२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

खाडीमा चम्कँदै कतार

होम कार्की

दोहा (कतार) — 'कतार कत्रो छ ?' यहाँ पहिलो पटक आउनेको एउटै जिज्ञासा हुन्छ- 'हाम्रो वाग्मती अञ्चल जत्रै होला ?'

खाडीमा चम्कँदै कतार
क्षेत्रफलको हिसाबले ११ हजार ५ सय ७१ वर्गकिलोमिटरमा फैलिएको छ । 'सानो भएर के भयो र ?' अर्का थरीको बुझाइ छ- 'मोती जसरी नै चम्किँदै छ ।' सन् १९८७ तिर आइपुगेका तनहुँका करिम मियाँको अनुभवले पनि यही भन्छ- 'हामी आउँदा के थियो र ? ३० वर्षको बसाइमा कतारले यसरी छलाङ मार्‍यो कि हेर्दाहेर्दै के भइदियो ?'
त्यही भएर होला अहिले कतारले आफ्नो वास्तविक रूपमा देखाउन पहिलाका घरहरूको संरक्षण गर्न थालेको छ । 'सानो भुईंतलाको माटाले बनाएको पहेंलो रंगको घर । ससाना दुई वटा कोठा । अगाडि मस्जिद ।' यही रूपबाट अगाडि बढेको कतारको भौतिक संरचना अग्ला अग्ला गगनचुम्बी भवनमा आइपुगेको छ ।
गगनचुम्बी भवन मात्रै ठडिएनन् । यो मुलुकले शिक्षा, स्वास्थ्य, बाटोघाटो, यातायातका सुविधाहरूमा छलाङ नै मार्‍यो । २० वर्षअगाडि सुरु हवाई सेवा सय देशमा फैलियो । अन्तर्राष्ट्रिय मापदण्डअनुसारको स्वास्थ्य सेवा दिने अस्पताल बन्यो । हाइवे रोडहरू विकास भए । केही वर्षमा रेल गुड्दै छ । त्यसका साथै अबको ५ वर्षमा विश्वभरका खेलाडी आएर विश्वकप खेल्दै छन् । '१५/२० वर्षभित्र यसरी द्रुतगतिको विकास एउटा पुस्ताले देख्न पाउनु चानचुने होइन,' जनकपुरका सुनील मण्डल भन्छन्, 'यस्तो सबै देशका जनता भाग्यमानी हुँदैनन् ।'
सयभन्दा बढी देशका १८ लाख आप्रवासीको रोजीरोटी र गरिखाने ठाउँ हो कतार । यहाँ झन्डै चार लाख नेपाली छन् । आर्थिक अवस्थाले निकै मजबुत बनेको यो देशको कुल गार्हस्थ उत्पादन २१३.७८४ अमेरिकी बिलियन डलर छ । प्रतिव्यक्ति आय एक लाख दुई हजार ७ सय ८५ अमेरिकी डलर छ ।
कतारले आफ्नो देशको जग बसेको १८ डिसेम्बर १८७८ लाई मान्ने गरेको छ । त्यतिखेरका अमिर शेख जसिम बिन मोहमद बिन अलथानीले विभाजित समुदायलाई एकतामा बाँधेर अगाडि बढाउन सफल भए । त्यही जगको सम्झनामा हरेक डिसेम्बर १८ मा राष्ट्रिय दिवस भव्यसाथ मनाउँदै छ ।
अरब मुलुकमा चलेको द्वन्द्वमा पनि कतारका जनतालाई एकतामा बाँधेर देशलाई जोगाइराख्न अमिर शेख जसिमले गरेको उपलब्धिपूर्ण कार्यको सम्झना यो दिवसमा गरिने राष्ट्रिय मूल समारोह आयोजक समितिले बताएको छ । 'शेख जसिमसँग थोरै जनशक्ति थियो । स्रोतहरू कम थिए । व्यक्तिगत नेतृत्वले कतारीका चिन्ताहरूलाई अविश्वासनीय ढंगले हटाइदिए,' समितिले भनेको छ, 'यो सब
सही निर्णय लिन सक्नुका साथै द्वन्द्वलाई सफल रूपमा मिलाउन सक्नुको परिणाम हो, जसले मुलक र आम जनतालाई फाइदाको दिशामा अगाडि बढाउन सहयोग पुर्‍यायो ।' यही जगमा उभिएको कतारले हरेक दिन फड्को मारिरहेको छ ।
'ग्यास र प्रेटोलियम पदार्थको उत्पादन र उत्खनन प्रक्रिया नै देशको आर्थिक सुदृढीकरणमा कोसेढुंगा सावित भयो,' नेपाली जनसम्पर्क समिति कतारका अध्यक्ष विमल सुवेदी भन्छन्, 'राजनीतिक स्थिरता, देशको कानुन र आर्थिक लगानी जस्ता पक्षले छोटो समयमै हासिल भएका विकासका उदाहरण हुन् ।'
कतारको विकासमा प्रवासीको भूमिका पनि अतुलनीय छ । 'प्रवासीको योगदानलाई कतार सरकारले सोचे जस्तै बनाउन सफल भएको छ,' तनहुँका झलक पाण्डे भन्छन्, 'स्रोत भएर मात्र हुँदैन त्यसलाई उपयोग गर्नका लागि श्रम शक्तिको पनि खाँचो पर्छ । जुन प्रवासीहरूले खर्चिरहेका छन् । उसले प्रवासीको योगदानलाई भुल्न हुँदैन ।'



प्रकाशित : पुस ३, २०७१ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?