जापानी राजकुमारी हिताचीद्वारा नेपालीको प्रशंसा

प्रकाश पन्थी

टोकियो, जापान — जापानी राजकुमारी हानाको हिताचीले नेपाल र नेपालीप्रति विशेष आस्था र ममता रहेको जनाउँदै जापानी राजपरिवारको छुट्टै भाव र स्नेह रहेको जनाएकी छन् । उनले नेपालीलाई जापानी नागरिकभन्दा बढी पौरखी र आस्थाका पहरेदार रहेको भन्दै सद्भाव व्यक्त गरेकी हुन् ।

जापानी राजकुमारी हिताचीद्वारा नेपालीको प्रशंसा

राजधानी टोकियो महानगरपालिकाको आकासाकास्थित इन्टरनेसनल होटलमा आयोजित एक मेलामा दौरा सुरुवाल र ढाका टोपी लगाएका नेपाली देखेर नमस्ते अभिवादन गरिन् । २६ राष्ट्रका राजदूत अधिकारीका बीचमा नेपालीप्रतिको विश्वासमा कुनै शब्द र सम्झौता आवश्यक नरहेको स्पष्ट पारिन् । एसियाका उद्यमशील महिला सहकर्मी समाजले ४१ वर्षदेखि आयोजना गर्दै आएको एक दिवसीय च्यारिटी मेलामा प्रमुख अतिथिका रुपमा उपस्थित भएकी राजकुमारी हिताचीले कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालसँग नेपाल र नेपालीको शिर उच्च रहेको भन्दै प्रशंसा गरिन् ।
 
हिताचीले स्टलमा राखिएका नेपालीले बनाएका विभिन्न कलाका वस्तुहरु, लत्ता कपडा, चिया तथा खानाको निरीक्षण गरिन् । नेपाली स्टलमा राखिएका सामाग्री तथा विभिन्न वस्तुको अवलोकनपछि हस्त सामाग्रीमा निर्मित कला र निर्मित वस्तुअवस्थाहरुबारे जानकारी गराइएको कार्यवाहक राजदूत अर्यालले बताए । उनका अनुसार अवलोकनपछि राजकुमारी हिताचीले सन् ६० काे दशकमा नेपालको राजकीय भ्रमणका क्रममा पोखराको पर्यटकीयस्थल, प्राचीन काठमाडौंका र प्यागोडा शैलीमा निर्मित गौतम बुद्धको जन्मस्थल लुम्बिनीको स्मरण गर्दै हालको अवस्थामा कस्तो भएको छ भनी जिज्ञासा राखेकी थिइन् ।
 
उक्त अवसरमा नेपाली कार्यवाहक राजदूत अर्यालले राजकुमारीलाई मायाको चिनो स्वरुप चाँदीको करुवा प्रदान गरेका थिए । मेलामा अन्य स्टलमध्ये ममता रहेको भन्दै नेपाली चाँदीको गहना खरिद गरिन् । ५० भन्दा बढी स्टलमध्ये नेपाली राजदूतावासको तर्फबाट हस्तकला सामाग्रीअन्तर्गतका पश्मिना, नेपाली चिया र खानासहितका दुई स्टल मेलामा राखिएको थियो । नेपाली स्टलमा राखिएका हस्तकलाका सामाग्रीअन्तर्गत पश्मिनामा सजाइएका वस्तु र चाँदीका गहनामा राजकुमारी हिताची आकर्षित भएकी थिइन् ।
 
अवलोकनका क्रममा नेपाली हस्तकलाका सामानमा विशेष चासो राखेकी राजकुमारी हिताचीले नेपाली आस्था र भरोसालाई अन्य राष्ट्रले अनुशरण गर्नुपर्ने समेत बताएकी थिइन् । नेपाली सामाग्रीको ५० हजारभन्दा बढीले अध्ययन अवलोकन गरेको बताइएको छ ।

प्रकाशित : वैशाख ७, २०७४ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?