२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा उत्कृष्ट

काठमाडौं — पहिलो पटक अमेरिकाको न्यूयोर्कमा 'नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव' सम्पन्न भएको छ । २३ औं विश्व आदिवासी दिवसको सन्दर्भ पारेर नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले उक्त महोत्सवको आयोजना गरेको हो ।

न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा उत्कृष्ट

हालै तीन दिनसम्म चलेको उक्त महोत्सवमा मगर भाषाको चलचित्र लोम्बाले उत्कृष्ट चलचित्रको अवार्ड हात पारेको छ । लोम्बाले उत्कृष्ट चलचित्रको उपाधीसहित एक लाख रुपैयाँ नगद पुरस्कार पनि पाएको छ । उत्कृष्ट चलचित्रका लागि नोमिनेशनमा लोम्बा, शेरढाक, कृष्णा गौतमी, हेलुक्वा र सेम ताबा म्ही परेको थियो ।

महोत्सवमा नेपालका विभिन्न मातृभाषामा बनाइएका ११ वटा चलचित्र प्रदर्शन गरिएको थियो । विभिन्न ११ वटै विधामा उत्कृष्ट हुनेलाई पुरस्कार तथा ट्रफी प्रदान गरिएको थियो । महोत्सवमा गुरुङ भाषाको ‘मैंरिमो, तामाङ भाषाको ‘सेम ताबा म्ही, लिम्बु भाषाको ‘हेलुक्वा, मगर भाषाको ‘लोम्बा, नेवारी चलचित्र ‘कृषा गौतमी’, राई भाषाको ‘सुम्निमा' र मुस्ताङी भाषाको ‘शेरढाक’ प्रर्दशन गरिएको थियो । त्यसैगरी लघु चलचित्रहरु नेवारी भाषाको ‘कल्ली’, राई भाषको पुवालो र मुगालको ‘फेके’ को पनि महोत्सवमा प्रर्दशन गरिएको थियो ।

महोत्सवमा उत्कृष्ट नायकको उपाधी शेरढाकका नायक छेवाङ रिञ्जिङ गुरुङले, उत्कृष्ट नायिकाको उपाधी मैरिमोकी नायिका सपना गुरुङ, उत्कृष्ट कथाकारको उपाधी सुम्निमाका प्रविण पुमा र उत्कृष्ट संगीत निर्देशनको उपाधी 'सेम तावा म्ही' का राजकुमार मोक्तानले पाएका छन् ।

त्यसैगरी छायांकनमा 'सेम तावा म्ही', सम्पादनमा 'कृष्णा गौतमी'का बालकृष्ण बंशी, निर्देशक र भेषभुषामा लोम्बाका अनिल बुढा मगर र पब्लिक च्याईसमा 'सेम तावा म्ही' उत्कृष्ट ठहरिएका छन् । त्यसैगरी छोटो चलिचत्रतर्फ पुवालो उत्कृष्ट ठहरिएको छ ।

नेपाली राज्य र मुलधारबाट सिमान्तकृत भाषा र समुदायका चलचित्रहरुमार्फत आदिवासी जनजातिको कला, भाषा, संस्कृति, परम्परालाई सम्वर्धन गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको प्रेस संयोजक मच्छे गुरुङले जानकारी दिइन् । फिप्नाका अध्यक्ष लुइसाङ वाइवाले नेपालमा पहिचानको मुद्दालाई स्थापित गर्न भइरहेको जनजातिको आन्दोलनलाई सघाउ पुर्याउने हेतुले महोत्सवको आयोजना गरिएको र भविश्यमा पनि निरन्तरता दिइने बताए ।

महोत्सवको आदिवासी चलचित्र महासंघ (फिन्फी) र ईन्डिजिनियस फिल्मस् अकाईभ (आईफा) सह–आयोजक थियो भने बिशेष सहयोगीका रुपमा नेपाली महावाणिज्य दूतावास, न्यूयोर्क र नेपाल चलचित्र विकास बोर्ड रहेको थियो ।

प्रकाशित : भाद्र १३, २०७४ १३:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?