१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

सिड्नीमा गजल मुसायरा

नारायण खड्का

अस्ट्रेलिया — युवाकवि मोतीराम भट्टको जन्मोत्सवको अवसर पारेर आयोजना गरिएको गजल मुसायराले सहभागीहरुलाई मनोरञ्जन मात्र दिएनन् कि गजलकारलाई आफ्नो मनको कुरा खोल्ने वातावरण पनि सिर्जना गरिदियो ।

सिड्नीमा गजल मुसायरा

कुरा आकाशका हुन्छन्, कुरा पातालका हुन्छन् ।
देउवा, ओली र हजुर कुरा दाहालका हुन्छन् ।
तपाई बढ्ता नबोल्नुस् प्रधानमन्त्री कड्किनुभो
चोकचोकमा कुरा साझा सवालका हुन्छन् ।’

साहित्यकार प्रदीप चापागाईंले सिड्नीमा आयोजना गरिएको गजल मुसायरामा सुनाएको यो गजलले वाहवाही मात्र हैन साहित्यिक वातावरणलाई नै मनोरञ्जक बनाइदियो । एक दर्जन बढी गजलकारहरुले गजल सुनाउँदा दर्शकहरुले 'वान्समोर'ले स्वागत गरेका थिए ।

नेपाली गजललाई विदेशमा प्रवर्द्धन गर्ने र साहित्यमा रुची राख्नेहरुका लागि साहित्यिक वातावरण सिर्जना गर्ने उद्देश्यले सिड्नीमा साहित्यिक कार्यक्रम गजल मुसायरा सम्पन्न भएको थियो । अस्ट्रेलियाका सबै राज्यहरुबाट सहभागिता जनाइएको कार्यक्रममा सहभागीहरुले देशभक्ति, राजनीति, मायाप्रेम, विछोडलगायत गजलहरु प्रस्तुत गरेका थिए । गजलकारहरुले गजल सुनाइरहँदा सहभागीहरुले ताली र वाहवाहले प्रोत्साहन दिएका थिए ।

‘म मर्नुअघि एकफेर आफ्नै देशमा पुगेर,
राष्ट्रियता जगाउनु छ, झन्डा फरफराउनु छ ।’


गजलकार रिमेन आलोकले देशभक्तिले भरिएको यो गजल सुनाउँदा सहभागीहरु नतमस्तक बनेका थिए । यसै गरी अर्का गजलकार गणेश गौतमले सुनाएको विद्यमान जातीय विभेदलाई व्यङ्य गर्दै प्रस्तुत गरेको गजलले समेत दर्शकहरुलाई भावुक बनाएको थियो ।

‘सँगै चिया पिइरहेको साथी उठेर गयो,
लाग्यो अचानक उसले मेरो जात सम्झियो ।’

कार्यक्रमको आयोजनामा लागिपरेका जितेन्द्र मल्लका अनुसार प्रत्येक वर्ष गरिँदै आएको यो कार्यक्रममा यसवर्ष एक दर्जन बढी साहित्यकारहरुले आफ्नो गजल वाचन गरेका थिए । चौथो पटक आयोजना गरिएको कार्यक्रम हरेक वर्ष आयोजना हुने उनले जानकारी दिए ।

प्रकाशित : भाद्र २०, २०७४ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?