१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

युरोपबाट नेपाल जान हवाइ भाडा तेब्बर वृद्धि

नविन पोखरेल

लन्डन — यतिखेर सर्वत्र क्रिसमस र अंग्रेजी नयाँ वर्षको माहोल छ । स्कुल कलेज एवं विश्वविद्यालयमा समेत अहिले जाडो विदा भएकाले यही मौका छोपी एयरलाइन्स् कम्पनीले भाडा तेब्बर वृद्धि गरेका छन् ।

युरोपबाट नेपाल जान हवाइ भाडा तेब्बर वृद्धि


सामान्यतया नेपाल जान पाँच सय पाउण्ड पर्ने टिकट मुल्य यो 'फेस्टिभ सिजन' मा १६ सय पाउण्डसम्म पुगेको नेपाली व्यवसायीले बताएका छन् । 'एयरलाइन्स्हरुको हाइ यिल्ड जेनेरेट (बढी मुनाफा) गर्ने बेला नै यही हो,' लन्डनस्थित एउटा व्यस्त ट्राभल एजेन्सी ट्राभल कन्सोलका प्रवन्ध निर्देशक विराज भट्ट भन्छन्, 'नेपाल जाने सिधा उडान नभएपनि एयरलाइन्सका नेटवर्क व्यस्त हुने भएर चाडपर्वका बेला भाडा महँगो पर्न जान्छ ।'

युरोपबाट नेपालीहरुको रोजाइ विशेषगरि जेट, कतार, टर्किस्, ओमान, इत्तेहाद एयरवेज र एयर इण्डिया छ । डिसेम्बर दुई साता क्रिसमस, नयाँ वर्ष र जाडो विदा, फेब्रअरी दुई साता बच्चाहरुको स्कुल विदा (हाफ टर्म), अप्रिल मार्च दुई साता इष्टर होलिडे, मे हाफ टर्म, जुन देखि अगष्टसम्म ६ साता समर होलिडे र अक्टोबर एकसाता हाफ टर्मका बेला भाडा दोब्बर तेब्बरसम्म हुने व्यवसायीको अनुभव छ ।

जाँदा भाडा सस्तो (लो) भएपनि सेप्टेम्बर पहिलो साता स्कुल सुरु हुने बेला र क्रिसमस होलिडे मनाउन जानेहरु जनवरी पहिलो साता (१० तारिखसम्म) एकैचोटी र्फकंदा भाडा महँगो पर्न जाने व्यवसायी बताउँछन् ।

उल्लेखित विदा छलेर अफ सिजनमा टिकट बुक गरे भाडा सस्तो पर्ने बताउँछन् व्यवसायी । यात्राको टुंगो लागेपछि ६-७ महिना अगाडि नै बुक गरे धेरै सस्तो हुने भट्टले जनाए ।

देउराली ट्राभल्स्का निर्देशक आशिष पन्त भाडा बढ्नुमा नेपालको रनवे क्षमता र विमानस्थलको अवस्था पनि कारण देख्छन् । 'माग बढे पनि एयरलाइन्सहरुले एकैचोटी धेरै यात्रु बोक्ने ठूला विमान लान नसक्दा भाडा बढेको छ,' पन्तले भने, 'ओमान र टर्किसले कुहिरोमा पनि ल्याण्ड गर्न मिल्ने एन्टी फोग सिस्टमयुक्त अत्याधुनिक र ठूला विमान नेपाल लान खोजे पनि सकिरहेका छैनन् ।'

बेलायतमा लाख भन्दा बढि नेपाली रहेका र युरोप अमेरिकाबाट बेलायत हुँदै नेपाल जाने विदेशी पर्यटकहरुको संख्या वर्षेनी करिब डेढ लाख रहेको अनुमान छ । सन् २०१४ मा विश्वभरका हवाइ यात्रुहरुबाट ६ सय बिलियन डलर राजश्व संकलन भएको एक तथ्यांक छ ।


प्रकाशित : पुस १०, २०७१ १९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?