बेलायतमा नेपाल अध्ययन दिवस

नवीन पोखरेल

लन्डन — नेपालबारे चासो राख्ने प्राज्ञ तथा अध्येताहरुको संस्था बेलायत नेपाल प्रज्ञा परिषद्ले बोर्नमाउथ विश्वविद्यालयमा दुई दिने नेपाल अध्ययन दिवस कार्यक्रम गरेको छ ।

दिवसमा यसवर्ष विभिन्न विषयका २१ कार्यपत्र, ८ वटा पोस्टर, एक विशेष प्रस्तुति र पीएचडी कार्यशाला गरिएको परिषद्का महासचिव डा. कृष्ण अधिकारीले जानकारी दिए। कार्यक्रममा नेपालबारे रुची राख्ने स्थापित प्राज्ञदेखि शोधमा लागेका नयाँ विद्यार्थी र स्वतन्त्र अनुसन्धानकर्ता गरी बेलायत, हङकङ, नेपाल र युरोपेली देशका  ६० भन्दा बढीको सहभागिता थियो । 

हरेक वर्ष नेपाल अध्ययन दिवसका रुपमा गरिने सम्मेलन यसपालि यौन तथा प्रजनन स्वास्थ्य, धर्म, संस्कृति र पहिचान, स्वास्थ्य, राजनीति र डायस्पोरा, उर्जा र भूकम्प तथा विपत व्यवस्थापन गरी ६ विधामा कार्यपत्र प्रस्तुति र व्यापक छलफल भएको थियो ।

Yamaha

परिषद्का अध्यक्ष तथा अक्सफोर्ड युनिभर्सिटीका प्राध्यापक डेभिड गेल्नरको स्वागत मन्तव्यसहित सुरु भएको कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी पहिलो सत्र उनकै अध्यक्षतामा भएको थियो । उक्त सत्रमा लिभरपुल जोन मोर्स युनिभर्सिटीका डा. एकनारायण पौडेलले नेपालमा एचआइभी संक्रमितहरूको आर्थिक अवस्था सुधारका लागि नीति तथा कार्यक्रमबारे, सोही विश्वविद्यालयकी डा. सारा पार्करले नेपालमा महिनावारी स्वास्थ्यसम्बन्धी चलाइएका कार्यक्रमको प्रभाव मूल्यांकनबारे र एबरिस्टविथ विश्वविद्यालयका डा. देवराज आचार्यले नेपालका विद्यालयहरुमा विद्यार्थीको यौन तथा प्रजनन स्वास्थ्य विषयमा ज्ञान विकास र अध्यापनबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

धर्म, संस्कृति र पहिचान विधाको दोस्रो सत्रको अध्यक्षता सोआसका प्राध्यापक माइकल हट्ले गरेका थिए । उक्त सत्रमा ग्लास्गो विश्वविद्यालयकी कुमुद राणाले नेपालमा समलिंगीहरुका समस्या र समान अधिकारका अभियानबारे, दि वेष्ट अफ स्कटल्याण्ड विश्वविद्यालयका कल्याण भण्डारीले सगरमाथाको समाजशास्त्रीय अध्ययनबारे  तथा स्वानजी विश्वविद्यालयका रवीन्द्र न्यौपानेले नेपालको बृहत् गौमुखी क्षेत्रका सामजिक अभियानबारे कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त सत्रमा सोसल साइन्स बहा काठमाडौंका जीवन बानियाँले नेपालमा वैदेशिक श्रम र विप्रेषणले पारेको सामाजिक तथा राजनीतिक प्रभावबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

डरम विश्वविद्यालयका डा. बेन क्याप्बेलको अध्यक्षतामा सम्पन्न पहिलो दिनको अन्तिम सत्रमा मार्टिन चौतारी नेपालका डा. प्रत्युष वन्तले नेपाल अध्ययनको विश्वव्यापी अवस्था र चुनौतीसम्बन्धी विशेष कार्यपत्र पेश गर्दै छलफल चलाएका थिए ।

कार्यक्रमको दोस्रो दिन चारविधामा प्रस्तुति र छलफल रहेको थियो । स्वास्थ्य विषयको पहिलो सत्रमा ब्रिस्टल विश्वविद्यालयका डा. पुष्पराज पन्तले नेपालमा स्वास्थ्य क्षेत्रमा देखिएको विकास र चुनौतीबारे र वेष्ट अफ इंग्ल्याण्ड विश्वविद्यालयका सन्तोष भट्टले अनपेक्षित बाल दुर्घटना रोकथामका लागि समुदायिक वातावरण परिवर्तनको सम्भावनाबारे कार्यपत्र प्रस्तुत गरे । लिभरपुल जोन मोर्स विश्वविद्यालयका प्राध्यापक पदम सिम्खडाले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य अवस्थाबारे शोध समीक्षा र सोही विश्वविद्यालयकी विभा सिम्खडाले  नेपालको नर्सिङ क्षेत्रमा पेसागत विकास र तालिम आवश्यकताबारे शोधपत्र प्रस्तुत गरेका थिए । उक्त सत्रको अध्यक्षता स्थानीय आयोजक संस्थाका प्राध्यापक एडविन तेज्लिङगेनले गरेका थिए ।

उक्त दिनको दोस्रो सत्रको अध्यक्षता डा. सारा पार्करले गरेकी थिइन् । इतिहास र डायस्पोरा विषयको उक्त सत्रमा परिषद्का महासचिव तथा अक्सफोर्ड विश्वविद्यालयका डा. कृष्ण अधिकारीले एक शताब्दीदेखि छुटिएका फिजी नेपालीको बारेमा, सोआसकी अमाण्डा टेलरले ब्रिटिस राजको सीमान्तमा परेका पूर्वोत्तर भारतका नेपाली गोर्खा र कुल्लीबारे एक क्याप्टेनको अभिलेखबारे र नेपाल अध्ययन केन्द्रका डा. चन्द्र लक्सम्बाले सांस्कृतिक दोधारमा रहेका बेलायतका नेपाली युवाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

उर्जासम्बन्धी तेस्रो सत्रको अध्यक्षता सोआसकी डा. फेजी इस्माइलले गरेकी थिइन् । उक्त सत्रमा डा. बेन क्याम्पबेलले भूकम्पपछि सिर्जित परिस्थितिमा उर्जा अनुसन्धान सम्भावनाको बारेमा, स्वान्जी विश्वविद्यालयका रामहरि पौडेलले नेपालमा उर्जा समस्या र नवीकरणीय उर्जा समाधान बारेमा र हाइड्रोप्लान यूकेका तुलसीप्रसाद फुयालले उर्जा अभाव र जलविद्युत्‌प्रतिकोआशाबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

डा. कृष्ण अधिकारीको अध्यक्षतामा सम्पन्न अन्तिम सत्रमा भूकम्प तथा विपद व्यवस्थापन विषयमा चार कार्यपत्र प्रस्तुत गरिएको थियो । प्राध्यापक माइकल हटले धरहरा पुनर्निर्माणको बारेमा, सेफिल्ड विश्वविद्यालयका कृष कार्टराइटले नेपालको भूकम्प विपत्तिको सामनासम्बन्धी, लिभरपुल जोन मोर्स विश्वविद्यालयकी सपना विष्टले नेपालको भूकम्प व्यवस्थापनमा अपांगहरुको दृष्टिकोणबारे र अक्सफोर्ड ब्रुक्स विश्वविद्यालयकी लक्ष्मी गुरुङले चुस्त पुनर्निर्माणमा समन्वय र योजनाको ‘बिम’ रणनीतिक अवधारणबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सिलसिलामा विद्यावारिधीसम्बन्धी विशेष कार्यशाला पनि आयोजना गरिएको थियो । अध्ययन दिवसको सिलसिलामा परिषद्को कार्यसमिति बैठक र हरेक दुई वर्षमा हुने साधारणसभा पनि गरिएको थियो । प्राध्यापक डेविड गेल्नरको अध्यक्षतामा सम्पन्न सभामा परिषद्को विगतका गतिविधि, आर्थिक प्रतिवेदन र आगामी कार्ययोजनामाथि छलफल भएको थियो । हरेक दुई वर्षमा चारजना कार्यसमिति सदस्यको निर्वाचन गर्ने नयाँ व्यवस्थाअन्तर्गत भएको निर्वाचनमा डा. कल्याण भण्डारी, युनिभर्सिटी कलेज लन्डनका डा. तेजेन्द्र फेराली र डा. बेन क्याम्पबेल चयन भएका छन् । साथै परिषद्ले प्राध्यापक एडविन तेज्लिङगेन र अक्सफोर्ड विश्वविद्यालयकी डा. सोन्ड्रा हाउसनरलाई दुई वर्षका लागि ‘कोअप्ट’ मनोनित गरेको छ ।

यसैबीच, परिषद्ले आगामी वर्षदेखि प्रदान गर्ने गरी प्रतिस्पर्धाको आधारमा उत्कृष्ट विद्यावारिधी शोधपत्र पुरस्कार घोषणा गरेको छ ।

आगामी वर्षको नेपाल अध्ययन दिवसलाई नयाँ नाम नेपाल अध्ययन दिवस (नेपाल कन्फरेन्स)का नाममा सञ्चालन गरिने र उक्त कार्यक्रम डरम विश्वविद्यालयमा आयोजना हुने परिषद्ले जनाएको छ । परिषद्ले गर्ने वार्षिक नेपाल प्रवचन आगामी नोभेम्बरमा लन्डन सोआसमा हुने र सो प्रवचन दिन नेपालबाट प्राध्यापक पीताम्बर शर्मा आउने कार्यक्रम छ ।

प्रकाशित : वैशाख २, २०७४ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

परराष्ट्र नीति अध्ययनको होड

चन्द्रशेखर अधिकारी

काठमाडौं — परराष्ट्र नीति अध्ययन एवं तर्जुमा गर्न परराष्ट्रमन्त्रीको नेतृत्वमा समिति बनेलगत्तै संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समिति पनि यही विषयमा अध्ययन गर्न अघि सरेको छ । परराष्ट्र र सुरक्षा नीति तर्जुमा गर्दा अन्य आन्तरिक नीतिभन्दा बढी गम्भीरता दिइनुपर्नेमा सरकारले त्यस्तो नगरेको भन्दै समिति आफैं अध्ययन गर्न जुटेको हो ।

नीति तर्जुमा सरकारले गर्ने भए पनि पुराना प्रतिवेदन बेवास्ता गर्दै आफूनिकटका व्यक्तिलाई कार्यदलमा राखेर पुन: नयाँ प्रतिवेदन तयार पार्न लागेको भन्दै समितिले छुट्टै अध्ययन गर्न लागेको हो ।

परराष्ट्रमन्त्री नेतृत्वको समितिमा पदमा रहँदा काम गर्न नसक्ने, तर सामाजिक सञ्जाल एवं सञ्चारमाध्यममा होहल्ला गर्नेलाई नै कार्यदलमा राखिएको संसदीय समितिको आरोप छ । समितिको बिहीबारको बैठकमा पनि उक्त विषयमा छलफल भएको थियो । ‘समितिले सुझाव दिन र अध्ययन गर्न थालेपछि परराष्ट्र हतारिएको छ,’ समिति सदस्य लालबाबु यादवले कान्तिपुरसँग भने, ‘कूटनीतिजस्तो गम्भीर विषयलाई हल्का रूपमा प्रस्तुत गर्न हुँदैन । सरकारले नीति बनाउँदा थिंक ट्यांकबाट सुझाव लिन सक्छ, सरकारी थिंक ट्यांक पनि छ तर किन मन्त्रालयले यसप्रति बेवास्ता गर्छ ?’ 
समितिले यसअघिका कार्यदलका सुझाव र कार्यान्वयन स्थितिसमेत अध्ययन गर्ने जनाएको छ । समितिले परराष्ट्रलाई आफ्नो अध्ययनबारे जानकारी गराए पनि मन्त्रालयले बेवास्ता गरेर आफैं कार्यदल बनाएको भन्दै समितिका एक सदस्यले आक्रोश प्रकट गरे । ‘मन्त्रालय, विभाग र मातहतका निकायका नीति तथा कार्यक्रम, स्रोत परिचालन, व्यवस्थापन र अन्य यस्तै क्रियाकलापको मूल्यांकन गरी सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने र समुचित टिप्पणी, सिफारिस/निर्देशनसहितको वार्षिक प्रतिवेदन सभामा पेस गर्ने,’ समितिको कार्यादेशमा उल्लेख छ । यसमै टेकेर समितिले एक प्रस्ताव यसअघि नै राखिसकेको छ । समितिको उक्त ‘प्रस्ताव’ लाई नै आधार मानेर मन्त्रालयले त्यसखालको नीतिको काम गर्न लागेको भन्दै समिति सदस्यले यसलाई गम्भीर रूपमा उठाएका हुन् । 
मंगलबार मन्त्रिपरिषद्ले परराष्ट्र मन्त्रीको संयोजकत्वमा परराष्ट्र नीतिलाई समय सापेक्ष र परिवर्तित विश्वअनुकूल बनाउन एक उच्च स्तरीय कार्यदल बनाएको थियो । 
नेपाल–भारत सन्धि–सम्झौता र सम्बन्धबारे छलफल गर्न प्रबुद्ध व्यक्ति समूह (ईपीजी) बनेर दुई पक्षीय सम्बन्धको विषयमा समीक्षा भइरहँदा परराष्ट्रले समिति बनाउनुलाई नै संसदीय समितिले सकारात्मक रूपमा लिएको छैन । ‘उता सम्बन्धबारे छलफल चलिरहने, यता अर्को समिति बन्ने अमिल्दो छ,’ समितिका एक सदस्यले भने । दुवै छिमेकीको नेपालमा रणनीतिक चासो छ । त्यसकारण नेपालले परराष्ट्र नीति बनाउँदा तत्काल बेहोर्नुपर्ने सम्बन्ध भनेको तिनै दुई उदय महाशक्ति राष्ट्रहरूसितको सम्बन्ध नै हो भन्दै यसको लागि ईपीजीको प्रतिवेदन कुर्न आवश्यक रहेको सुझाव पनि उनीहरूको छ । मुलुकको स्वाधीनता र सुरक्षा चासो र त्यसको सन्तुलनकै कारण यो नीतिको महत्त्व रहने हुनाले यसमा बहस र छलफल पनि आवश्यक रहेको धारणा समितिको छ । तर, सरकारले किन केही निकटस्थलाई विज्ञ बनाउन र केही सेवानिवृत्तलाई व्यस्त राख्न यो काम गरेको भन्दै यसमा आवश्यक परे परराष्ट्रमन्त्रीलाई बोलाएर ‘सोध्ने’ बारे छलफल भइरहेको एक सदस्यले बताए । 

प्रकाशित : वैशाख २, २०७४ ०८:०७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT