२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

एनआरएनए अमेरिकाका दुई अभियन्ता एउटै पदमा भिड्दै

दिनेशजंग शाह

न्युयोर्क — गैरआवासीय नेपाली संघ (एनआरएनए), अन्तर्राष्ट्रिय समन्वय परिषद्को उपाध्यक्षका लागि एनआरएनए अमेरिकाका दुई प्रमुख अभियन्ताले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

एनआरएनए अमेरिकाका दुई अभियन्ता एउटै पदमा भिड्दै

एनआरएनए उत्तर अमेरिकाका क्षेत्रीय संयोजक सोनाम लामा र एनआरएनए अमेरिकाका पूर्वअध्यक्ष एवम् आईसीसी सदस्य खगेन्द्र जिसीले उपाध्यक्ष पदमा उठने जनाएका हुन् । आगामी शनिबारदेखि काठमाडौंमा एनआरएनएको आठौं अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदैछ । सम्मेलनले आगामी दुई वर्षका लागि आईसीसीको नयाँ नेतृत्व चयन गर्नेछ । 

उपाध्यक्ष पदमै दुवैको चुनावी मैदानमा उत्रने योजनालाई अमेरिकाको एनआरएनएभित्र रहेको तिक्तता एवम् गुटबन्दीको रुपमा पनि बिश्लेषण गरिएको छ । तीव्र गुटबन्दी एवम् खिचातानीको पृष्ठभुमिमा गत महिना अमेरिकास्थित एनआरएनएको निर्वाचन सम्पन्न भएको थियो । आईसीसीको कार्यसमितिमा खुला पदतर्फ दुई उपाध्यक्षका लागि निर्वाचन हुँदैछ । बहालवाला उपाध्यक्ष कुमार पन्तले पुन सोही पदमै उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । यो पृष्ठभुमिमा उपाध्यक्षको एक पदका लागि जिसी र लामाबीच नै आमनेसामने रुपमै मुख्य प्रतिस्पर्धा हुने अनुमान छ ।
 
पेसाले आप्रवासीसम्बन्धी कानुन व्यवसायी रहेका जिसीले दोहारो नागरिकताको विषयलाई आफ्नो मुख्य चुनावी एजेण्डाको रुपमा अघि सारेका छन् । उनले नेपालको संविधानमा उल्लेखित भए अनुरुप एनआरएनलाई सामाजिक, आर्थिक एवम् सांस्कृतिक अधिकारको कार्यान्वयनका लागि पहलकदमी गर्ने जनाएका छन् । 

यता व्यापार व्यवसायमा सक्रिय लामाले भने एनआरएनएका सबै खाले महत्वाकांक्षी योजनामा आफू तन, मन र धनले प्रतिबद्ध रहेको घोषणा पत्रमा उल्लेख गरेका छन् । एनआरएनएलाई साझा संस्था आफ्नो प्रमुख एजेण्डा रहेको लामाको दाबी छ ।
 
आईसीसी अध्यक्ष शेष घलेसँग निकट सम्बन्ध रहेका क्षेत्रीय संयोजक लामाको अमेरिकाको एनआरएनएमा राम्रो पकड बताइन्छ । 

एनआरएनए अभियानमा लामो समयदेखि सक्रिय जिसी पनि चिरपरिचित उम्मेदवारको रुपमा एनआरएनएमा स्थापित छन् । दुई वर्षअघिको अन्तर्राष्ट्रिय सम्मेलनमा जिसी उपाध्यक्ष पदमा पराजित भएका थिए । निर्वाचनको पूर्वसन्ध्यामा उपाध्यक्षका उम्मेदवार लामा, नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । जिसीको भने कांग्रेससँग लामो समयदेखिको सामिप्यता रहेको छ । 

प्रकाशित : आश्विन २६, २०७४ १२:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?