१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

लन्डनमा १०८ औं देवकोटा जयन्ती

कान्तिपुर संवाददाता

लन्डन — नेपाली साहित्य विकास परिषद यूकेले आइतबार १०८ औं महाकवि लक्ष्मी प्रसाद देवकोटा जयन्ती विभिन्न कार्यक्रमसहित मनायो ।

लन्डनमा १०८ औं देवकोटा जयन्ती

वेष्ट लन्डनस्थित एबीआइ कलेज एक्टनमा आयोजित समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथिपरिषद्का पदेन संरक्षक राजदूत एवं वरिष्ठ साहित्यकार दुर्गाबहादुर सुवेदी (दुबसु) ले साहित्यिक सिर्जनात्मक क्षमता र कृतिहरुका आधारमा देवकोटाको स्थान विश्वस्तरका विशिष्ठ साहित्यकारहरुकै पंक्तिमा रहेको गर्वकासाथ भन्न सकिने बताए । उनले देवकोटा सरल, दानी र असिमित प्रतिभाका धनी रहेको बताउँदै परिषदले महाकविको जन्मजयन्तीलगायत साहित्यिक गतिविधि निरन्तर गरेर महाकविप्रति सच्चा सम्मान पुर्‍याएको चर्चा गरे । 

समारोहमा परिषद्का वरिष्ठ सल्लाहकार यति संस्थाका पूर्व अध्यक्ष राघवप्रसाद धिताल (ओबीइ) ले देवकोटा सामाजिक चिन्तनका योद्धा कवि भएको स्मरण गरे । उनको मुनामदन कृतिले नेपाली समाजमा समानान्तरर समावेशीको आवाज उति बेला नै उठाएको उल्लेख गर्दै धितालले देवकोटा नेपाली साहित्यका प्रेरणाका श्रोत र गर्वका शिखर भएको बताए । 

परिषदले आफ्नो स्थापनाकाल सन् १९९५ देखि नै देवकोटा, भानु जयन्तीलगायतका साहित्यिक गतिविधि गर्दै आएर बेलायतमा धेरै साहित्यकार जन्माउन प्रेरणादायी र नेतृत्वदायी भूमिका खेलेको पनि डा. धितालले जनाए ।

कार्यक्रमका सभापति एवं परिषदका संस्थापक तथा अध्यक्ष सुरेशजंग शाहले नेपाली साहित्यलाई फराकिलो बनाउने र समाजलाई हेर्ने सोच बदल्ने महाकविका कृतिहरुले तत्कालिन अवस्थामा एउटा सामाजिक क्रान्तिको उजागर गरेको धारणा राखे ।

समारोहको आरम्भमा महाकविको तस्विरमा प्रमुख अतिथि तथा सहभागीबाट माल्यार्पण गरी श्रद्धासुमन अर्पण गरिएको थियो । उक्त अवसरमा कोशेली संस्थापक अध्यक्ष कलाकार मदन थापाले सुमधुर मंगल धुन प्रस्तुत गरे भने मुना मदन को केही अंश गीत संगीतवद्ध रुपमा वरिष्ठ कलाकार मदन थापाका साथमा परिषदका पूर्वअध्यक्ष कवि हरिसिंह थापा, गायिका सितु खरेल र कोशेली अध्यक्ष शर्मिला सिंहद्वारा मार्मिकप्रस्तुत गरिएको थियो ।

उक्त अवसरमा बेलायतमा कूटनीतिज्ञ भएर काम गरिसकेका पूर्वराजदूत हरिकुमार श्रेष्ठको मैत्री एक्सप्रेस नामक संस्मरण कृति प्रमुख अतिथिराजदूत सुबेदी, परिषदका संस्थापक तथा अध्यक्ष शाह,परिषदका निवर्तमान अध्यक्ष खगेन्द्र नेपाली, वरिष्ठ सहअध्यक्ष कोमल मल्ल, महासचिव डा.सुधा श्रेष्ठद्वारा संयुक्त रुपमा गरियो ।

कार्यक्रममा मल्लले विमोचित पुस्तक र सर्जक हरिकुमार श्रेष्ठबारे संक्षिप्त प्रकाश पारेका थिए ।

कार्यक्रमको दोश्रो चरणमा वसन्त रायक्षेत्री, वीरेन्द्र कुंवर, वाल कवयित्री जुनी लामिछाने, खगेन्द्र नेपाली, लक्ष्मी भुषाल,घनबहादुर थापा, डा.गोपाल पौड्याल, प्रेरणा थापा, डा.सुधा श्रेष्ठ, हरिसिंह थापा, कोमल मल्ल र सुरेशजंग शाहले आफ्ना रचना वाचन गरेका थिए । 

प्रकाशित : आश्विन २३, २०७४ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?