रिहर्सलमा व्यस्त बेलायती विश्वविद्यालयका नेपाली तन्नेरी

कान्तिपुर संवाददाता

लन्डन — बेलायतको विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई यतिखेर नाटक प्रतियोगिताको खुबै चटारो छ । भ्यालेन्टाइन डे समेत वेवास्ता गरेर ति तन्नेरीहरु रिहर्सलमै व्यस्त भए ।

 रिहर्सलमा व्यस्त बेलायती विश्वविद्यालयका नेपाली तन्नेरी

केन्ट नेपलिज सोसाइटीले गर्न लागेको दोश्रो अन्तर विश्वविद्यालय नाटक प्रतियोगिताले युवाहरुको व्यस्तता चुलिएको हो । केन्ट इन्लाइटेन्स नेपाल (केन) नाम दिइएको उक्त प्रतियोगिता आगामी २६ फेब्रुअरी केन्ट विश्वविद्यालयस्थित गलबेनकियन थिएटरमा हुने तयारी छ ।

प्रतियोगिताको उद्देश्य बेलायतमा रहेका नेपाली युवालाई एकै थलोमा ल्याएर नेपाली कला, संस्कृति, सम्पदा र नेपाली समाजका कुरिति उजागर गर्दै जनचेतना जगाउने छ ।

यस पटक युनिभर्सिटी अफ केन्ट, युनिभर्सिटी अफ सरे, सिटी एण्ड क्विन्स् लन्डन युनिभर्सिटी, मिडलसेक्स युनिभर्सिटी र युनिभर्सिटी अफ मेडवे गरि ५ वटा विश्वविद्यालयका विद्यार्थी नाटकमा प्रतिष्पर्धा गर्दैछन् । कलिला तन्नेरीको रोजाइमायसपटक छन् गहन विषय । छाउपडी प्रथा, छुवाछुत, सती प्रथा, अन्तरजातीय विवाह, भूकम्प र राजनीति जस्ता विषयमा नाटक प्रस्तुत गर्ने तयारी विद्यार्थीले गरिरहेका छन् ।

निर्णायकको जिम्मेवारी समिर गुरुङ, गौमाया गुरुङ र शशीकला थापाको काँधमा छ ।

प्रतियोगिताको दोश्रो वर्ष नै सकारात्मक प्रतिक्रिया, बढ्दो सहभागिता र सहयोग प्राप्त भएर उत्साहित छन् सोसाइटीकी अध्यक्ष समीपा श्रेष्ठ । ‘बेलायतको नेपाली डायस्पोराले उल्लेख्य साथ दिएको छ’, श्रेष्ठले भनिन्, ‘हामी युवाहरु विदेशमा रहेपनि चिन्ता र माया मातृभूमिकै छ । त्यसकारण आफ्नो कला, संस्कृति जीवन्त राख्ने र नेपाली समाजलाई परिवर्तन गराउने सानो प्रयास हो यो ।’

गत वर्ष तीनवटा विश्वविद्यालय प्रतियोगितामा सहभागी थिए र नाटकका तीन विषय थिए भूकम्पपछि युवा सशक्तिकरण, एसिड आक्रमण र नेपालबाट यूके बसाइ सराईंपछिको परिवर्तित जीवन ।

नाटकको टिकट बिक्री गरेर आएको मुनाफा नेपालमा माया फाउण्डेशनमार्फत समाजसेवामा खर्च गर्ने यी तन्नेरीको सोच छ । गत वर्ष सोसाइटीले करिब दुई लाख रुपैयाँ प्रदान गरेर नेपालमा तीनसाता भन्दा बढी स्वयंसेवा गरेको थियो ।

प्रकाशित : फाल्गुन ५, २०७३ १८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?