लन्डनको केन्द्र ट्राफलगर स्क्वायरमा गुन्जियो ‘जहाँ छन् बुद्धका आँखा...’

कान्तिपुर संवाददाता

लन्डन — ‘बुद्धम शरणम गच्छामी...।’ पृष्ठभूमिमा यही मन्त्र गुन्जिरहेको छ । अरु बेला बिरक्तलाग्दो देखिने ब्रिटेनको मौसम खुलेको छ । लन्डनको केन्द्र ‘ट्राफलगर स्क्वायर’ मा मानिसहरु एकत्रित छन् एउटा भिन्न उद्देश्यले । भगवान गौतम वुद्धको शान्ति उपदेश र उनी नेपालमा जन्मिएका हुन् भन्ने सन्देश विश्वमाझ फैलाउन नेपाली समुदाय एकत्रित छ ।

वुद्धका तस्विर र पोस्टरले सजिसजाउ छ स्टेज । यत्रतत्र नेपाली झण्डा फहराइरहेका छन् । नेपालको नक्सा आकृतिभित्र दीप प्रज्वलनले सूर्यास्तका बेला प्रकाश थपिरहेको छ । धर्मगुरु पूजा पाठ गर्न व्यस्त देखिन्थे । नेपालीमात्र होइन, विदेशीलाई समेत यस्तो दृश्यले आकर्षित गरिरहेको छ । रमिता हेर्न विदेशी वरपर घुमिरहेका छन् ।

देशप्रेमले ओतप्रोत त्यो क्षणका साक्षी छन् करिब ५ सय नेपाली । त्यही माहोलमा गायिका शर्मिला बर्देवा र सपनकुमार राई गाइरहेका छन् ‘जहां छन् बुद्धका आंखा, स्निग्ध, शान्त र सुन्दर ।’ 

Yamaha

बुद्ध जयन्ती मनाउन आइतबार ट्राफलगर स्क्वायरमा भेला भएका नेपालीले वुद्ध नेपालमै जन्मिएको तथ्य फेरि स्मरण गरे । स्वतस्फूर्त रुपमा कार्यक्रममा सहभागी हुन बेलायतका विभिन्न शहरबाट ओइरिएका थिए नेपाली । अमेरिकाको बोस्टनबाट लन्डन भ्रमणमा आइपुगेका सुरेश वाग्ले र रोशनी खनाल त्यहांको माहोल देखेर दंग थिए । ‘कार्यक्रमले वुद्ध जन्मस्थानबारेको भ्रम चिर्न पक्कै सघाउने छ’, खनालले भनिन् ।

बुद्ध फाउण्डेसन यूकेले लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड यूके र कपिलवस्तु समाज यूकेको सहकार्यमा बुद्ध जयन्ती मनाएको हो । अघिल्लो वर्ष बेलायती संसद भवन अगाडि मनाइएको वुद्ध जयन्ती यसपटक ट्राफलगर स्क्वायर रोजिएको थियो । 

कार्यक्रमकी प्रमुख अतिथी कृषि विकास राज्यमन्त्री राधिका तामाङले नेपाललाई चिनाउने महत्वपूर्ण आधार मध्ये वुद्ध एक भएको जनाइन् । मन्त्री तामाङले वुद्ध जन्मिएको देश नेपाल हो भन्ने चिनाउन यस कार्यक्रम सफल भएको बताइन् । नेपाली माटोमा जन्मिएका शान्तिका अग्रदूत गौतम वुद्ध नेपालको गहना भएको समेत उनको धारणा थियो । 

कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले सर्वोच्च शिखर सगरमाथा, बहादुर गोर्खा र भगवान गौतम वुद्धको जन्मभूमिले विश्वमा नेपालको चिनारी दिइरहेको बताए । विश्व आतंकवादले त्रसित भइरहँदा बुद्धको शान्ति सन्देश अहिले झन् आवश्यक भएको पनि राजदूतले उल्लेख गरे । वुद्ध नेपालको लुम्बिनीमा जन्मिएको सन्देश विश्वभर फैलाउन समेत उनको सबैमा आग्रह थियो ।

आयोजक फाउण्डेसनका अध्यक्ष दीपक श्रेष्ठले कार्यक्रम भव्य, सभ्य र सार्थक बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । 

कार्यक्रममा श्रीलंकाकी हाइ कमिश्नर अमारी वीजेवार्डिन, पूर्व सांसदहरु बीरेन्द्र शर्मा र सिमा मल्होत्रा, एनआरएनए युरोप संयोजक कुल आचार्य, एनआरएनए यूके उपाध्यक्ष हिराधन राई, नेपाल पर्यटन बोर्ड यूके प्रतिनिधि पशुपति भण्डारी र कपिलवस्तु समाज यूके अध्यक्ष महेन्द्र कुंवरले वुद्धको सन्देशबारे बोले । भिक्षु सुमन शाक्यले वौद्ध धर्म दर्शन र संयोजक एभरेष्ट गौतमले कार्यक्रम उद्देश्यबारे प्रकाश पारेका थिए ।

उक्त अवसरमा स्थानीय कलाकारहरुबाट विभिन्न सांस्कृतिक प्रस्तुति समेत भएको थियो भने नेपाल पर्यटन बोर्ड यूकेले विदेशी आगन्तुकहरुलाई लुम्बिनी, बुद्ध तथा सर्वोच्च शिखर सगरमाथाका पोस्टरहरु वितरण गरेको थियो ।

तस्विरहरु सौजन्य : निक्को प्रताप गुरुङ, सुरेश वाग्ले

प्रकाशित : वैशाख २५, २०७४ १५:५८
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बहुमत गुम्न नदिन गच्छदार सरकारमा

कान्तिपुर संवाददाता

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी सत्ताबाट बाहिरिएपछि सत्तारूढ गठबन्धनको बहुमत गुम्न नदिन नेपाल लोकतान्त्रिक फोरम सोमबार सरकारमा गएको छ । उपप्रधानसहित संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय सम्हाल्ने गरी पार्टी अध्यक्ष विजयकुमार गच्छदार आफैं सरकारमा गएका हुन् ।

 

विजयकुमार गच्छदार : उपप्रधानमन्त्री, संघीय मामिला तथा स्थानीय विकास
जितेन्द्र देव : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
गोपाल दहित : भूमिसुधार तथा व्यवस्था

लोकतान्त्रिक फोरमबाट जितेन्द्र देवले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र गोपाल दहितले भूमिसुधार तथा व्यवस्थामन्त्री सम्हालेका छन् । यसअघि यी मन्त्रालय राप्रपाको भागमा थिए । नवनियुक्त मन्त्रीहरूले सोमबारै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिई पदभार सम्हाले । 

गच्छदारको प्रवेशसँगै सरकारलाई बहुमत गुम्ने खतरा टरेको छ । सत्तारूढ कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेकामा असन्तुष्टि जनाउँदै एक साताअघि राप्रपा सरकारबाट बाहिरिएको थियो । राप्रपाका मन्त्रीहरूको राजीनामा फोरम लोकतान्त्रिक सरकारमा जाने टुंगो लागेपछि सोमबारमात्रै स्वीकृत भएको हो । 
त्यसअघि मधेसी मोर्चाले संविधान संशोधन विधेयकमा असन्तुष्टि जनाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । राप्रपा सरकारबाट बाहिरिए पनि लोकतान्त्रिक फोरमको समर्थनले सरकार बहुमतमै रह्यो । उसले सरकारलाई दिएको समर्थन फिर्ता लिए सरकार अल्पमतमा पर्न सक्थ्यो । त्यही खतरा टार्न प्रधानमन्त्री पुष्पकमल दाहालले छोटो अवधिका लागि गच्छदारलाई सरकारमा प्रवेश गराएका हुन् ।

आलोपालो सरकारको नेतृत्व गर्ने समझदारीअनुसार प्रधानमन्त्री दाहालले अब एक साता मात्रै सरकारको नेतृत्व गर्नेछन् । स्थानीय तहको पहिलो चरणको चुनाव सम्पन्न भएपछि दाहालले राजीनामा दिने बताएका छन् । त्यसपछि अहिलेकै गठबन्धनमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बन्नेछ । नेपाल लोकतान्त्रिक फोरमलाई देउवा नेतृत्वको सरकारमा समेत सामेल गर्ने समझदारी भएको स्रोतले बतायो । 

प्रधानन्यायाधीश कार्कीविरुद्धको महाअभियोग प्रस्तावलाई सहमतिमा व्यवस्थापन गर्न सत्तारूढ कांग्रेस र माओवादी केन्द्र तयार भएपछि राप्रपा पुन: सरकारमा जाने प्रयासमा थियो । तर, सरकारबाट बाहिरिएर प्रमुख प्रतिपक्षी एमालेसँग साँठगाँठ गरेपछि राप्रपालाई सरकारमा ल्याउन प्रधानमन्त्री दाहाल अनिच्छुक देखिएका हुन् । सरकारमै रहँदा पनि संशोधन विधेयकको विपक्षमा राप्रपाका एक दर्जन सांसद उभिएपछि कांग्रेस र माओवादी केन्द्र उसलाई सरकारमा ल्याउनुको अर्थ नभएको निष्कर्षमा पुगेका हुन् । राप्रपाकै कारण दुई तिहाइ नपुग्ने स्थिति उत्पन्न भएपछि सरकारले संविधान संशोधन विधेयक मतदानमा लैजान सकेको छैन ।

प्रकाशित : वैशाख २५, २०७४ १५:२४
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT