४० तलाबाट खस्दा दुबईमा एक नेपालीको मृत्यु

आश गुरुङ

लमजुङ — यूएईकाे अबुधावीस्थित एक कम्पनीमा कार्यरत लमजुङका युवकको ४० तलाबाट खस्दा निधन भएको छ ।

यूएईको अबुधावीस्थित एक कम्पनीमा कार्यरत लमजुङका युवकको ४० तलाबाट खस्दा निधन भएको छ ।

बेंसीसहर नगरपालिका वडा नं. १०, बाँझखेत सिरुवारीका २९ वर्षीय टुकप्रसाद गुरुङको निधन भएको पारिवारिक स्रोतले बताएको छ । परिवार साथै दुवैमा कार्यरत स्थानीयका अनुसार २ सय मिटर अग्लो ठाउँबाट खसेर उनको निधन भएको हो । त्यहाँको समय अनुसार गुरुङको आइतबार बिहान सवा ८ बजेतिर निधन भएको हो ।

अबुधावीको मेगार्मी कम्पनीमा ११ महिनायता काम गर्दै आएका उनको निधनले नेपाली कामदार शोकमा डुबेको कम्पनीका कार्यरत एक स्थानीयले बताए । उनी ११ महिनादेखि उक्त कम्पनीमा कार्यरत थिए । आउँदो महिना अक्टोबरमा घरछुट्टीमा आउने तयारीका साथ केही सामान समेत खरिद गरिसकेका टुकप्रसादको निधनले मर्माहत बनेको ती स्थानीयले बताए । टुकप्रसादको शव अस्पतालमा राखिएको छ ।

गत वर्षको फूलपातीका दिन दुबई गएका टुकप्रसाद कम्पनीमा रोप एक्सीस (डोरीमा झुण्डिएर सिफा सफा तथा पेन्टिङ) को काम गर्दै आएका थिए । गाउँका दाइ नाता पर्ने युवराज गुरुङका अनुसार उनको निधन भएको खबर आइतबार साँझमात्रै थाहा भएको थियो । ‘कम्पनीका मालिकले फोन गरेर बुहारी (टुकप्रसादकी पत्नी) लाई जानकारी गराउन खोज्नुभएछ, फोन उठेनछ’ उनले भने, ‘पछि साँझ सबै कुरा थाहा भयो, हामीलाई सपना जस्तो लागिरहेको छ ।’

घरका कान्छो छोरा उनको बुबाआमा, पत्नी, एकछोरी र एकछोरा छन् । युवराजका अनुसार गाउँकै दाजुभाइ तथा कम्पनीमा कार्यरत नेपालीले शव गाउँ पठाउने तयारी थालेको छ ।

प्रकाशित : भाद्र २७, २०७४ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्

निर्माण गर्न सक्नेलाई मत दिन अपिल

प्रदेश नं. २ को चुनावलाई लिएर सिंगो देश तातेको छ । पत्रपत्रिकादेखि अनलाइन मिडियासम्मले चुनावअघि मतदातालाई लोभ्याउन भोजभतेर गरेको समाचारहरू सुन्न र देख्नमा आइरहेको छ ।

भड्किलो प्रचार अनि प्यासीलाई पानी देखाइ लोभ्याउने यो सिलसिला प्रदेश नं. २ को स्थानीय चुनावमा मात्र नभएर अन्य प्रदेशमा पनि देखिएको थियो । प्रदेश नं. ३ मा पर्ने काठमाडौं जिल्लाकी अस्थायी बासिन्दा मैले चुनावको पारो तातेयता धेरै परिवर्तन देखिन । सडकमा खाल्डाखुल्डी यथास्थितिमा छन् । महंँगीले सबैको ढाड सेकेको छ, अनि फोहोर व्यवस्थापनको दुर्दशा त तपाईले देख्नुभएकै होला । प्यारा प्रदेश नं. २ बासी, मलाई विश्वास छ, तपाईहरूले प्रदेश नं. ३ का बासिन्दाजस्तो गल्ती गर्नुहुने छैन । समाचारमा दिनहुँ देखिरहनुभएको छ, काठमाडौं महानगरपालिका कसरी स्मार्ट सिटीबाट ‘इस मार्टसिटी’मै सीमित भएको छ । काठमाडौं महानगरपालिकाका केही स्थानीय बासिन्दाले थोरै नातावाद, कृपावाद अनि केही चिया खर्चको लोभमा परेर गलत व्यक्तिलाई मत दिँदाको परिणाम तपाईले देखिरहनुभएको छ, अनि समाचारमा पढिरहनुभएको पनि होला । काठमाडौं महानगरपालिकाका प्रमुखको केही पनि गल्ती देख्दिन म यसमा । गल्ती देख्छु त केवल मतदाताको ।
प्यारा प्रदेश नं. २ बासी, मत दिँदा आजको मिठो भोजको लोभमा नपरी कसले तपाईको निम्ति भोलिको निर्माण गर्नसक्ने क्षमता राख्छ, उसलाई मत दिनुहोस् । मलाई विश्वास छ, तराईमा बाढी आउँदा तपाईहरूलाई कसले मद्दत गरे र कसले कानमा तेल हालेर बसे, तपाईहरूलाई याद होला । प्यारा प्रदेश नं. २ का बासिन्दा तपाईको प्रदेशमा बाढी फेरि आउन सक्छ, जाडोमा कठ्यांग्रिएर र गर्मीमा लू लागेर फेरि पनि नाबालक, वृद्धवृद्धाहरू मर्न सक्नेछन् । त्यसैले यसपालिको स्थानीय चुनावमा हाम्रालाई हैन, राम्रालाई मत दिनुहोस्, जसले तपाईहरूको पीडालाई आफ्नो सरह ठान्नेछ र प्रमुखको पदलाई पैसा कमाउने भाँडो नबनाई आफ्नो दायित्वको रूपमा हेर्नेछ । चियापानी अनि मासुभातको प्रलोभनमा आज तपाईहरू पर्नुभयो भने भोलि फेरि भोकभोकै मर्नुपर्ने स्थिति आउन सक्छ । त्यसैले प्यारा प्रदेश नं. २ बासी मलाई विश्वास छ, तपाईहरूले मत सोचेर अनि बुझेर दिनुहुनेछ । 
– सुभानी सुब्बा
suvanisubba12@gmail.com

प्रकाशित : भाद्र २७, २०७४ १०:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्