राष्ट्रिय आविष्कार केन्द्रका लागि अस्ट्रेलियाबाट १६ लाख सहयोग

नारायण खड्का

अस्ट्रेलिया — महावीर पुनको पहलमा स्थापना गरिन लागेको राष्ट्रिय आविष्कार केन्द्रका लागि अस्ट्रेलियाका नेपालीहरुबाट अहिलेसम्म करिब २० हजार डलर (१६ लाख रुपैयाँ) सहयोग संकलन गरिएको छ ।

महावीर पुन उक्त केन्द्रका बारेमा यहाँका नेपालीहरुलाई बुझाउन र सहयोग जुटाउनका लागि अस्ट्रेलियामा छन् । अहिलेसम्म पुनले सिड्नी, मेलबर्न, पर्थ, क्यानबेरा र एडिलेडमा रहेका नेपालीहरुसँग यही विषयमा अन्तर्क्रिया र छलफल कार्यक्रम गरिसकेका छन् । अन्तर्क्रिया कार्यक्रमअन्तर्गत नै उनको केन्द्रलाई सहयोग पुर्‍याउन रकम संकलन गरिएको हो । एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष दीपक शर्माका अनुसार रकम संकलन कार्य जारी रहेकाले ब्रिसबनमा कार्यक्रम सम्पन्न भइसकेपछि संकलित सबै सहयोग रकम पुनलाई एकमुष्ट हस्तान्तरण गरिनेछ ।

पुनको आविष्कार केन्द्रका लागि सिड्नीमा आयोजित कार्यक्रममा सबैभन्दा धेरै करिब १५ हजार डलर (करिब ११ लाख रुपैयाँ) सहयोग गर्ने प्रतिबद्धता गरिएको छ । एनआरएन न्यु साउथ वेल्सका संयोजक तथा एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङले प्रतिबद्धता गरिएको रकम संकलन गरेर पुनलाई हस्तान्तरण गरिने जानकारी दिए । उनले देश विकासका लागि पुनले चालेको कदमलाई सहयोगका लागि एनआरएनले समन्वय गरेको जानकारी दिए ।

पुनलाई मेलबर्नमा आयोजना गरिएको कार्यक्रममा चितवन समाज भिक्टोरियाले १ लाख ५५ हजार सहयोग गरेको छ भने एनआरएन भिक्टोरियाले करिब १ हजार ६ सय डलर संकलन गरेको छ ।

यसै गरी पश्चिम अस्ट्रेलियामा आयोजना गरिएको कार्यक्रमबाट समेत करिब २ हजार डलर संकलन गरिएको छ । पुनले देश विकासका लागि आविष्कार केन्द्रजस्ता अन्वेषण र अनुसन्धान केन्द्रहरु अपरिहार्य भएको बताउँदै आएका छन् । उनले अस्ट्रेलियामा रहेका नेपालीहरुलाई धनका साथै समय र आफ्नो सीपको सहयोग गरिदिन आग्रह गर्दै आएका छन् ।

प्रकाशित : श्रावण २५, २०७४ १६:३१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

केयुका प्राध्यापक आन्दोलित

कान्तिपुर संवाददाता

काभ्रे — पदोन्नतीलगायत माग राखेर काठमाडौं विश्वविद्यालयका प्राध्यापकहरु आन्दोलित भएका छन् । काठमाडौं विश्वविद्यालय प्राध्यापक संघले एक विज्ञप्ति जारी गरेर विरोध, धर्ना र बन्द समेतका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।

संघका सभापति बेदमणि दाहालले हस्ताक्षर गरेको विज्ञप्तिमा ‘शिक्षक तथा कर्मचारी सेवा शर्त नियम, २०५० को चौधौँ संशोधन’ कार्यशालाको प्रतिवेदन कार्यान्वयन गर्न माग गरिएको छ । काम गरिरहेका शिक्षक र कर्मचारीहरुको पदोन्नती, समान योग्यता र कार्य अनुभव भएका प्राध्यापकहरुको एकैनासको पदोन्नती र करारमा रहने शिक्षक तथा कर्मचारीहरुको अधिकतम करारको नवीकरणको समयसीमा निर्धारण गर्न पनि माग गरिएको छ ।

माग संबोधन नभए साउन २६ गतेदेखि ३२ गतेसम्म कालो झन्डा र कालोपट्टीसहित प्रदर्शन गर्ने र सो अवधिमा पनि माग पूरा नभए धर्ना र बन्दका कार्यक्रमहरु गर्ने सभापति दाहालले जानकारी दिए । संघले २०७४ वैशाख २६ गते उपकुलपतिलाई तीन बुँदे माग पेस गरे पनि सम्बोधन नभएको भन्दै आन्दोलित भएका हुन् । 

प्रकाशित : श्रावण २५, २०७४ १६:३१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT