कहिल्यै सुत्दैन बेलायत

नविन पोखरेल

लन्डन — अँध्यारो भएपछि आफ्नो घरभित्रै बस्ने संसारका कयौं ठाउँभन्दा २४ सै घण्टा नसुत्ने मुख्य सहरहरु बढ्ने क्रम जारी छ । त्यो पंक्तिमा छ, लन्डनसहित बेलायती प्रमुख सहर पनि । खासमा कहिल्यै सुत्दैन बेलायत । बढ्दो नाइट लाइफ कल्चरले बेलायत मनोरञ्जन साथै व्यापार अभिवृद्धि र रोजगारी दिन उत्तिकै सफल छ ।

कहिल्यै सुत्दैन बेलायत

बेलायतको रात्री व्यवसाय करिब ७० अर्ब पाउन्ड बराबर रहेको तथ्यांक छ । रात्री क्लब, बार, रेष्टुरेन्टहरुले सरकारको राजश्वमा महत्वपूर्ण योगदान दिइरहेका छन् । रात्री समय काम गर्ने व्यवसायीहरुको संघका अनुसार बेलायतको कूल ग्राहस्थ उत्पादन (जीडिपी)को ६ प्रतिशत योगदान रात्री व्यवसायले गरेको छ भने यसले करिब १३ लाख मानिसलाई रोजगारी दिएको छ ।

रातको समयमा मनोरञ्जन गर्ने बेलायती संस्कारको एक अभिन्न अंग नै हो । यसै कुरालाई ध्यानमा राखी लन्डनभर जमिनमुनी गुड्ने रेल (अन्डरग्राउण्ड) सेवा विकेन्डमा चौबिसै घण्टा विस्तार गरिएको छ । यस्तो रात्री रेल सेवा विस्तारले वार्षिक ३६ करोड पाउन्ड बेलायती अर्थतन्त्रमा सहयोग पुग्ने बताइएको छ ।  

बेलायतमा रात्रीकालीन समयमा मानिस सामाजिक जमघट गरी मनोरञ्जन लिने प्रचलन छ । राजधानी लन्डनमा हजारौं बार, क्लब, पब, लाउन्ज छन् । विशेषगरी, सेन्ट्रल लन्डनका सोहो, कोभेन्ट गार्डेन, लेस्टर स्क्वायर, पिकाडेली सर्कस नाइट लाइभका प्रमुख केन्द्र मानिन्छ । वीकेन्डमा त बेलायती रातभर झुमिरहेका हुन्छन् नसा र संगीतमा ।

रातको समयमा मदिरा सेवन तथा लागूऔषधबाट हुने अपराध बढ्नुको सट्टा रात्रीकालीन अर्थतन्त्रले अपराध सन् २००२ भन्दा ३८ प्रतिशत न्यून भएको तथ्यांकले देखाएको छ । यसका साथै रातमा व्यापार हुने स्थानहरु अरु सुरक्षित बन्दै गएको पनि जनाइएको छ । रात्रीकालीन अर्थतन्त्रको नियमलाई थप कडाइ गर्दा अत्यधिक मदिरा सेवन अथवा हिंसात्मक अपराध कम भएको प्रमाण नदेखिएको व्यवसायी संघले बताएको छ । अधिक मदिरा तथा लागूऔषधको सेवन नाइट क्लब, पब, रेस्टुरेन्ट आदि ठाउँभन्दा बाहिर बढी हुने भएकाले रात्रीकालीन व्यापारले यस्तो कार्य बढाउने काम नगरेको जिकिर संघको छ । संघले बेलायती सरकारलाई योजना तथा लाइसेन्सको नियमलाई पुनरावलोकन गर्न आग्रह समेत गरेको छ ।

बेलायतमा ८ मा एकजना रातको समयमा काम गर्ने गरेको नयाँ तथ्यांकले देखाएको छ । राती काम गर्नेको संख्या तीन करोडभन्दा बढी भएको र यो संख्या बढ्ने क्रम जारी रहेको तथ्यांकले देखाएको छ । महिलाहरु केयर, वेट्रेस, नर्सिङमा छन् भने पुरुषहरु सेक्युरिटी, पुलिस र यातायातमा काम गर्ने पाइएको छ ।

बेलायती ट्रेड युनियनको मत भने अलिक फरक छ । उसले रात्रीकालीन कामले पारिवारिक जीवन अवरोध भएको बताउँदै राती काम गर्ने कामदारको योगदानको थप कदर हुनुपर्ने बताएको छ र उनीहरुको अधिकार तथा सुरक्षा सुनिश्चित गरिनुपर्नेमा समेत जोड दिएको छ ।

रात्रीकालीन समयमा नियमित काम गर्ने मानिसको स्वास्थ्यबारे अत्यधिक बहस हुँदै आएको छ । राती ११ देखि बिहान ६ बजेसम्म तीन घण्टाभन्दा बढी काम गर्नेलाई रात्री कामदार भनेर बेलायत सरकारले वर्गीकरण गरेको छ । अल्पसंख्यक तथा आप्रवासी पृष्ठभूमिका मानिस तथा युवाहरु नै बढी राती काम गर्ने कामदार छन् ।

व्यस्त जीवनमा आ-आफ्नो रोजाईअनुसार जुनसुकै समयमा मनोरञ्जन लिने स्वतन्त्रता भए अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सक्ने बेलायतले प्रमाणित गरेको छ । तर, रातीमा हुने विकृति निस्तेज गरी अपराध कम गर्नु सबैको दायित्व भएको बेलायत ट्रेड युनियनको धारणा छ ।

प्रकाशित : फाल्गुन ६, २०७३ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?