बेलायती किशोर किशोरीको आँखामा नेपाल

कान्तिपुर संवाददाता

लन्डन — उनीहरु न नेपाल घुमेका छन्, न नेपालबारे ज्ञाता हुन् । उमेर केवल १६ देखि १८ (अण्डर एज) हाराहारी छ ।

बेलायती किशोर किशोरीको आँखामा नेपाल
बेलायती समाजमा हुर्के बढेका ती किशोर किशोरीले नेपाल नदेखिकनै डोरसेटमा कला प्रदर्शन गरेका छन् । 
बोर्नमाउथ एण्ड पुल कलेजमा डिजाइन एण्ड क्रियटिभ आर्टस् विषय अध्ययनरत विद्यार्थीले इन्टरनेट र नेपाल बुझेका एकजना बेलायती एलान स्यांकाको सहारा लिएर कला प्रदर्शनी गरेका हुन् । यूके नेपाल फ्रेण्डसीप सोसाइटीका अध्यक्ष हुन् स्यांका । प्रदर्शनीमा कलेजका झण्डै दुई सय विद्यार्थीको संलग्नता छ ।   
झण्डै तीनवर्षको अथक प्रयासपछि उनीहरु नेपालका हिमाल, बुद्ध र हिन्दू देव देवता तथा नेपाली कलासंस्कृति र परम्पराबारे चित्र कोर्न सफल भए । नेपालका विभिन्न जातजातिका भेषभूषा, परिकार, घरायसी प्रयोगका भाँडावर्तन आदिका चित्र समेत समेटेका छन् उनीहरुले । परम्परागत वाद्यवादन सामाग्री देखि मौलिक पर्वमा समेत उनीहरुको कला केन्द्रित छ । ‘ह्वाइट फेस होस्टेल’ नामको एउटा चित्रमा उनीहरुले ‘खैरे’ लेखेर सेतो नश्लका मानिसलाई नेपालमा खैरे भनिनेबारे समेत चित्रित गरेका छन् । 
बोर्नमाउथ एण्ड पुल कलेजतथा यूके नेपाल फ्रेण्डसिप सोसाइटी अन्तर्गत नेपाल आर्ट इनिसियटिभ प्रोग्रामको आयोजनामा बुधबार डोेरसेटस्थित कलेजको डिजिटल डिजाइन सेन्टरमा नेपालबारे कला प्रदर्शनी आरम्भ भयो ।
प्रदर्शनी अवलोकन गर्न पुगेका लन्डनस्थित नेपाली कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीले बेलायती विद्यार्थीको नेपाल मोह देखेर आफू प्रभावित भएको बताए । ‘हामी आफैंले गर्नुपर्ने काम बेलायती किशोर किशोरीले यति मेहनतसाथ गरेर नेपाललाई विश्वसामु चिनाएका छन्’, क्षेत्रीले कान्तिपुरसँग भने, ‘दूतावासले उनीहरुको कलालाई अरु विभिन्न ठाउंमा समेत प्रवद्र्धन गर्ने सोच राखेको छ ।’ उनले नेपालको साहसिक मात्र होइन, सांस्कृतिक र धार्मिक पर्यटनमा पनि उत्तिकै सम्भावना रहेको औंल्याए ।
उक्त प्रदर्शनीमास्थानीय डोरसेट काउन्सिल मेयर, गैर आवासीय नेपाल संघ यूकेका सचिव अर्जुन कटुवाल, ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजन कँडेल, यूके नेपाल फ्रेण्डसीप सोसाइटीका अध्यक्ष एलान स्यांका, कलेजका प्रिन्सिपल र विद्यार्थी, अभिभावकहरुसहभागी थिए । उक्त अवसरमा पावर पोइन्टमार्फत नेपालबारे थप जानकारी दिइएको थियो । 
बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको दुई सय वर्ष गाँठका अवसरमा निजी पहलबाट गरिएको यस प्रोजेक्टले आपसी सम्वन्ध थप मजवुत बनाउने अपेक्षा छ । 

प्रकाशित : फाल्गुन २१, २०७१ १९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?