खुस्बु मिस नेपाल यूएसए

न्युयोर्क — मिस नेपाल यूएसएको चौथो संस्करणको उपाधि खुस्बु मिश्रले जितेकी छन्। ओहायोमा बसोबास गर्दै आएकी खुस्बुले १४ प्रतिस्पर्धीलाई पछि पारेकी हुन्।

उपाधिसँगै उनले पाँच हजार डलर बराबरको छात्रवृत्तिसहित नेपाल आउने जाने हवाई टिकट पाएकी छन्।
आयोजकका अनुसार, खुस्बुले सुरज सुब्बा नाल्बोको आउँदो फिल्म 'मिस नेपाल यूएस' मा अभिनय गर्ने अवसर समेत प्राप्त गरेकी छन्। अमेरिकामा नेपाल प्रवर्द्धन गर्न र नेपाली मूलका अमेरिकी तथा नेपालबाट अमेरिका आएका तन्नेरीको प्रतिभा पर्गेल्ने उद्देश्यले चार वर्षदेखि इप्लानेट नेपाल र अमेरिकाको इभेन्ट प्लानेट इन्कले प्रतियोगितालाई निरन्तरता दिँदै
आएका हुन्।
प्रतियोगितामा क्यालिफोनिर्याकी सुषमा शर्मा फस्ट रनर अप र नोरउडकी सुषमा अधिकारीले सेकेन्ड रनर अपको उपाधि चुमे। उनीहरूले क्रमशः तीन हजार र दुई हजार अमेरिकी डलर बराबरको छात्रवृत्ति प्राप्त गरेका छन्।
यस वर्षको प्रतियोगिताको टिकट बिक्रीबाट संकलित रकममध्येको १० प्रतिशत हालै सिन्धुपाल्चोकका बाढीपीडितहरूलाई राहत स्वरूप प्रदान गरिने आयोजक अमित शाहले जनाए। यस अघिका मिस नेपाल यूएसएको उपाधि सुजिता बस्नेत, आस्था श्रेष्ठ तथा वर्तिका राईले जितेका थिए।
एनआरएन अध्यक्ष शेष घले, संयुक्त राष्ट्रसंघका लागि नेपाली राजदूत दुर्गाप्रसाद भट्टराईसहितको उपस्थितिमा भएको प्रतियोगितामा अतिथि कलाकारका रूपमा गायक हेमन्त राना, भीम निरौला तथा नृत्यकार धरमवीर लामाले प्रस्तुति दिएका थिए।
 

प्रकाशित : भाद्र १३, २०७१ ०९:४१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

इरफानसँग

काठमाडौ — अभिनेत्री ऐश्वर्या राय र अभिनेता इरफान खानमा फिल्म क्षेत्रबाहेक के समानता होला? दुवै अन्तर्राष्ट्रिय स्तरमै चिनिएका बलिउडका अनुहार हुन्।

यी दुवै कुनै पनि फिल्ममा सँगै देखिएका छैनन्। निर्देशक सञ्जय गुप्ताले त्यो अपवाद तोडन लागेका छन्।
ऐशले सन् २०१० यता कुनै फिल्म खेलेकी छैनन्। मातृत्व सुखमा रमाइरहेकी अभिनेत्री पछिल्लो चोटि हृतिक रोशनको अपोजिटमा 'गुजारिश' मा देखिएकी थिइन्। सञ्जयको फिल्मबाट उनले कमब्याक गर्दै छिन्। अहिलेसम्म 'जज्बा' भनी प्रचार गरिएको त्यो फिल्ममा जोन अब्राहमको छनोट भइसकेको छ। सबै कुरा यथावत् रहे जोनसँग पनि ऐशको यो पहिलो फिल्म हुनेछ। अर्को मेल लिड रोलका लागि इरफानको चयन भएको खबरहरूमा उल्लेख छ।
यो फिल्मको सुटिङ सुरु भइसकेको छैन र ऐश सपरिवार कबड्डी म्याचमा रमाइरहेकी छन्। खेल्नमा होइन, हेर्नमा। क्रिकेटकोझैं गरी भारतमा अरू खेलका पनि फ्रेन्चाइजीहरू सुरु भएका छन्। उनका अभिनेता पति अभिषेक बच्चनले कबड्डीको जयपुर टिम किनेका छन्।
खबर अनुसार, 'जज्बा' मा ऐश वकिलको भूमिकामा देखिनेछिन्। इरफानले निलम्वित प्रहरी बन्नेछन् भने जोन ग्याङस्टर। नीला आँखावाली कुनै बेलाकी विश्व सुन्दरी इजलासमा तर्क-वितर्क प्रस्तुत गरिरहेको देखिनु रोचक हुन सक्छ।

 

प्रकाशित : भाद्र १३, २०७१ ०९:४०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT