विदामा गएका घरेलु कामदारलाई पुन: श्रमस्वीकृति दिन माग

कान्तिपुर संवाददाता

काठमाडौं — ओमनस्थित नेपाली एकता समाजले विदामा गएका घरेलु कामदारलाई पुन: श्रमस्वीकृति दिन माग गरेको छ । समाजले मस्कटस्थित नेपाली दूतावासमार्फत सरकारलाई ज्ञापन पत्र पेश गर्दै सो माग गरेको हो । समाजले विदामा गएकालाई आउन रोक लगाउने कार्य गलत भएको वताएको छ ।

‘जेनतेन बालबच्चाहरु पढाई र खानपिन धानिरहेका महिलालाई रोजगारबाट बञ्चित गराउनु राम्रो कार्य नहुने र अधिकांस महिलाहरु अशिक्षित र बिपन्न बर्गको भएको हुनाले उनीहरुले तत्काल कुनै जागीर वा ब्यवसाय गर्न पनि असक्षम हुनेछ,’ ज्ञापनपत्रमा भनिएको छ,‘सरकारले तत्काल त्यस्तो कुनै बैकल्पीक ब्यवस्था गर्न सक्ने अवस्था नभएको हुँदा यसलाई तत्काल फिर्ता लिएर बिदामा घर गएर फेरि फर्केर काम गर्न चाहने महिलाको निम्ति सहज वातावरण तय गर्न समेत सरकारसंग जोडदार माग गर्दछ ।’

Yamaha

अन्तराष्ट्रिय नेपाली एकता समाजका महासचिव शोभाकान्त लामिछाने, एकता समाजका अध्यक्ष छबिलाल बस्नेत, महिला बिभागकी अध्यक्ष गीता लिम्बू लगायत टोलीले कार्यबाहक राजदूत रोजिना ताम्राकार समक्ष ज्ञापन पत्र बुझाएको हो ।

समाजले विभिन्न देशको बिमानस्थलमा सेटिङ गरी महिलालाई ओसारपसार भइराख्दा पनि सरकारले अझै रोक्न नसकेकोप्रति चिन्ता जनाएको छ । उसले सरकारको संरक्षकत्वमा सम्भावना भएका देशमा कामदार पठाउने ब्यवस्था गर्न माग गरेको छ ।

समाजले प्रवासी नेपालीलाई मतदानको ब्यबस्था र प्रतिनिधित्वको ब्यवस्था गर्न माग गरेको छ । सरकारले मलेसिया लगायत खाडी मुलुकमा जान चाहने कामदारलाई शुन्य लागतमा पठाउने ब्यबस्थालाई कडाईका साथ लागु गर्न माग गरेको छ ।समाजले सबै नेपालीको साझा नेपाली सोसियल क्लब दर्ता गर्नको लागि पहल गर्न माग गरेको छ ।

प्रकाशित : वैशाख २५, २०७४ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

एमालेको चुनावी आमसभामा कांग्रेसद्वारा आक्रमण

प्रतिक्षा काफ्ले

स्याङ्जा — यहाँको चापाकोट नगरपालिका-६ धारापानीस्थित एमालेको चुनावी घरदैलो कार्यक्रम भइरहेको बेला एक्कासी कांग्रेस कार्यकर्ताहरुले एमाले कार्यकर्ताहरु माथी खुकुरी प्रहार गरेका छन् ।

धारापानीस्थित एमालेका नेता किशोर विक्रम मल्ल, शोभियत ढकाल, रामचन्द्र भट्टराई र नगरका मेयरका उम्मेदवार डा. बुद्धिमान श्रेष्ठ ले घरदैलो कार्यक्रम गरिरहेका बेला एक्कासी आक्रमण भएको हो । सोही नगरपालिकाको कांग्रेस तर्फका मेयरका उम्मेदवार शिव गिरी एउटा गाडीमा र उनका अन्य कार्यकर्ता अर्को गाडीमा बाटो हिड्ने क्रममा कांग्रेसका कार्यकर्ताले विना कारण खुकुरी प्रहार गरेको प्रत्यक्षदर्शी स्थानीय निरबहादुर थापाले बताए ।

स्थानीय प्रशासनमा र प्रहरीमा पहिलेदेखि नै सुरक्षाको विषयलाई लिएर लिखित सूचना दिएको भएतापनि सुरक्षा मजबुद नहुँदा कांग्रेस कार्यकर्ताको खुकुरी प्रहार गरी चार जना घाइते बनाएको उनले बताए । उनका अनुसार घाइते हुनेहरुमा स्थानीय डिल्लीराम खनाल, सुनबहादुर थापा, पदम विक र बेलबहादुर विक रहेका छन् ।

उनीहरुको चापाकोट सामुदायिक अस्पतालमा उपचार भइरहेको बताइएको छ । घाइते खनाल एमालेको तर्फबाट वडा नम्बर ६ को अध्यक्षका उम्मेदवार पनि हुन् । खुकुरी प्रहारको कारण भने खुल्न नसकेको एमाले नेताहरुको भनाई छ ।

उनीहरुका अनुसार स्थानीय अनिल नेपालीको घरमा एमालेले चुनाव अवधिसम्मको लागि सम्पर्क कार्यालय खोलेकाले घर एमालेलाई दिएको भन्ने मुख्य बहाना हुन सक्ने बताइएको छ । सोही क्रममा कांग्रेस कार्यकर्ता धीरज खाँडलाई खुकुरी सहित प्रहरीले पक्राउ गरेको छ । एमाले कार्यकर्ताले खुकुरीको खोल लगेर प्रहरीलाई बुझाएपछि मात्र प्रहरीले नांगो खुकुरी सहित खाँडलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालयले रत्नपुरले जनाएको छ । रत्नपुर इलाका प्रहरी प्रमुख बालबन्धु बस्नेतका अनुसार झगडापछि भाग्ने क्रममा खुकुरी सहित खाँडलाई पक्राउ गरिएको हो ।

स्थानीय चुनावलाई मध्य नजर राख्दै शान्ति सुरक्षा कायम राख्न गाउँभरी सुरक्षाकर्मीको बाक्लो उपस्थिति गराइएको र जाँच गर्ने क्रममा नै खुकुरी सहित खाँड पक्राउ परेको उनले बताए ।
चुनाव नजिकिँदै गर्दा राजनीतिक विषयलाई लिएर दलहरु एक आपसमा झगडा गरिरहँदा गाउँमा क्रासैक्रास रहेको र सुरक्षा स्थिति मजबुद बनाउन स्थानीयहरुले थप प्रहरी समेत माग गरेको बताएका छन् ।

विगतदेखि नै चुनावमा बुथ कव्जा गर्ने, खुकुरी र पेस्तोलको क्रासमा भोट हाल्नुपर्ने बाध्यताले गर्दा स्थानीयबासीहरुले आफूलाई पहिलेदेखि नै असुरक्षित महसुश गरेको गाउँलेहरुको भनाई छ । यता कांग्रेस निकट तरुण दलका जिल्ला अध्यक्ष प्रकाश मल्लले कांग्रेस कार्यकर्ता विश्वास मल्लले रुख चिन्हको टिसर्ट लगाएर मोटरसाइकलमा रुखको झण्डा राखेर हिँड्ने क्रममा एमाले कार्यकर्ताले मोटरसाइकल रोकेपछि झगडा सिर्जना भएको बताएका छन् ।

नाम नबताउने सर्तमा एक स्थानीय व्यक्तिले भने, ‘०७० सालमा संविधान सभाको भोट खसाल्न जादा पनि मतदाताहरुले स्वतन्त्रपूर्वक मत खसाल्न पाएका थिएनन् । केही उच्छृंखल व्यक्तिहरुको समूहले खुकुरी र अन्य हतियार देखाई कुनै पार्टी विशेषको चुनाव चिन्हमा छाप लगाउन धम्की दिने गरेका हुन् । अहिले पनि समस्या उस्तै छ ।’ विगतदेखि नै शान्ति सुरक्षामा जोखिम रहेको यो क्षेत्रमा शान्ति सुरक्षालाई थप मजबुत बनाउन आवश्यक देखिएको एमाले निकट एक नेताले बताए ।

प्रकाशित : वैशाख २५, २०७४ १४:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT