अष्ट्रेलियाको 'हार्मोनी डे' मा नेपाली संस्कृति देखाइयो

नारायण खडका

अष्ट्रेलिया — विविध कला र संस्कृति मनाउने र अष्ट्रेलियामा बसोबास गर्ने सबैको कला र संस्कृतिलाई एक आपसमा चिनाउने उद्देश्यका साथ अष्ट्रेलियाभरी मनाइने 'हार्मोनी डे' मा नेपालीहरुले सहभागिता जनाएका छन् ।

अष्ट्रेलियाको 'हार्मोनी डे' मा नेपाली संस्कृति देखाइयो

विश्वका बिभिन्न देशबाट आएका व्यक्तिहरुको कला र संस्कृतिलाई सम्मान र महत्व दिइने गरिएको यो उत्सव बर्षमा एकपटक अष्ट्रेलियाभरि मनाउँदै आइएको छ । 'हार्मोनी डे' का दिन बिभिन्न देश र समुदायबाट आएका बालबालिका र युवाहरुले आफ्नो कला संस्कृति अनुरुपको नृत्य, कला, संगीत, खानाका साथै अन्य विविध सांस्कृतिक पक्षहरुलाई सबै सामु प्रस्तुत गर्ने गर्दछन् । सोही दिवस मनाउने क्रममा सिड्नीको उत्तरी भेग हर्नस्बीका नेपाली बालबालिकाहरुले समेत नेपाली कला र संस्कृति झल्क्ने नृत्य र संगीत प्रस्तुत गर्दै सहभागीता जनाएका छन् ।
दर्जनौं नेपालीहरुसहित विश्वभरिका करिब ३ दर्जन बढी देशको सहभागिता रहेको उक्त कार्यक्रममा नेपाली बालबालिकाहरुले परम्परागत भेषभुषामा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा अन्य देशका कला र संस्कृति झल्कने विभिन्न सांगितिक प्रस्तुतीहरु समेत देखाइएको थियो । उक्त कार्यक्रममा बिभिन्न उमेर समूहका नेपाली बालबालिकाहरुले आधा दर्जन नेपाली नृत्यहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रमको कोरियोग्राफी गरेकी निता केसीले यस कार्यक्रमले आफ्नो कला र संस्कृतिका बारेमा अन्य समुदायका ब्यक्तिहरुलाई जानकारी दिन मद्दत पुगेको बताइन् । करिब दुई सातादेखि तयारी गरिएको र उक्त तयारी अनुरुप साना नेपाली बालबालिकाहरुले प्रस्तुत गरेको सांगितिक प्रस्तुती सबैले मन पराएको उनले जानकारी दिइन् ।
अष्ट्रेलिया सरकारले प्रत्येक बर्ष मनाउने यो कार्यक्रम सन १९९९ बाट सुरु गरिएको हो । यो कार्यक्रम यहाँका बिद्यालय, सामाजिक संस्था, व्यवसाय र स्थानीय सरकारी निकायहरुमा समेत उल्लासका साथ मनाइन्छ ।


प्रकाशित : चैत्र १७, २०७० ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?