कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

अष्ट्रेलियाको संसद भवनमा नेपालीको दसैं

नारायण खड्का

अष्ट्रेलिया — पहिलोपटक अष्ट्रेलियाको संसद भवनमा आयोजना गरिएको कार्यक्रममा नेपालीहरुले बडादसैं मनाएका छन् ।

दक्षिण अष्ट्रेलियाको संसद भवनमा दशैंको अन्तिम दिन पूर्णिमाको अवसरमा दक्षिण अष्ट्रेलियाका संवैधानिक समितिका अध्यक्ष रसल वाट्लीले बडादशैंको कार्यक्रम आयोजना गरेका थिए ।

अष्ट्रेलियाको संसद भवनमा नेपालीको दसैं

पहिलोपटक अष्ट्रेलियाको संसद भवनमा आयोजना गरिएको कार्यक्रममा नेपालीहरुले बडादसैं मनाएका छन् ।

दक्षिण अष्ट्रेलियाको संसद भवनमा दशैंको अन्तिम दिन पूर्णिमाको अवसरमा दक्षिण अष्ट्रेलियाका संवैधानिक समितिका अध्यक्ष रसल वाट्लीले बडादशैंको कार्यक्रम आयोजना गरेका थिए । सो कार्यक्रममा नेपालीहरुले मात्र टिका लगाएनन् कि अष्ट्रेलियाली नेताहरुले समेत दसैंको टिका र जमरा लगाएका थिए । कार्यक्रममा स्थानीय टोरेन्स क्षेत्रकी सांसद डाना वाट्ली लगायतका अन्य अष्ट्रेलियाली नेताहरुले समेत उत्साहका साथ सहभागिता जनाएका थिए ।

सहभागी नेपालीहरुलाई अध्यक्ष वाट्ली लगायतका नेताहरुले टिकाजमरा लगाइदिएका थिए भने उनीहरुलाई नेपाली अभिभावक मञ्जु सिटौला र मुरारी खनालले टिका लगाइदिएका थिए । उनीहरुले उक्त अवसरमा बडादसैंको शुभकामना दिदै नेपाली समुदाय बढिरहेको सन्दर्भमा नेपालीहरुको ठूलो पर्व संसद भवनमा मनाउन पाएकोमा खुसी व्यक्त गरेका थिए । नेपाल कला र संस्कृतीमा धनी भएको सुनाउँदै उनले यसले अष्ट्रेलियालाई बहुसांस्कृतिक देशको रुपमा रंग थप्ने काम गरेको बताए । सहभागी अष्ट्रेलियाली नेताहरुले नेपाली कलासंस्कृतीलाई सम्मान गर्न पाएकोमा आफुहरुलाई खुशी लागेको सुनाएका थिए ।

अष्ट्रेलियाका उच्च तहका नेताहरुले संसद भवनमा बडादशैंको आयोजना गरेर नेपाली कलासंस्कृतीलाई सम्मान गरेको सहभागी नेपालीहरुले बताए । ‘अष्ट्रेलियाको संसद भवनमा बडादसैंको टिकाजमरा लगाएर मनाउन पाउनु यहाँ रहेका सबै नेपालीहरुको लागि गर्वको बिषय हो,’ सहभागि एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष अशोक केसीले बताए ।

कार्यक्रममा सहभागी इनासका महासचिव मिलन दहालले अहिलेसम्म समग्र अष्ट्रेलियामा नेपाली कलासंस्कृतीलाई सम्मान र पहिचान दिइएकोमा आफूहरुलाई उत्साहित बनाएको सुनाए । कार्यक्रममा सेलरोटी लगायतका नेपाली परम्परागत खानाहरु सहभागीहरुलाई खुवाइएको थियो ।

कार्यक्रममा करिब १ सय नेपालीहरुले सहभागिता जनाएका थिए । कार्यक्रममा दक्षिण अष्ट्रेलियामा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधीहरुका साथै एनआरएन, इनासलगायतका संस्थाका प्रमुखहरुको समेत सहभागिता थियो ।

प्रकाशित : आश्विन २०, २०७४ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?