३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कोरियामा कम्पनीले निकालेपछि नेपाली कामदारको बिचल्ली

सोल — ईपीएसबाट रोजगारी गर्न कोरिया आएका दुई नेपाली कामदारलाई कम्पनीले निकाली दिएपछि बिचल्लीमा परेका छन् । सोलुखुम्बुका बालकुमार मगर र रसुवाका ग्याल्जेन लामालाई ११ दिनअघि कम्पनी मेनेजरले दुर्व्यवहार गर्दै निकालेपछि बेखर्ची र बिचल्ली भएका हुन् ।

कोरियामा कम्पनीले निकालेपछि नेपाली कामदारको बिचल्ली

ख्यंगीदो सिहुङ सि गोरिम दोङमा रहेको कुलिम हाइटेक नामक कम्पनीमा ८ महिनाअघि आएका उनीहरुलाई मेनेजर किम सङ सामले सोमबार लछारपछार गर्दै दुव्र्यवहार गरेका छन् । सोमबार बिहान बाँकि रहेको ढेड महिनाको तलब भत्ता लिन र कम्पनी परिवर्तन गर्नका लागि अनुमति पत्र माग्न उनीहरु त्यहाँ पुगेका थिए ।
मेनेजर सामले उनीहरुलाई कम्पनी भित्र प्रवेश नगर्न आदेश दिंदै कम्पनि भित्र प्रवेश गरेर कुनै समान छोए चोरी अभियोगमा प्रहरीलाई खबर गर्ने धम्कि दिएका थिए । बेखर्ची अवस्थामा सोलमा भेटिएका उनीहरुले भाषा कठिनाइका कारण यसअघि पनि पटकपटक कम्पनीले आफूलाई ठगेको बताए ।
गत जुलाईमा कम्पनीभित्र काम गर्दागर्दै दाहिने हात भाँचिएका ग्याल्जेनले कोरियन भाषा नजानेकै कारण कम्पनीले गलत प्रतिवेदन बनाएर आफूले क्षतिपूर्ति नपाएको खुलाए । 'काम गर्दागर्दै फलाम झरेर दाहिने हातको हड्डी भाँचिएको थियो । तर, मेनेजरले कम्पनी बाहिर दुर्घटनामा परेको प्रतिवेदन तयार गरेर क्षतिपूर्ति पाउनबाट बन्चित गरायो ।' उनले भने,'चिकित्सकहरुले ६ हप्ता आराम गर्न सिफारिस गरेका रहेछन् । तर मलाई ९ दिन मै काममा लगायो ।' एउटा हातले काम गरिरहेको अवस्थामा ११ दिन अघि गलहत्याएर मेनेजरले आफूलाई निकालेको गुनासो ग्याल्जेनको थियो ।
पाउनुपर्ने रकम समेत नपाएपछि बिचल्लीमा परेका उनीहरुलाई कानुनी सहायताका लागि व्यवसायी तेन्जिङ लामाले सहयोग गरिरहेका छन् । काम सर्ने अनुमति पत्र नपाएकाले उनीहरु अप्ठ्यारोमा परेको व्यवसायी लामाले बताए । कम्पनी छोडेकाले ३ महिनाभित्र अर्को काम नपाए स्वत अवैधानिक हुने नियम छ ।
ईपीएस नियमावलीमा ४ बर्ष १० महिनामा ३ पटक कार्यक्षेत्र परिवर्तन गर्न सकिने र कम्पनी परिवर्तन गर्दा पहिलो कम्पनीको अनुमति अनिवार्य चाहिने उल्लेख छ । कोरियाका मानव अधिकारवादी तथा मजदूर नेताहरुले सरकारसँग ईपीएसको उक्त बुँदा परिमार्जन गरेर कामदारलाई कम्पनि परिवर्तन गर्ने स्वतन्त्रता दिनुपर्ने माग गर्दै आएका छन् ।
दुर्घटनामा परेका ग्याल्जेनलाई काममा सहयोग गरेकै कारण बालकुमार कम्पनीबाट निकालिएका हुन् । साथीलाई सहयोग गरेदेखि कम्पनीले आफ्नो काम बढाई दिएको उनले बताए । नट बल्टू बनाउने सो कम्पनीमा यसअघि दिनेश लामा र मात्रिका लिम्बुलाई पनि दुर्व्यवहार गरेरै कम्पनिबाट निकालिएको थियो ।





प्रकाशित : पुस ८, २०७१ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?