी दिए ।

प्रकाशित : असार ६, २०७६ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्

१३ विद्यार्थीलाई छात्रवृत्ति

कान्तिपुर संवाददाता

धादिङ — जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिका २ स्थित सल्यानटार माविमा अध्ययनरत गरिब तथा जेहेनदार १३ जना छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ । जर्ज गाल एण्ड नन्दलाल स्मृति छात्रवृत्ति कोषमार्फत प्रदान गरिएको सहयोग पाउनेमा ३ कक्षादेखि १२ कक्षासम्मका ७ छात्रा र ६ छात्र छन् ।

इटलीमा बसोबास गर्दै आएका सल्यानटारका स्थानीय राजन बुर्लाकोटी र इटलियन नागरिक जर्ज गालको सहयोगमा सल्यानटार माविका विद्यार्थीलाई २०७१ सालदेखि छात्रवृत्ति प्रदान गरिँदै आएको छ । चालू शैक्षिक क्षेत्रका लागि कक्षा ९ मा अध्ययनरत छात्रा कन्चन श्रेष्ठलाई १० हजार १० रुपैयाँ उपलब्ध गराइएको छ । अन्य १२ जनालाई ६ हजारका दरले छात्रवृत्ति प्रदान गरिएको हो । कक्षा १२ र ६ मा अध्ययनरत ३–३ जना, कक्षा १० र ९ मा अध्ययनरत २–२, कक्षा ८ का १ र कक्षा ३ का १ विद्यार्थीलाई विद्यालयको सिफारिसमा छात्रवृत्ति प्रदान गरिएको कार्यक्रम संयोजक रविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

छात्रवृत्ति पाउनेमा दीपेन्द्र शर्मा, सुस्मा बिक, नरेश श्रेष्ठ, पविना तामाङ, विशाल थपलिया, राहुल सुनार, सपना सुर्खेती, निर्मला कुमाल, पुनम नेपाली, दिनेश कुमाल, कपिल कुमाल र गंगा कँडेल छन् । कोषले २०७१ सालमा ६ जना विद्यार्थीलाई छात्रवृत्ति दिन सुरुआत गरेको थियो । त्यसबाहेक बुर्लाकोटीकै सक्रियतामा फ्रान्सको मोन्टान एट पार्टेज नामक संस्थाले आर्थिक सहयोग गरेपछि भूकम्पबाट क्षतिग्रस्त विद्यायलको ८ कोठे भवन निर्माणपछि हस्तान्तरण गरिएको थियो ।

नयाँ भवनमा सम्पूर्ण सुविधासहित पुस्तकालय र कम्प्युटर ल्यापको व्यवस्था पनि सोही संस्थाले गरेको थियो ।

प्रकाशित : असार ६, २०७६ १८:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्