एनआरएन अमेरिकाको विवाद अदालत पस्यो, निर्वाचन स्थगित

दिनेशजंग शाह

न्युयोर्क — गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय समिति अमेरिकाको निर्वाचन अकस्मात स्थगित भएको छ ।

एनआरएन अमेरिकाको विवाद अदालत पस्यो, निर्वाचन स्थगित

निर्धारित तालिका अनुसार निर्वाचन आगामी शुक्रबार र शनिबार हुने तय थियो । मंगलबार एक संक्षिप्त विज्ञप्तिमार्फत एनआरएनए अमेरिकाको निर्वाचन आयोगले अर्को सूचना जारी नगरुन्जेल निर्वाचन स्थगित भएको जनाएको छ । यद्यपि स्थगनको कारणबारे विज्ञप्तिमा केहि उल्लेख गरिएको छैन । यसबारेमा प्रमुख निर्वाचन आयुक्त बन्दिता शर्मासँगको टेलिफोन सम्पर्कको प्रयास सफल भएन । निर्वाचनका लागि झन्डै दुईसय बढी उम्मेदवार थिए ।

मंगलबार टेनेसी राज्य रक्सभ्यु को काउन्टी अदालतले निर्वाचन प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको थियो । निर्वाचन स्थगनलाई अदालतको आदेशसँग जोडिएर हेरिएको छ । अध्यक्ष पदमा मनोनयन दर्ता गरे पनि निर्वाचन आयोगले सूचना प्रविधि क्षेत्रका व्यवसायी गौरीराज जोशीलाई उम्मेदवारका लागि अयोग्य गरेपछि, विवाद चर्किएको थियो । जोशीसहित उनका सहयोगी एवम् महासचिव पदमा उम्मेदवारी दिएका पूर्ण बानियाँले सोमबार अदालतमा रिट निवेदन हालेका थिए ।
 
अदालती अन्तरिम आदेशसँगै निर्वाचन स्थगित भएपछि कान्तिपुरसँग कुरा गर्दै जोशीले अदालतसम्म पुग्नुलाई आफ्नो बाध्यताकारी स्थितिको उपज बताए । ‘कतैबाट न्याय नपाएपछि, अदालत पुगेको हुँ र समझदारी एवम् सहकार्यको संभावनालाई अदालतको यो आदेशले जिवितै राखेको छ । म त्यसको लागि सधैं तयार छु’ जोशीले थपे ‘एनसीसी र आईसीसीको दुवै विधानअनुरुप, उम्मेदवारको लागि म योग्य छु । तर, निधेषको राजनीति कदापी मान्य छैन ।’ 

यद्यपि स्वतन्त्र निकाय भनिएको निर्वाचन आयोगको तर्क भने फरक छ । आयोगले भन्दै आएको छ ‘एनआरएनको निर्वाचन, आईसीसीको विधानमै अडिएर हुन्छ र आईसीसीको विधानको दफा १३ अनुरुप अमेरिकाका एनआरएन सदस्यहरुको अधिकार एवम् सहुलियतलाई समेत केन्द्रकै विधानले निर्देशित गर्छ ।’गत शनिबार आफ्नो फेसबुक पेजमा प्रमुख निर्वाचन आयुक्त शर्माले आईसीसीको विधानअनुरुप उम्मेदवार बन्न एक कार्यकाल काम गरेको प्रावधान, गौरी जोशीको हकमा अपुग भएपछि नाम नपरेको उल्लेख गरेकी थिइन् । 

जोशीले भने यसअघि नै आफूले सन २००७ देखि २००९ सम्म एनएसीको कार्यसमितिमा एक कार्यकाल काम गरिसकेको दाबी गर्दै आएका छन् । एनएसी संस्था त्यसताका एनआरएनको रुपमा कार्यरत रहेको बताइन्छ । तर, निर्वाचन आयोगले त्यसलाई मान्यता दिएन ।
 
आईसीसीका उत्तर अमेरिकी संयोजक सोनाम लामाले भने विधान र प्रक्रियालाई मानेर अगाडि बढ्दा एकपछि अर्कोपक्ष मुद्दा मामिलामा जानुलाई दुर्भाग्य भनेको छ । 
‘अदालत समक्ष हाम्रो प्रमाण राख्छौं । अर्को सातासम्म अदालतको निर्णय आएपछि निर्वाचन हुन्छ ।’

अमेरिकाको विवादमा अन्तर्राष्ट्रिय निकाय (आईसीसी)को भूमिका पनि अस्पष्ट एवम् विरोधाभाष रहँदै आएको देखिन्छ । जोशीको उम्मेदवारीको विषयमा आईसीसी अध्यक्ष शेष घले र महासचिव बद्री केसीका फरक खाले पत्रचारले स्थिति अन्योल भएको छ । क्षेत्रीय संयोजक लामाले महासचिव बद्री केसीले आफ्नो व्यक्तिगत धारणा समेटिएको पत्र पठाउँदै क्षेत्रीय संयोजकको क्षेत्राधिकार एवम् विधान मिचेको आरोप लगाए । 

एनआरएनए अमेरिकामा पन्ध्र हजार बढी सदस्यहरु आवद्ध छन् । आगामी दसैंताका हुने आईसीसीको ‘ग्लोबल’सम्मेलनमा अमेरिकाबाट एक सय ५० बढी प्रतिनिधिले सहभागिता जनाउने छन् । 

प्रकाशित : श्रावण २५, २०७४ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?