सम्पत्ति शुद्धीकरण नियमप्रति बेलायत कठोर

लन्डन — बेलायतले मनी लाउन्डरिङ (सम्पत्ति शुद्धीकरण) नियममा थप कडाइ गरेको छ । बेलायतको वित्तीय सेवा निगरानी गर्नेनिकाय फाइनान्सियल कन्डक्ट अथोरिटी (एफसीए) ले मनी लाउन्डरिङ नियम उल्लंघन गर्नेलाईसन् २०१७ को चार महिना यता १६ करोड २३ लाख पाउन्ड (करिब २० अरब रुपैयाँ) भन्दा बढि जरिवाना गरेको छ ।

सम्पत्ति शुद्धीकरण नियमप्रति बेलायत कठोर

उक्त निकायले मनी लाउन्डरिङ नियममा थप कडाइ गर्ने समेत जनाएको छ ।

कर छली, भ्रष्टाचार, अपराध, आतंककारीलाई आर्थिक सहयोग, मानव तस्करी, आतंककारी गतिविधि आदि काम गर्न गैर कानुनीरुपमा नगद वा सम्पत्ति प्रयोग भइरहेको निष्कर्षसहित मनी लाउन्डरिङ नियन्त्रण गर्न विशेष कदम चाल्ने एफसीएको अठोट छ । 

एफसीएले गत जनबरीमा जर्मनीको सबैभन्दा ठूलो डोइच बैंकलाई मनी लाउन्डरिङ नियम उल्लंघन गरेको भन्दै ५० करोड पाउन्ड जरिवाना गरेको थियो । रसियाली धनी ग्राहकहरुको १० अर्ब डलर ब्यापारको माध्यमबाट रसिया बाहिर देशमा रकम पठाउंदा धेरै अनियमितता भएको र डोइच बैंकले मनी लाउन्डरिङ नियम पालना नगरेकाकारण भन्दै ३४ करोड पाउण्ड अमेरिकी अधिकारीहरुबाट र १६ करोड पाउण्ड बेलायती अधिकारीबाटजरिवाना असुलिएको थियो । 

ति अधिकारीहरुले अप्रिल २०१२ र अक्टोबर २०१४ मा डोइच बैंकमार्फत २४ सय जोडीको छ अर्ब डलर भन्दा बढि रुबलबाट डलरमा सांटेर साइप्रस, लाटभिया जस्ता मुलुकमा पैसा पठाएका थिए । यस बैंकले करिब ४ अर्ब डलर बरोबरकोथप ३४ सय वटा शंकास्पद कारोबार पत्ता लगाएको थियो । जसमा सिसा व्यापारका लागि भनि एकै ग्राहकका विभिन्न कारोबार भएका थिए । यी कारोबार गर्दा धेरै ठाउंमा डोइच बैंक मनी लाउन्डरिङ नियममा चुकेको दुवै देशका अधिकारीहरुले बताएका छन् । 

अथोरिटीले बेलायतको सबैभन्दा ठूलो बैंक एचएसबीसीलाई पनि मनी लाउन्डरिङ नियम उल्लंघनको आरोपमा खोजी गरिरहेको बताइएको छ । यस बैंकको सन् २०१६ को नाफा सन् २०१५ को भन्दा ६२ प्रतिशत कम भएको तथ्यांक प्रकाशित भएको थियो । ७० देशमा चालु रहेको एचएसबीसी बैंकलाई मनी लाउन्डरिङ नियम उल्लंघन गरेको अभियोगमा सन् २०१२ मा अमेरिकामा एक अर्ब बीस करोड पाउन्ड जरिवाना गरिएको थियो ।

मनी लाउन्डरिङले मुल्यको नोक्सानी गर्नुका साथै आर्थिक अपराध गर्ने बताउंदै लन्डनस्थित अर्थ व्यवस्थापन बिज्ञ विकलचन्द्र आचार्यले विश्वको कुल ग्राहस्थ उत्पादन (जिडिपी)को २ देखि ५ प्रतिशत अर्थात २ ट्रिलियन डलर (२ हजार अर्ब डलर) मनी लाउन्डरिङ हुने गरेको बताए । बढ्दो आतंककारी घट्नासंगै मनी लाउन्डरिङ तथा आतंककारीको पैसाको श्रोतबारे पश्चिमी देशहरुमा कडा निगरानी भइरहेको समेत आचार्यले उल्लेख गरे । आचार्यले मनी लाउन्डरिङ अपराधीहरुले खासमा पैसा वा सम्पतिको स्वामित्व ढाकछोप गरि अपराधिक क्रियाकलाप गर्न उक्त पैसा नियन्त्रण गर्ने र यस्तो कार्य कानुनीरुपमा नै भएको जस्तो देखाउने गरेको बताए । 

अपराधीहरुले यस्तो कार्य अनेक झुटको आडमा सत्यता जस्तो देखाउंदै अर्बौं डलर बैंक तथा वित्तीय संस्थाहरुमार्फत उपयोग  गर्न सफल भइरहेका छन् । वित्तीय संस्थाहरुले  अर्काको स्वामित्वमा रहेको पैसा तथा सम्पतिको व्यवस्थापन र नियन्त्रणआफ्नो साथ राख्ने हुँदा दुरुपयोग हुने अधिक सम्भावना रहन्छ । आम्दानीको श्रोत तथा व्यक्तिको परिचयपत्र अनिवार्य राख्नुपर्ने भन्ने अन्तर्राष्ट्रिय कानुनी मान्यतालाई सबै देशले गम्भीर रुपमा अंगाल्नु पर्ने आवश्यकता देख्छन् अर्थव्यवस्थापन बिज्ञ आचार्य ।

युरोपियन युनियन (ईयू) देशहरुमा चौंथो मनी लाउन्डरिङ निर्देशिका गत वर्ष सन् २०१५, जुन १ देखि तयार गरी दुईवर्ष भित्र सबै ईयू देशमा लागू गर्नुपर्ने प्रावधान छ । यसमा मुख्यत: १० हजार युरो भन्दा बढि नगद कारोबार गर्ने सबै व्यवसाय वा व्यक्तिलाईउक्त निर्देशिका लागु गरिएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनलले आफ्नो घोषित मनी लाउन्डरिङ नियम नेपाल लगायत बढि भ्रष्टाचार हुने मुलुकहरुमा कडाइका साथ लागू गर्न जरुरी रहेको बताएको छ । भ्रष्टाचार र मनी लाउन्डरिङबीच सिधा सम्बन्ध रहने भएकाले वित्तिय पारदर्शीता ल्याउन मनी लाउन्डरिङ नियमको आवश्यकतालाई सबै निकायले बुझ्न अत्यन्त खाँचो रहेको विश्लेषकहरुको राय छ । 

प्रकाशित : वैशाख ३०, २०७४ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?