‘बेलायती प्रधानमन्त्री मेको नेपाल भ्रमण गराउन प्रयास गर्नेछु’

नवीन पोखरेल

लन्डन — ब्रिटेनको सत्तारुढ दल कन्जरभेटिभका एकजना प्रभावशाली सांसद तथा पूर्वमन्त्री सर जेराल्ड होवार्थले ब्रिटिस प्रधानमन्त्री टेरेजा मेको नेपाल भ्रमणका लागि आफूले पहल गर्ने वचन दिएका छन् ।

‘बेलायती प्रधानमन्त्री मेको नेपाल भ्रमण गराउन प्रयास गर्नेछु’

नेपाल ब्रिटेन सम्बन्धको २०० वर्ष पूरा भएको अवसरमा लन्डनस्थित नेपाली दूतावासद्वारा बिहीबार आयोजित अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि होवार्थले उक्त आश्वासन दिँदै नेपाल ब्रिटेनको एक भरपर्दो मित्र रहेको बताए ।

बेलायत नेपाल सम्बन्धको २०० वर्षगाँठ समापन भइरहँदा कुनै पनि ब्रिटिस प्रधानमन्त्रीले नेपालको भ्रमण गरेका छैनन् । दुईसय वर्षगाँठ पूरा भएपछि दूतावासले यस्तो कार्यक्रम गरेको हो । यसअघिका राजदूतले दुईसय वर्ष नहुँदै वर्षगाँठ आरम्भ गरेका थिए भने बीचमा राजदूत नै थिएनन् । अहिले राजदूतले वर्षगाँठ सकिएपछि कार्यक्रम गरिरहेका छन् ।
 
भूतपूर्व गोर्खाहरुको बाक्लो बसोबास रहेको अल्डरसट क्षेत्रको प्रतिनिधित्व गर्ने होवार्थले भूतपूर्व गोर्खा सैनिक र तिनका परिवारले नगरको विकासमा ठूलो योगदान पुर्‍याएको बताए । स्कुल, कलेजमा पढ्ने भूतपूर्व गोर्खाका छोराछोरीहरुले राम्रो गरिरहेको र त्यसबाट अरु ब्रिटिस बालबालिकालाई पनि उत्प्रेरणा मिलेको उनले बताए । सर होवार्थले सन् १९६० यता ब्रिटिस सरकारले नेपाललाई झण्डै दुई अर्ब डलरबराबर सहायता दिएको स्मरण गर्दै नेपालको विकासमा सघाउन पाएकोमा खुसी व्यक्त गरे । गत बीस वर्षदेखि सांसद रहेका होवार्थ अन्तर्राष्ट्रिय सुरक्षा रणनीति हेर्ने भूतपूर्व मन्त्री पनि हुन् । ब्रिटेनले युरोपेली संघ छाड्नु पर्छ भन्ने पक्षमा मतदान गरेका होवार्थले ब्रेक्जिटपछि ब्रिटेनले नेपालजस्ता मित्रहरुसँग अरु निकट सम्बन्ध कायम राख्ने पनि बताए । उनले प्रधानमन्त्री मे ले राम्रो काम गरेको भन्दै उनको प्रशंसा समेत गरे ।

कार्यक्रममा बोल्दै लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा. सूर्य सुवेदीले नेपाल भारत सम्बन्धबारे जान्न चाहने जोकोहीले पहिले नेपाल ब्रिटेन सम्बन्धको अध्ययन गर्नुपर्ने बताए । सुगौली सन्धि विजेता ब्रिटिस इन्डियाले नेपालमाथि थोपरेको भए पनि दुई देशबीच सन् १९२३ मा सम्पन्न सन्धिले नेपाललाई एक स्वतन्त्र र सार्वभौम सम्पन्न मुलुकको रुपमा स्थापित गरेको बताए । सन् १९९० पछि पढ्न र काम गर्न बेलायत आउने नेपालीहरुको संख्या बढेको र यसले गर्दा दुई देशबीचको सम्बन्ध विकेन्द्रीकृत बन्न पुगेको उनको निचोड थियो । लन्डन विश्वकै वित्तीय केन्द्र भएकाले प्रा. सुवेदीले नेपालमा लगानी भित्र्याउन ठूला ब्रिटिस कम्पनीहरुसम्म पहुँच पुर्‍याउन नेपाल सरकारले थप पहल गर्नुपर्नेमा जोड दिए ।
 
कार्यक्रममा डा. कृष्ण अधिकारीले लन्डनमा बसोबास गर्ने पहिलो नेपाली मोतिलाल सिंहबारे, डा. मारा मालागोडीले नेपालको संवैधानिक विकासबारे तथा सेवानिवृत्त कर्णेल जेरी बर्चले ब्रिटिस सेनामा गोर्खा भर्तीको इतिहासबारे बोलेका थिए । अन्तरक्रिया सञ्चालन अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक डा. डेविड गेलनरले गरेका थिए । सोही अवसरमा ब्रिटिस चित्रकार स्टेफेन किङले नेपालको लाङटाङ क्षेत्रमा गएर खिचेका तस्बिरहरुको प्रदर्शनी गरेका थिए भने अस्मिता श्रीसको वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।

प्रकाशित : चैत्र ४, २०७३ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?