बेलायती संसद्मा नेपाली मूलका उम्मेदवार

नवीन पोखरेल

लन्डन — नेपाली मूलका बच्चुकैलाश कैनी बेलायतको संसदीय निर्वाचनका लागि लेबर पार्टीबाट उम्मेदवार छानिएका छन् । यसअघि छानिएकी डेजी पेजले शुक्रबार पारिवारिक कारण देखाउँदै चुनाव नलड्ने जनाएपछि लेबर पार्टीका डार्टफोर्ड काउन्सिलर कैनीलाई संसदीय निर्वाचनमा उम्मेदवार बन्ने अवसर जुरेको हो ।

बेलायती संसद्मा नेपाली मूलका उम्मेदवार

शनिबार डार्टफोर्ड लेबर कमिटी अध्यक्ष र नेसनल एक्जुकेटिभ कमिटीले कैनी उम्मेदवार छनोट भएको लिखित जानकारी दिएका हुन् । सत्तारूढ कन्जरभेटिभ पार्टी (टोरी) को पकड क्षेत्रमा उम्मेदवार उभ्याइएका कैनीलाई जित भने चुनौतीपूर्ण छ ।

सन् २०१५ को आमनिर्वाचनमा कन्जरभेटिभका उम्मेदवार ग्यारेथ जोन्सनले २५ हजार ६ सय ७० मत ल्याएर जितेका थिए भने उनका प्रतिद्वन्द्वी लेबर उम्मेदवार साइमन थोम्सनले जम्मा १३ हजार ३ सय २५ मत ल्याएका थिए । त्यस क्षेत्रमा सन् २०१० यता टोरीकै पकड छ ।

आगामी ८ जुनमा हुने बेलायतको संसदीय निर्वाचनका लागि यही ११ मेमा उम्मेदवार मनोनयन कार्यक्रम छ । त्यसपछि औपचारिक प्रचारप्रसार र घरदैलो अभियानमा लाग्ने कैनीले बताए । ‘हारजित बेग्लै छ तर बेलायतको दोस्रो ठूलो पार्टीबाट उम्मेदवार छानिनु मेरा लागि महान् उपलब्धि हो,’ कैनीले कान्तिपुरसँग भने, ‘बेलायतको संसद् प्रवेश गरेर बेलायत र नेपालका लागि गर्व गर्न लायक काम गर्ने दृढता लिएको छु ।’ करिब ७३ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको र ग्रेटर लन्डनसँग जोडिएको डार्टफोर्डको जनसंख्या करिब एक लाख छ । त्यसमध्ये करिब २ सय मात्र नेपाली उक्त काउन्सिलमा बस्ने अनुमान छ ।

कैनीले निर्वाचनका लागि स्थानीय र राष्ट्रिय गरी मुख्य दुई किसिमका एजेन्डा बनाएको बताए । पार्टीको ब्रेक्जिट नीति सफल बनाउने, स्वास्थ्य र शिक्षामा लगानी बढाई सेवा सुधार गर्ने, बेरोजगारी दर घटाउने, अर्थतन्त्र मजबुत बनाउनेलगायत उनका राष्ट्रिय एजेन्डा हुन् । त्यस्तै, स्थानीय मार्ग सुधार गरी जाम हटाउने, अत्यधिक सवारीसाधनका कारण हुने धूवाँ प्रदूषण घटाउने, स्थानीय टाउन सेन्टर सुधार गरी आकर्षक बनाउने, स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने, अस्पताल सेवा र अन्य स्वास्थ्य सेवा सुधार गर्ने, सरकारले शिक्षामा बजेट कटौती गर्दा स्थानीय स्कुलमा पर्ने असर न्यून गर्नेलगायत स्थानीय एजेन्डा कैनीले अघि सारेका छन् ।

सन् २०१५ को स्थानीय निर्वाचनमा चार वर्षका लागि काउन्सिलर निर्वाचित कैनी लेबर पार्टीको सन् २०१४ मा म्यानचेस्टरमा सम्पन्न वार्षिक अधिवेशनमा महासमिति प्रतिनिधि थिए । केही समय पार्टीको स्थानीय निकायको ट्रेड युनियन संयोजक भएरसमेत काम गरेको उनले बताए । तनहुँ मलाबारीमा जन्मिएका उनी हाल क्विन एलिजावेथ अस्पताल लन्डनमा वरिष्ठ व्यवस्थापकका रूपमा कार्यरत छन् । उनको पारिवारिक पृष्ठभूमि राजनीतिक छ ।

प्रकाशित : वैशाख २५, २०७४ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?