२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

जहाँ छन् बुद्धका आँखा...

नवीन पोखरेल

लन्डन — सहरको केन्द्र ट्राफलगर स्क्वायर । पृष्ठभूमिमा गुन्जिरहेको छ– ‘बुद्धं शरणं गच्छामि...’ । अरू बेला बिरक्तलाग्दो देखिने बेलायतको मौसम खुल्दै गर्दा दुई दिनअघि भिन्न स्फूर्तिका साथ ट्राफलगर स्क्वायरमा मानिस एकत्रित हुँदै थिए ।

जहाँ छन् बुद्धका आँखा...

ध्यान–संगीतको मुग्ध धुनमा उनीहरूले एकसाथ बुद्धलाई सम्झे । सम्झिनेमा विदेशी पनि थिए, तर झन्डै ५ सयको संख्यामा उपस्थित नेपालीको माहोल गौरवलाग्दो थियो । यही माहोलबीच गायिका शर्मिला बर्देवा र सपनकुमार राईले गाए– ‘जहाँ छन् बुद्धका आँखा...’ । 

बुद्धका तस्बिर र पोस्टरले सजिसजाउ कलात्मक स्टेज । यत्रतत्र नेपाली झण्डा । नेपालको नक्सा आकृतिभित्र दीप प्रज्वलनले सूर्यास्तका बेला प्रकाश थपिरहेको छ । बौद्धगुरु पूजापाठ गर्न व्यस्त देखिन्थे । बुद्धजयन्ती मनाउन भेला भएका बेलायतका नेपालीले बुद्ध नेपालमै जन्मिएको तथ्यलाई शालीन ढंगले प्रस्तुत गरे । कार्यक्रममा भाग लिन बेलायतका विभिन्न सहरबाट स्वतस्फुर्त ओइरिएका थिए नेपाली । अमेरिकाको बोस्टनबाट लन्डन भ्रमणमा आइपुगेका सुरेश वाग्ले र रोशनी खनाल यहाँको माहोल देखेर दङ्ग थिए । ‘नेपालीहरूको यति बृहत्, शान्त र शालीन उपस्थिति अन्त देखिएकै थिएन,’ खनालले भनिन्, ‘बुद्धमाथि अनेक दुष्प्रचार भइरहेको बेला यस्तो कार्यक्रमको ठूलो अर्थ हुनेछ ।’ 

बुद्ध फाउन्डेसन, यूकेले लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड, यूके र कपिलवस्तु समाज, यूकेको सहकार्यमा यसरी बुद्धजयन्ती मनाएको हो । अघिल्लो वर्ष बेलायती संसद् भवनअगाडि मनाइएको जयन्ती यसपटक सहरको ट्राफलगर स्क्वायरमा मनाइएको हो । कार्यक्रमकी प्रमुख अतिथि बन्न नेपालबाटै कृषि विकास राज्यमन्त्री राधिका तामाङ आइपुगेकी थिइन् ।

नेपाललाई चिनाउने महत्त्वपूर्ण आधारमध्ये बुद्ध एक भएको उनले बताइन् । मन्त्री तामाङले नेपाली माटोमा जन्मिएका शान्तिका अग्रदूत गौतमबुद्ध नेपालको गहना भएको दाबी गरिन् । कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले ‘सर्वोच्च शिखर सगरमाथा, बहादुर गोर्खा र भगवान् गौतमबुद्धको जन्मभूमिले विश्वमा नेपालको चिनारी दिइरहेको’ बताए । विश्व आतंकवादले त्रसित भइरहँदा बुद्धको शान्ति सन्देश अहिले झन् आवश्यक भएको उनको धारणा थियो । 

बुद्धलाई शान्ति र नेपाली पहिचानको रूपमा स्थापित गर्न पनि कार्यक्रम गरिएको आयोजक फाउन्डेसनका अध्यक्ष दीपक श्रेष्ठले जनाए । कार्यक्रममा श्रीलंकाकी हाई कमिस्नर अमारी बिजेवार्डिन, पूर्व सांसदहरू वीरेन्द्र शर्मा र सीमा मल्होत्रा, एनआरएनए युरोप संयोजक कुल आचार्य, एनआरएनए यूके उपाध्यक्ष हीराधन राई, नेपाल पर्यटन बोर्ड यूके प्रतिनिधि पशुपति भण्डारी र कपिलवस्तु समाज यूके अध्यक्ष महेन्द्र कुँवरले बुद्धको सन्देशबारे बोले भने भिक्षु सुमन शाक्यले बौद्ध धर्म–दर्शन र संयोजक एभरेस्ट गौतमले कार्यक्रमबारे । स्थानीय कलाकारको प्रस्तुति पनि लोभलाग्दो थियो । 

 

 

प्रकाशित : वैशाख २७, २०७४ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?