अष्ट्रेलियाको केन्द्रीय राजनीतिमा पहुँच बनाउँदै नेपाली

नारायण खड्का

अष्ट्रेलिया — पश्चिम अष्ट्रेलियाका युवा भूवन खड्काले केही महिनाअघि भएको संसदीय निर्वाचनमा तेस्रो ठुलो पार्टी ग्रिनबाट सांसदको टिकट पाए । सिड्नीमा शनिबार भइरहेको स्थानीय निर्वाचनमा विलग्वी काउन्सिलको नारेम्बममा काउन्सिलरको पदमा स्वतन्त्र रुपमा निर्वाचन लडिरहेका छन् ।

अष्ट्रेलियाको केन्द्रीय राजनीतिमा पहुँच बनाउँदै नेपाली

यी दुईमात्र नभएर अष्ट्रेलियाको राजनीतिमा सक्रिय नेपालीहरुले विस्तारै यहाँको केन्द्रीय राजनीतिमा पहुँच बृद्धि गरिरहेका छन् । करिब १ दशकअघिदेखि मात्र राजनीतिक रुपले सक्रिय भएका भएपनि नेपालीहरुले यहाँका उच्च नेताहरुसँग सम्पर्क मात्र स्थापित गरेका छैनन् कि विभिन्न राज्यहरुमा हुने निर्वाचनमा उम्मेदवारी दिने योग्यता समेत बनाईसकेका छन् । यतिमात्र नभएर यहाँबाट नेपालमा पर्यटन प्रबद्र्धन गर्नका लागि सांसद र ब्यवसायिहरुको टोलीलाई नेपालको भ्रमण गराएर बाह्रय पर्यटन प्रबर्द्धनको प्रयास समेत गरेका छन् ।

मेलबर्नमा केही महिनाअघि भएको काउन्सिलरको निर्वाचनमा राजु शाक्य र डा. महेश भण्डारीले काउन्सिलर पदका लागि निर्वाचन लडेका थिए । उनीहरुले निर्वाचनमा सफलता त पाउन सकेनन् र भण्डारीले भने विपक्षी दल लेबरको तर्फबाट टार्नेट शाखाको अध्यक्षका रुपमा नेतृत्व पाउन सफल भए । अहिलेसम्म निर्वाचनमा उम्मेदवारी दिएका कुनैपनि नेपालीले नेतृत्व तहमा विजय हासिल गर्न नसकेको भएपनि सानो समुदायबाट अष्ट्रेलियाको राजनीतिक मुलधारमा उपस्थिती जनाउन सक्नु ठुलो उपलब्द्धि मानिएको छ ।

अर्कोतिर नेपालबाट कुनैपनि मन्त्री वा नेताहरु अष्ट्रेलिया आउँदा उनीहरुको भेटघाटको प्रबन्ध समेत यहाँका नेपालीहरुले नै मिलाइदिने गरेका छन् । ‘साँच्चै भन्ने हो भने यतिको छोटो समयमा नेपालीहरुले यतिको पहुँच बनाउनु राजनैतिक रुपमा सफलता मान्नुपर्छ ।’ न्यु साउथ वेल्समा काउन्सिलरको रुपमा पहिलो नेपाली उम्मेदवारका रुपमा चुनाव लडिरहेका श्री नापितले भने । सरकारमा रहेको लिबरका नेपाली शाखाका अध्यक्ष समेत रहेका नापित नेपालीहरुको राजनीतिक पहुँच बढिरहेको सुनाउँछन् । 

‘नेपालीहरुको इमान्दारिता र लगनशिलता देखेर नै यहाँका राजनीतिज्ञहरु नेपाली र नेपालप्रति आकर्षित भइरहेका हुन् ।’ केही महिनाअघि दक्षिण अष्ट्रेलियाबाट करिब १ दर्जन सांसद र ब्यवसायि सम्मिलित टोलीलाई नेपाल भ्रमण गराएर फर्किएका नबिन पन्तले सुनाए । उनी यहाँको राज्यस्तरीय राजनीतिमा उच्च पहुँच राख्ने युवा मात्र नभएर यहाँका राजनीतिज्ञहरु र नेपाली समुदायलाई जोड्ने ब्यक्तिका रुपमा समेत काम गर्छन् ।

अष्ट्रेलियामा नेपालीहरुको संख्या वृद्धि भएसँगै यहाँका मुख्य दुई राजनीतिक दल लिबरल र लेबरले नेपालीहरुको अलग्गै शाखा नै स्थापना गरिदिएका छन् । त्यसले समेत नेपालीहरुलाई यहाँको केन्द्रीय राजनीतिमा पहुँच बढाउन समेत मद्धत पुर्‍याएको छ ।  

प्रकाशित : भाद्र २४, २०७४ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?