यसरी सम्भव भयो बेलायतमा औद्योगिक क्रान्ति

लन्डन — बेलायतमा झुल्किरहने नेपालका अधिकांश राजनीतिज्ञलाई यहाँ धेरैले जिज्ञासा राख्ने गर्छन्, ‘बेलायतबाट के सिक्न चाहनुहुन्छ ?’ उनीहरुको जवाफ रहन्छ, ‘प्रजातन्त्रको जननी बेलायतको विकास तथा समृद्धि नियाल्ने अनि औद्योगिक क्रान्ति भएको देशबाट व्यापार र उद्योगका कुरा सिकेर नेपालमा आर्थिक विकास गर्ने ।’बडो मीठो सुनिन्छ विकास सपना । आखिर बेलायतमा औद्योगिक क्रान्ति कसरी सुरु भयो त ? मननयोग्य कुरा असंख्य छन् ।

पश्चिमी मुलुकहरुमा १८औं शताब्दीमा भयो औद्योगिक क्रान्ति । तर, इंग्ल्यान्ड सबैभन्दा सफल हुनुमा कृषि क्रान्ति, प्रविधिको विकास, उर्जाका लागि प्रशस्त कोइला उपलब्ध, उल्लेख्य मजदुर संख्या, पुँजी परिचालनका लागि बैंक, स्टक मार्केटको सुरुवात, सरकारी उत्प्रेरणा आदिलाई मानिन्छ । एक जमाना इंग्ल्यान्डको संसारभर साम्राज्य थियो, जसले गर्दा उद्योगका लागि चाहिने कच्चा पदार्थ सहज आपूर्ति हुन्थ्यो । रोजगारीले गर्दा मानिसको जीवनस्तर बढेपछि सामानको माग बढ्न थाल्यो । बेलायतभित्र मात्र नभइ निर्यातका लागि पनि आफ्नो साम्राज्य उपयोगी भयो । सन् १७७० मा जेम्स् हारग्रीभ्सले आठवटा धागो घुम्ने परम्परागत चर्खाको सट्टा एकैपटक १२० वटा धागो राखी घुम्ने आधुनिक चर्खा आविष्कार गरेर बेलायतमा औद्योगिक क्रान्ति सुरुवात भएको मानिन्छ । यसपछि कपडा र फलाम उद्योगमा ठूलो फड्को देखियो । बाफको शक्ति (स्टिम इन्जिन) आविष्कार, कारखाना (फ्याक्ट्री) विकास, रेलको सुरुवात, पुँजीवाद र खुल्ला बजार तथा अन्य प्रविधि विकासले बेलायतको रुप फेरियो । लन्डनस्थित अर्थ व्यवस्थापन विज्ञ विकलचन्द्र आचार्य बेलायतले सन् १७६० देखि १८५० को अवधिमा आर्थिक उन्नति, प्रविधिमा आधुनिकीकरण, खुला र प्रतिस्पर्धात्मक व्यवसाय जस्ता महत्वपूर्ण कार्य गर्न सफल भएको बताउँछन् । 

औद्योगिक क्रान्तिका आलोचकहरु यस क्रान्तिमार्फत अर्थशास्त्री हार्टवेयलले भनेका र धेरैले स्वीकार गरेको ‘आर्थिक दरिद्रताको सिद्धान्त’को विकास भएको ठान्छन् । आचार्यले ती आलोचकले अनियन्त्रित पुँजीले धनी झन् धनी र गरिब थप गरिब हुन पुगेको तर्क राख्ने गरेको समेत बताए । तर, पुँजीलाई स्वतन्त्र रुपमै आवत जावत गर्न नदिए उचित लगानी पूर्ण रुपले नहुने र लगानीकर्तामा आफूसँग भएको पुँजीलाई संकुचित गराइराख्न सक्ने सम्भावना अधिक रहने आचार्यको बुझाइ छ । औद्योगिक क्रान्तिमा मजदुरको तलब निकै कम थियो तर काममा धेरै घण्टा जोतिनु पर्थ्यो । महिला तथा बाल कामदारको अवस्था पनि दयनीय । बाल मजदुर लगायत कलकारखानामा काम गर्दा घाइते भएकाहरुको संख्या निकै वृद्धि भयो, उनीहरुले पाउने सुविधा केही थिएन । जागिर गुमाएर गरिबीमा पिल्सनुबाहेक उनीहरुसंग अरु उपाय थिएन । यसै समयमा धेरै मानिस रातारात धनी भएपछि बहालमा बसेका वा भूमिहीन मानिसलाई आफ्नो घर जग्गाबाट निकालेर त्यहाँ उद्योग कलकारखाना खोल्ने क्रम बेलायतमा तीव्र बन्यो । यस कारणले घर जग्गा नहुनेहरु सहर छिर्न बाध्य भए । फलस्वरुप बेलायती सहरहरुमा जनसंख्या निकै वृद्धि भएको जानकारी आचार्यले दिए । 

बेलायतमा गरिबीको खाडल बढ्दै गएपछि सन् १८३४ मा गरिबी निवारण कानुन (पोअर ल) लागू गरियो जसले केही हदसम्म मजदुर र मध्यम वर्गीय मानिसका समस्या सम्बोधन गर्ने प्रयत्न गर्‍यो । औद्योगिक क्रान्तिले पुँजीवादको पक्ष वा विपक्षमा धेरै वादविवाद सुरु गरायो । औद्योगिक क्रान्तिको समयमा भएको गरिबी र काम गर्ने उचित वातावरण नभएकाले सरकारले सामाजिक आर्थिक विषयमा हस्तक्षेप गर्नुपरेको दृष्टान्त पनि छ । अर्थविद् आचार्यले बेलायतमा सन् १८७० देखि १९०० को अवधिमा प्रतिव्यक्ति आर्थिक उत्पादन करिब ५०० गुणा बढेको जानकारी दिए । औद्योगिक क्रान्ति चरणमा रेल्वे विस्तारसँगै आधुनिक बजारशास्त्र सुरु भइ वितरण र उत्पादनको नयाँ युग सुरु भएको थियो । मानिसको जीवनस्तर बढ्नुका साथै बेलायत संसारकै पहिलो औद्योगिक देश बन्न पुगेको थियो । स्मरणीय के छ भने औद्योगिक क्रान्तिको समयमा नयाँ वैज्ञानिक आविष्कार गर्ने प्राय:सबै व्यक्ति सम्भ्रान्त परिवारका थिए जस कारणले आफूले आविष्कार गरेको प्रविधिको विकास गर्न पुँजीले सहयोग गरेको थियो । नेपालका राजनीतिज्ञहरुले सही नीति अबलम्वन गरी पुँजी तथा प्रविधि व्यवस्थापनमा उचित ध्यान दिन जरुरी हुने कुरा बेलायतबाट सिक्न आवश्यक छ । 

दुई ठूला देश भारत र चीन बीचमा अवस्थित नेपालको पुँजी पलायन अवस्थालाई मध्यनजर राखी लगानी मैत्री वातावरणको विकास गर्नु नितान्त जरुरी छ । ‘ग्लोवलाइजेसन’युगको प्रतिस्पर्धामा उचित जनशक्ति र पूर्वाधार विकासमा ध्यान दिन पनि उत्तिकै खाँचो छ । सरकारी स्वामित्वका उद्योगलाई व्यापारिक हिसाबले व्यवस्थापन विज्ञहरुलाई जिम्मा लगाई बेलायतले अपनाए जस्तो स्वतन्त्र तवरले उद्योग चलाइनु पर्छ । यसमा राजनीतिक हस्तक्षेप पनि बन्द गरिनुपर्छ । सधैं घाटामा जाने र अर्थतन्त्रलाई भार पर्ने उद्योगहरु निष्पक्ष तवरले निजीकरण गर्नुपर्छ भन्ने शिक्षा बेलायतले सन् १९८० देखि अपनाएको नीतिबाट बुझ्न सकिन्छ ।

राजनीतिक स्थायित्व तथा उचित संस्कार, नियम कानुन पालना, क्रेडिट स्कोर र मुद्रा विनिमय प्रणाली आदिमा उचित परिमार्जन गरी उद्यमशीलताको विकास गर्न सके चाहेको जस्तो आर्थिक विकास नेपालले गर्न सक्ने पाठ बेलायतबाट सिक्न सकिन्छ । बेलायत भ्रमण गरेर फर्किएका राजनीतिज्ञले उनीहरुले भन्ने गरेझैं बेलायतबाट देखेर, बुझेर र सिकेर के गर्न सके वा सक्नेछन् त्यो त भविष्यले मूल्यांकनले गर्ने नै छ ।

प्रकाशित : वैशाख १३, २०७४ १७:१५
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नेपाल स्काउट्सको तदर्थ समिति गठन गर्न माग

कान्तिपुर संवाददाता

काठमाडौं — नेपाल स्काउट स्काउटर समूहले नेपाल स्काउटको तदर्थ समिति गठन गर्न माग गरेको छ ।

मंगलबार स्काउटर समूहले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो माग गरेको हो । समूहले नेपाल स्काउट केन्द्रीय कार्यालयको राष्ट्रिय परिषदको बैठक बस्न नसक्दा नेपाल स्काउटभित्र अनियमितता भएको, गैरस्काउटलाई स्थान दिईएकोले अहिले स्काउटको छवि नै धमिलिएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले अहिलेको तदर्थ समिति विघटन गरी नयाा तदर्थ समिति गठन गर्न दिएको निर्देशन अहिलेसम्म पनि कार्यान्वयन नगरेको उनीहरुको आरोप छ ।

कार्यक्रममा बरिष्ठ स्काउटर हरिबहादुर श्रेष्ठले भने, ‘प्रधानमन्त्रीले निर्देशन दिएको आज २७ दिन वितिसक्दापनि अहिलेसम्म तदर्थ समिति गठन भएको छैन् ।’

प्रकाशित : वैशाख १३, २०७४ १७:१५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT