कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

मिस नेपाल हङकङ २०१७ को उपाधि सुष्मा लिम्बूलाई

किसन राई

हङकङ — धरानबाट आएकी २२ वर्षीया सुष्मा लिम्बूले १३ प्रतियोगीहरुलाई पछि पार्दै ‘मिस हङकङ नेपाल २०१७’को उपाधि हात पारेकी छन् ।

मिस नेपाल हङकङ २०१७ को उपाधि सुष्मा लिम्बूलाई

स्थानीय कारिटास चुनमुन मार्दन फाउन्डेशनबाट फर्म सिक्स पूरा गरेकी सुष्माले फोटोजेनिक र ट्यालेन्ट टाइटल पनि उचालिन् । उनलाई मिस ट्यालेन्टको २ हजारसहित नगद १२ हजार हङकङ डलर प्रदान गरिएको थियो । ‘सौन्दर्य प्रतियोगिताले कसरी काम गर्छ भन्ने ज्ञान निर्णायकमा हुनै पर्छ । कपाल, छाला र पृष्ठभूमि होइन प्रतियोगीले सुन्दरता र प्रतिभाका साथ व्यक्त गरेको आत्मविश्वासलाई ध्यान दिन आवश्यक छ’प्रमुख निर्णायक क्याप्टेन विजय लामाले टप फाइभ प्रतियोगीहरुलाई सोधेको प्रश्न ‘सौन्दर्य प्रतियोगितामा निर्णायकका गुणहरुबारे वर्णन गर्नुहोस् ?’को लिम्बूले लिखित जवाफ दिएकी थिइन् । 

फस्ट रनरअप प्रजिला गर्बुजाले डिसिप्लिन र प्रेस्टिजियसको टाइटल पनि प्राप्त गरेकी छन् । कक्षा ९ सम्म भैरहवामा पढेकी २२ वर्षीया प्रजिलाले सर एलिस कादुरी स्कूलबाट फर्म सिक्स पूरा गरेकी हुन् । उनको भागमा नगद ७ हजार डलर परेको थियो ।

मिस फिगर, वल्क र कल्चुरल ड्रेसको टाइटल हात पारेकी २२ वर्षीया एलिसा गुरुङ सेकेण्ड रनरअप घोषित भएकी थिइन् । आर्थर डाँडाखर्कबाट चार वर्षअघि यहाँ आएकी उनले माउण्ट अन्नपूर्ण मावि पोखराबाट प्लस टु गरेकी हुन् । उनले नगद ५ हजार डलर प्राप्त गरेकी थिइन् ।

तीनै विजेताले एउटै क्षेत्रमा काम गरिरहेको बताएका छन् । विभिन्न कम्पनीमा रिसेप्सनिस्ट रहेका उनीहरु उच्च शिक्षाको तयारीमा रहेका छन् । प्रजिला गर्बुजाले टुरिजममा हायर डिप्लोमा अध्ययन सुरु गरेकी छन् ।

टप फाइभमा पुगेकी विद्या श्रेष्ठले वेस्ट स्किन र मिस चार्मिङको टाइटल ५ सय डलरसहित र सहारा पुनले वेस्ट हेयरको टाइटल प्राप्त गरेका थिए । सुजिना गुरुङ-मिस एथलेटिक, सदीक्षा गुरुङ–मिस पपुलुर (१ हजार डलर), सुब्रियना राई–मिस कन्फिडेन्ट, एलिजा घले–वेस्ट पोज, सुजु लिम्बू–मिस फ्रेन्ड्ली टप टेनमा परेका थिए । मनिका विश्वकर्माले वेस्ट पर्फमर, निकिता राईले मिस पर्सनालिटी र मनिषा गुरुङले वेस्ट स्माइल टाइटल प्राप्त गरेका थिए ।

कार्यक्रमपछि कान्तिपुरसँग कुरा गर्दै कोरियोग्राफर तथा ट्रेनर रचना गुरुङ शर्माले प्रतियोगिता सहभागीहरुलाई करियरको लागि सहयोगी हुने विश्वास व्यक्त गरिन् । व्यस्त जीवनका बाबजुत डेढ महिने तालिममा सहभागीहरुको सक्रियता र लगनशीलता प्रशंसनीय रहेको उनले अनुभव सुनाइन् । समयाभाव र हलको अपर्याप्त सुविधाको कारण तयारी अनुसारको गुणस्तर प्रस्तुत गर्न नसकेकोमा उनले खिन्नता व्यक्त गरिन् ।

कार्यक्रम सञ्चालिका माल्भिका सुब्बाले तयारी र प्रस्तुति भव्य रहँदारहँदै पनि प्राविधिक रुपले भव्यता दिन नसकिएकोले आयोजकहरुले भविष्यमा ख्याल गर्नु पर्ने सुझाइन् । भर्खरै बेलायतमा पनि सोही प्रकृतिको कार्यक्रमबाट आएकी उनले हङकङका नेपालीहरु धेरै पछि रहेको विश्लेषणसहित गुणस्तरमा ध्यान दिन आवश्यक रहेकोमा जोड दिइन् ।

आयोजक मिस नेपाल हङकङ एसोसिएसनका अध्यक्ष लोकराज लिम्बूले प्रत्येक वर्ष गुणस्तरको लागि प्रयास भइरहेको भए पनि पर्याप्त हुन नसकेको स्वीकार गर्दै भविष्यमा ध्यान दिने बताएका छन् । कार्यक्रम हेनरी जी ल्योङ याउमाते कम्युनिटी हलमा सम्पन्न भएको थियो ।

तस्बिर : किसन राई

 

 

 

प्रकाशित : आश्विन १०, २०७४ १२:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?