२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

साउदीमा नेपाली- ‘कोठा छिर्नै नाली सोहोर्नुपर्छ’

होम कार्की

काठमाडौं — साउदी अरबको यन्वुबाट १७ नेपालीलाई खेद्न कम्पनी साहुले के गर्न बाँकी राखेनन् ? पहिला तलब दिएनन् । त्यसपछि खाना बन्द गरे । साहु उपस्थित नभएपछि मुद्दामा सुनुवाइ नहुने भएकाले उनी अदालतमा कहिल्यै गएनन् ।

साउदीमा नेपाली- ‘कोठा छिर्नै नाली सोहोर्नुपर्छ’

त्यति गर्दा पनि नेपालीले क्याम्प नछाडेपछि उनीहरू बस्ने कोठाको बिजुली काटिदिए । नालीमा बग्ने पानी थुनेर कोठामा छिराइदिए । यो सबै यातना झेलिरहेका पीडित नेपाली कामदार नेपाल फिर्ने दिन पर्खेर बसिरहेका छन्, जुन दिन अझै निश्चित छैन ।

उनीहरू सादत अल अमिद कम्पनीमा क्लिनिङको काम गर्थे । उनीहरूलाई कोठाबाट मात्रै लखेट्न सके कम्पनी साहु प्रहरीमा हुरुप (भागेको उजुरी दिएर) लगाएर सबै जिम्मेवारबाट मुक्त हुने दाउमा थिए । त्यसो गर्दा तलब, फर्कन टिकट केही दिनु पर्दैनथ्यो । 

नुवाकोटका श्याम गुरुङका अनुसार साढे ६ महिनाको तलब नदिएपछि स्थानीय श्रम कार्यालयमा गएर कम्पनीमा उजुरी गरेका थिए । ‘अहिले हामी साउदी अरब आएको झन्डै १७ महिना बितिसकेको छ । हामीले ११ महिना कम्पनीमा काम गर्‍यौं । 

काम गरेको ५ महिनाको तलब दियो । बाँकी महिनाको तलब नदिएपछि श्रम कार्यालय गयौं,’ उनले भने, ‘दूतावास पनि गयांै । त्यहाँबाट पार लागेन । श्रम कार्यालयले चारपटकसम्म मालिकलाई बोलाउँदा पनि उपस्थित भएनन् ।’ 

श्रम कार्यालयले यो मुद्दालाई २ सय २० किमि टाढा मदिना भन्ने ठाउँमा पठाइदिएको छ । ‘हामीसँग खाने पैसा नै नभएका बेला कसरी मदिनामा गएर मुद्दा लड्ने ? मालिक सम्पर्कमा आएन भनेर कति दिनसम्म एउटै कोठामा १७ जना कोचिएर बस्ने ?’ सिन्धुलीका भरत रानाले भने, ‘पहिला त यन्वुबाटै समस्या समाधान हुन्छ भन्ने ठूलो आशा थियो । उसले नै नसक्ने भनेर मदिना पठाइदिएपछि हाम्रो आशा मरेको छ । अब थप मुद्दा लड्न सकिएला जस्तो छैन ।’ मानसिक र शारीरिक रूपमा गल्दै गइसकेका उनीहरू दसैं नजिक आइरहेका बेला नेपाल फर्कन भिसा र टिकट मात्रै पाए पनि फर्कन्छौं भन्न थालेका छन् । ‘हामीलाई तलब चाहिएन । टिकट र पासपोर्ट भए पुग्छ,’ सिरहाका फुलकुमार यादवले भने, ‘कसैको भर पाउन सकिएन ।’ 

उनीहरूले कामै नगरेको ५ महिना बितिसक्यो । खानाका लागि दैनिक समस्या भइरहेको छ । ‘नालीको पानी सोहर्दै बस्नुपर्छ । यो गर्मीमा बिनाएसी दिन कटाउनुपर्छ,’ खोटाङका भुवन विष्टले भने, ‘दिन काट्नै कठिन छ ।’ उनीहरूलाई पठाउने इमास्को नेपाल, नाइल ओभरसिजले दुई हजार रियाल र नेपाली दूतावासले तीन सय रियाल दिएको थियो । अहिले त्यो पनि सकिइसकेको छ । एक हजार रियाल तलब र खाना पाउने सम्झौता गरेर उनीहरू साउदी पुगेका थिए । साउदीमा कम्पनीले ८ सय रियाल मात्रै दिने सम्झौता गर्‍यो । ‘पछि यो पनि बन्द भयो,’ सुनसरीका रमेशकुमार श्रेष्ठले भने, ‘हामी ढल छिर्ने कोठामा बस्न बाध्य छौं । दूतावासले जस्तो भए पनि यहीं बस्न भनेको छ । त्यो कोठा छोड्नेबित्तिकै मुद्दा कमजोर हुन्छ भनेको छ ।’

यो कम्पनीमा १७ पीडितसहित १ सय ५० बढी नेपालीहरू छन् । उनीहरूलाई विभिन्न स्थानमा छुट्टाछुट्टै काममा लगाएर श्रम शोषण गरिएको छ । ‘ती नेपालीको अवस्था के कस्तो छ, हालसम्म कतैबाट खोजी गरिएको छैन,’ पर्वतका विष्णु लम्सालले भने । 

पीडितलाई उद्धार गर्न समन्वय गरिरहेका नेपाली साझा मञ्च साउदीका अभियन्ता महेश श्रेष्ठले पीडितको अवस्था झन् नाजुक बन्दै गएको बताए । ‘यसलाई वैदेशिक रोजगार विभाग, म्यानपावर र महावाणिज्यदूतले गम्भीर रूपमा लिनुपर्ने देखिन्छ,’ उनले भने, ‘उनीहरू खानै नपाउने अवस्थामा पुगिसके ।’ जेद्दास्थित महावाणिज्यदूत रेवतीरमण पौडेलले पीडितसँग नियमित सम्पर्कमा रहेको बताए । ‘उनीहरूको मुद्दा श्रम अदालतमा चलिरहेको छ,’ उनले भने, ‘उनीहरूलाई न्याय दिलाएर स्वदेश पठाउन कम्पनीसँग निरन्तर प्रयास भइरहेको छ ।’

प्रकाशित : भाद्र २५, २०७४ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?