कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

साझा पहिलोपटक लन्डनमा

लन्डन — कमिसनका कारण आर्थिक संकट झेलिरहेको साझा प्रकाशन बिस्तारै तंग्रिने तरखरमा छ । बन्द भइसकेको प्रकाशनलाई सरकारले तीस करोड दिएपछि सुचारु साझा यतिखेर लन्डन आइपुगेको छ ।

साझा पहिलोपटक लन्डनमा

१०४ वर्षको इतिहास बोकेको साझा प्रकाशन सरकारी व्यवस्थापनमा अन्तर्राष्ट्रियस्तरमा पहिलो पटक लन्डन आएको हो, तीन हजार थान पुस्तक बोकेर । 

बेलायत नेपाल कुटनीतिक सम्वन्ध स्थापनाको द्विशतवार्षिकी समापन समारोह अन्तर्गत लन्डन दूतावासमा शुक्रबारदेखि साझा प्रकाशनबाट प्रकाशित कृतिहरुको प्रदर्शनी शुरु भएको छ । तीन दिनसम्म चल्ने उक्त प्रदर्शनीमा दुई सय शीर्षकका नयां पुराना पुस्तकसमावेश रहेको अध्यक्ष तथा महाप्रवन्धक डोलिन्द्रप्रसाद शर्माले जानकारी दिए । बेलायत नेपाल सम्वन्ध गांसिएको दुई सय वर्ष पुगेकाले दुई सय शीर्षककै पुस्तक नेपालबाट ल्याइएको हो । यसअघि साझा प्रकाशनका कृति दक्षिण कोरियामा प्रदर्शन गरिएपनि सरकारकै निमन्त्रणामा साझा पहिलोपटक बेलायती भूमिमा पुगेको हो । 

प्रदर्शनीको पहिलो दिन करिब १२ सय पाउण्डका किताब बिकेका छन् । ‘जंगबहादुरको बेलायत यात्रा, बीपी, लक्ष्मीप्रसाद देवकोटा, पारिजात जस्ता श्रष्टाहरुको कृतिमा बढि चासो रहेछ’, अध्यक्ष शर्माले भने, ‘बेलायतमा नेपाली साहित्य उर्वर अवस्थामा रहेको महशुस गरें ।’

नेपाली भाषा साहित्य, शिक्षा, कला संस्कृतिको प्रवर्धन उद्देश्यले स्थापित साझा प्रकाशनमा भाषा साहित्यका विभिन्न विद्याका पुस्तक प्रकाशन तथा विकास गर्न उद्दत छ । यसलाई बचाउन ‘सेफ द साझा क्याम्पियने’ कमिटी गठन गर्ने योजनामा छन् महाप्रवन्धक शर्मा । ‘भाषा र संस्कृति हाम्रो पहिचान हो’, शर्माले भने, ‘विदेशमा नयां पुस्ताले नेपाली भाषा साहित्य भुलिरहेको अवस्थामा साझाले त्यसलाई ख्याल गर्दै बेलायतका नेपालीलाई सामूहिक मालामा गांस्ने प्रयास गरेको छ, साहित्यिक मनलाई एकीकृतगर्ने काम गरेको छ ।’

पुस्तक प्रदर्शनीका अवसरमा ‘बेलायतमा नेपाली कवि र कविता’ नामक पुस्तक समेत विमोचन गरियो । कार्यक्रममा दुई वटा साहित्य सम्वन्धि कार्यपत्र र तीन दर्जन बढिले कविता वाचन गरेका थिए ।

प्रकाशित : चैत्र ५, २०७३ १८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?