१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

एनआरएनए सम्मेलनमा जापानबाट ६ जना आकांक्षी

प्रकाश पन्थी

टोकियो (जापान) — दुई सातापछि राजधानी काठमाडौंमा हुने गैरआवासीय नेपाली सघं (एनआरएनए)को आठौं विश्व सम्मेलनमा नयाँ नेतृत्वका लागि जापानबाट ६ जनाले आकांक्षा देखाएका छन् ।

एनआरएनए सम्मेलनमा जापानबाट ६ जना आकांक्षी

विदेशमा नेपाली कामदारको सुरक्षा, सुशासन र पारदर्शिता भन्दै सम्मेलनमा अध्यक्ष, उपाध्यक्ष, अन्तर्राष्ट्रिय युवा संयोजक, एसिया प्यासेफिक संयोजक र उपसंयोजकमा आकांक्षा देखाएका हुन् । नेपाल र नेपालीका लागि भन्दै एकदिन एकदान, अतिथि देवो: भव, वैदेशिक रोजगारीमा बिमा, आपतकालीन कोषको स्थापना, महिला फोरमलाई सक्रिय बनाउने लगायत काममा सक्रिय भवन भट्टले अध्यक्षमा उम्मेदवारी घोषणा गरेसँगै बाँकी पदका उम्मेदवार खडा भएका छन् ।

सघंको भवन निर्माण र लाप्राक नमुना बस्ती निर्माणलाई निरन्तरता दिने योजनासहित सार्वजनिक रुपमा उम्मेदवारी घोषणा गरेका भट्ट एनआरएनए संस्थापक सदस्य, अध्यक्ष, अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य हुँदै एक कार्यकाल कोषाध्यक्ष र दुई कार्यकाल उपाध्यक्ष भइसकेका छन् । त्यस्तै, लामो समयदेखि जापानलाई कर्मथलो बनाएका चिरन्जीवी थापाले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । 

त्यस्तै एक कार्यकाल उपाध्यक्ष तथा निर्वतमान अध्यक्ष सुदन थापाले अन्तर्राष्ट्रिय समन्वय समिति युवा संयोजकमा उम्मेदवारी घोषणा गरेका छन् । थापाले वैदशिक रोजगारीका क्रममा युवाहरुका समस्या समाधानका लागि उम्मेदवारी दिएको बताए ।

२००४ देखि सक्रिय भई एक कार्यकाल एसिया प्यासेफिक संयोजक भएका किरणविक्रम थापाले अर्को एक कार्यकालका लागि संयोजकमा उम्मेदवारी घोषणा गरेका छन् । संयोजककै पदमा गोविन्दप्रसाद श्रेष्ठले पनि आकांक्षा देखाएका छन् । 

त्यस्तै सघंका पूर्वअध्यक्ष पारसमणि पोखरेलले एसिया प्यासेफिक उपसंयोजकमा उम्मेदवारी घोषणा गरेका छन् ।

असोज २८ देखि ३१ सम्म काठमाडौंमा हुने एनआरएनएको आठौं सम्मेलनमा ७७ राष्ट्रका ३ हजार भन्दा बढीसँग अध्यक्षबाहेक अन्यमा उम्मेदवारी दिएकाहरुको परिचय छैन । सम्मेलनमा पर्यवेक्षक र प्रतिनिधि गरी २ सयभन्दा बढी सहभागिता जनाउने अपेक्षा गरिएको छ ।

तस्बिरहरु : प्रकाश/कान्तिपुर

प्रकाशित : आश्विन १९, २०७४ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?